Thursday, August 30, 2012

‘मापसे’ बाट साढे तीन करोड


काठमाडौ, १४ भदौ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) विरुद्धको अभियान प्रारम्भ गरेपछि जरिवानावापत असार मसान्तसम्ममा तीन करोड ४४ लाख ९१ हजार राजस्व असुली गरेको छ । 

सो महाशाखाले २०६८ मङ्सिर १७ गतेदेखि उक्त अभियान आरम्भ गरेपछि सवारी दुर्घटनामा कमी आएको जनाएको छ । उक्त अवधिमा ३९ हजार ६६६ सवारी साधन कारबाहीमा परेकामध्ये ३४ हजार ४९१ सवारी साधनबाट मात्र राजस्व असुली भएको बताइएको छ । 
मापसे विरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५ सय ९७, पुसमा एक हजार ३ सय २१, माघमा दुई हजार ८ सय ८, फागुनमा पाँच हजार ९ सय ९१, चैतमा छ हजार ५ सय ६४, वैशाखमा पाँच हजार ४ सय १४, जेठमा ५ हजार ४५ र असारमा पाँच हजार ७ सय ५१ वटा सवारी साधनका सवारी चालक कारबाहीमा परी राजस्व दाखिला गर्न आएको महाशाखाले जनाएको छ । 
मादक पदार्थ सेवन गरेर जुनसुकै सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारीचालकलाई एक हजार जरिवाना गर्ने गरेको छ । यो अभियान सुरु गरिएपछि सवारीचालकहरुमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भत्रे चेतनामा अभिवृद्धि हुँदै गएको पाइएको छ । 
सवारी दुघर्टनामा कमी ल्याउनका लागि मादक पदार्थ सेवन विरुद्धको अभियानलाई अझ अनुशासित, प्रभावकारी, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गरिनुपर्छ भन्ने आमजनताको धारणा रहेको पाइन्छ ।

No comments:

Post a Comment