रामचन्द्र घर्ती
जाजरकोट, १४ भदौ ।
लगातार परेको पानीका कारण घरहरु चर्किएर उच्च जोखिममा परेपछि जाजरकोटको डांडागाउं ३ च्युरी गाउँका ३८ घर विस्थापित भएका छन् ।
गाउँको वरिपरीबाट पहिरो गएको, गाउँको बिभिन्न ठाउँ भासिएको, खानेपानीका ट्याङ्की भासिएको र घरहरु चकिृएर जोखिममा बढेपछि ३८ परिवार घरमा बस्न छोडेको डाँडागाँउ गाविस सचिव भवानी रावतले बताए ।पहिरोले गाउँका ७७ वटा घर चर्किएका छन् । सचिव रावतका अनुसार विस्थापित भएका परिवार आफन्त र छिमेकीको घरमा सुत्ने गरेका छन् । लत्ताकपडा र अन्नपात भने घरमै रहेकाले पानी नपरेको बेला दिउँसो रेखदेख गर्न घर छोडेकाहरु आउने गरेका छन् । पहिरोका कारण विद्यालय जाने बाटो समेत अवरुद्ध भएको छ । गाउँ नै पहिरोको उच्च जोखिममा रहेकोले उनीहरुले तत्काल सुरक्षित ठाउँमा सार्न सरकारसंग माग गरेका छन् ।
बुधवार बसेको जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठकले पीडितलाई ५० किलोको दरले चामल दिने, तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्ने र उनीहरुको स्थायी बसोबासको लागि उपयुक्त स्थान उपलब्ध गराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment