मोरङ, १४ भदौ ।
वैदेशिक रोजगारीले उद्योगहरुमा हुन थालेको पुरुष कामदारको अभाव अब महिला मजदुरहरुले टार्न थालेका छन् । सुनसरी र मोरङमा रहेका उद्योगहरुले पुरुष कामदारको अभाव टार्न धमाधम नयाँ महिलाहरुलाई तालिम दिएर काममा लगाउन थालेपछि पुरुष मजदुरको अभाव टार्न थालेको हो ।
उद्योगहरुले सुनसरी र मोरङका ग्रामीण क्षेत्रबाट दैनिक महिला मजदुर ओसारेर काममा लगाउने गरेका छन् । ‘उद्योगहरुमा महिला कामदार भरपर्दा र मेहनती पनि हुने गरेको पाइयो’ जुट उद्योगी राजकुमार गोल्छाले भने । मोरङ सुनसरी औद्योगिक करिडोरअन्र्तगत सोनापुरमा रहेको जुट उद्योग अरिहन्त मल्टिफाईवर्सले दुई वर्षभित्र उद्योगमा तीन हजारभन्दा बढी महिला कामदारलाई दक्ष बनाएर रोजगार दिने योजना नै बनाएको छ । त्यहाँ रहेका चार हजार मजदुरमा हाल एक हजार पाँच सय महिला कामदार नियुक्त भइसकेका छन् ।
उद्योगका प्रबन्ध निर्देशक गोविन्द बजगाईंले पुरुष कामदारको अभाव भएपछि महिला कामदारलाई एकदेखि दुई महिना तालिम दिएर काममा लगाउने गरेको बताए । उनले सुनसरीको धरान, इनरुवा, इटहरी, लौकही, हरिनगरादेखि मोरङको विराटनगर आसापास र भारत जोगवनीदेखिका महिलाहरु दैनिक उद्योगमा काम गर्न आउन थालेको बताए ।
महिला कामदारका लागि आवतजावतमा सहज बनाउन उद्योगले हरेक सिफ्टमा लान ल्याउन बसको समेत व्यवस्था गरिदिएको छ । महिला कामदार पुरुषभन्दा बढी मेहनती र काममा नियमित हाजिर हुने भएकाले उद्योगमा पुरुष कामदार खोज्नुभन्दा बेरोजगार महिलालाई दक्ष बनाएर रोजगारी दिनु उत्तम ठानेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले बताए ।
उनले रोजगारी पाएपछि धेरै महिला कामदारले क्याबिन रेस्टुरेन्टमा काम गर्नुपर्ने बाध्यतासमेत हटेको बताए । महिला कामदारलाई प्रोत्साहित गर्न सके बेराजगार महिलाले खराब पेसामा लाग्नुपर्ने र विदेश गएर हन्डर खानुपर्ने समस्या अन्त्य गर्न सकिने उनको भनाई छ ।
गोल्छाले विराटनगरस्थित रघुपति जुटमिलमा रहेका तीन हजार पाँच सय कामदारमध्ये एक हजार तीन सय महिला कामदार नियुक्त गरिसकेको बताए । उनले जुट उद्योगका सबै शाखामा महिला कामदारले दक्षतापूर्वक काम गर्न सकेकाले पुरुष र महिलामा कुनै फरक नभएको बताए ।
महिला धूमपान, मद्यपानमा लिप्त नहुने र आफ्नो कामको सुरक्षामा बढी चासो दिनेभएकाले पुरुषले भन्दा राम्रो आम्दानी गर्ने गरेका छन् । जुट उद्योगले महिलालाई ज्यालादारीमा काम लगाउने भएकाले उनीहरुले मेहनत गर्दा दैनिक पाँच सय सम्म कमाई गर्ने गर्दछन् ।
गोल्छा अर्गनाइजेसनले उद्योगमा महिला कामदारलाई प्रोत्साहित गर्न सुरु गरेपछि अन्य उद्योगले पनि महिला कामदारलाई प्रोत्साहित गर्न थालेका छन् । अरिहन्त मल्टिफाईवर्स उद्योगका प्रबन्धक गोविन्द बजगाईंले महिला कामदारलाई प्रोत्साहन दिएपछि उत्पादनमा पनि सुधार भएको बताए । हाल अरिहन्तमा विदेश गएर फर्की आएका एकसयभन्दा बढी महिला ढुक्कले काम गरिरहेका छन् ।
अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय सदस्य तेजलाल कर्णले केही कठिन श्रम गर्नुपर्ने फलामे उद्योग बाहेक प्रायः सबैमा महिला कामदारलाई तालिम दिएर रोजगारी दिन सकिने बताए । तर उद्योगलाई महिलामैत्री बनाउन उद्योगीले मात्र हैन सरकारले पनि चासो दिनुपर्छ भने ।
No comments:
Post a Comment