डोटी, १४ भदौ ।
दादुराविरुद्ध नियमित खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले आफ्ना कलिला सन्तान सरकारी कर्मचारीको लापरबाहीले गुमाउनुपरेको भन्दै आक्रोश पोखेका हुन् ।
पीडित परिवारले सञ्चारकर्मीलाई बारम्बार फोन गरेर क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘दूषित खोपले मृत्यु भएको भन्ने खबर सुन्यौं’ सुजाता नेपालीका बुबा शान्तले फोनमा सोधे, ‘गाउँमा बसेका हामीलाई कसैले केही भनेका छैनन । तपाईंहरुलाई क्षतिपूर्ति दिनेरनदिनेबारे केही थाहा छ ?’पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन दलका स्थानीय नेताहरुले पनि दबाब दिँदै आएका छन् । जिल्ला स्वास्थ्य डोटीका वरिष्ठ स्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले भने क्षतिपूर्तिका लागि जिल्ला स्वास्थ्य उचित निकाय नभएको बताए ।
‘हामीले त्यसका लागि पीडितका माग केन्द्रसम्म पु¥याउन पहल गर्ने छौं’ अधिकारीले भने, ‘निर्णायक कुरा सुनाउन सक्ने अवस्थामा छैनौं ।’ केन्द्रबाट खोप घटना अध्ययनका लागि आएको विशेषज्ञको टोलीले सरसफाइ अभाव र दूषित खोपका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
खोपबाट बालबालिकाको मृत्यु भएपछि जिल्लामा यो कार्यक्रम प्रभावित भएको छ । ९ महिनाका शिशुलाई खोप लगाउनुपर्ने भए पनि अभिभावक संकोच मानिरहेका छन् । ‘कतिबेला के हुन्छ थाहा नै हुँदैन नेपालमा’, निराश मुद्रामा भेटिएका काडमाडौंका सन्तोष धानुकले भने, ‘पहिले उपचार पाउनै मुस्किल, पाएपछि ज्यान जोगाउन मुस्किल ।’ काडमाडौंमा भदौ २ गते वडा ६, ७ र ८ मा डीपीटी र दादुराविरुद्ध खोप लगाएको थियो । त्यसको २४ घन्टा नबित्दै खोप लगाएका ६ शिशुमध्ये ४ को मृत्यु भएको थियो ।
No comments:
Post a Comment