Thursday, August 30, 2012

भारतीय रुपैयाँको चर्काे अभाव


कञ्चनपुर, १४ भदौ । 
कञ्चनपुरमा भारतीय रुपैयाँको चर्काे अभाव भएको छ । भारतीय रुपैयाँको कालोबजारी हुन थाले पछि यहाँ अभाव सिर्जना भएको हो । व्यापारीहरुले रुपैयाँ सटही गरेबापत सयकडा पाँच रुपैयाँका दरले कमिसन लिएर भारु उपलब्ध गराउने गरेका कारण भारुको अभाव भएकोमा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतीय सहरहरुमा कामगरेर फर्कने व्यक्तिलाई सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले भारुका नोटहरु राखेबापत सास्ती दिन थालेपछि निकटबर्ती भारतीय बजार बनवासाका व्यापारीहरुले नै भारु साटेबापत कमिसन लिएर नेपाली रुपैयाँ उपलब्ध गराउन थालेकाले भारु देखिन छाडेको स्थानीय वासिन्दा दिनेश पाण्डेयले बताए ।
उपचारका लागि भारतीय अस्पतालमा जाने नेपाली बिरामीहरुले भारु नपाउँदा सबैभन्दा बढी सास्ती बेहोर्नुपरेको छ । कमिसन दिएर पनि बिरामीले भारु पाउन नसकेको बताइएको छ । नेपाल राष्ट्र बैंकबाट भारतीय रुपैयाँ सटही गर्ने अनुमति पाएका सटहीहरुमा समेत भारुको अभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुले भारु उपलब्ध गराउन बन्द गरे पछि भारुको अभाव भएको सटही सञ्चालकहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले दुई वर्षयतादेखि भारु नपाठाएको वाणिज्य बैंक भीमदत्तनगरका प्रबन्धक राधेश्याम योगीले बताए ।
भारु साटेबापत चर्काे कमिसन लिएर सटही गर्ने र कमिसन लिएर भारुको कालोबजारी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउनुपर्ने यहाँका सर्वसाधारणले माग गरेका छन् ।

No comments:

Post a Comment