Wednesday, August 29, 2012

सार्थक बहस राष्ट्रियताको


श्रीमन नारायण
विगत केही समययतादेखि नेपाली राजनीतिमा राष्ट्रियतामाथि गम्भीर बहसको थालनी भएको छ ।
एक दशकसम्म सशस्त्र संघर्ष गरेको एकीकृत नेकपा माओवादीले यस विषयलाई आफ्नो पेवा ठानेको थियो । यसै मुद्दामा शेष अन्य दललाई दोषी बताउँदै एमाओवादीले स्वयंलाई राष्ट्रियताको एकमात्र पैरवीकार मान्दै आएको थियो तर एमाओवादी पार्टीमा आएको विभाजनका कारण स्वयम् यस पार्टीको संस्थापन पक्ष पनि यस सवालमा शंकाको घेरामा आएको छ । विभिन्न कोणबाट र स्वयम् आफ्नै पार्टीका जिम्मेवार नेताहरुद्वारा लगाइएका आरोप र व्यङ्ग्यवाणबाट आहत प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रियताको विषयलाई सार्वजनकि रुपमै बहसमा ल्याएका छन् । फलस्वरुप यसको महत्व, गम्भीरता र सार्थकता बढेको छ । भनिन्छ, सर्पको खुट्टा सर्पले नै देख्छ अरुमाथि फलानो देशको एजेन्ट भएको आरोप, विदेशी दलालको पगरी गुथ्दै आएको तथा हिजोसम्म कथित राष्ट्रियताको एकमात्र ठेकेदार रहेको एकीकृत नेकपा माओवादी पार्टीले आज स्वयम्क यही आरोपको मुकाबिला गरिरहनुपरेको छ । झुटा आरोप सबैका निम्ति उत्तिकै कष्टकारक हुन्छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष एवंम् देशका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियता कसैको मागी खाने भाँडो हुन सक्दैन भन्ने टिप्पणी गरेबाट अब विषयको सार्थक परिणाम आउने अपेक्षा गर्न सकिन्छ । नेपाली राजनीतिमा वि.सं. २०१७ पुस १ गतेको घटनापछि राष्ट्रियताको विषय चर्चामा आएको हो । लोकतान्त्रिक शासनको हत्यापश्चात तात्कालीन राजा महेन्द्रले आफ्नो पञ्चायती शासनलाई बलियो बनाउन हरसम्भव काम गरे । एक भाषा, पोशाक, संस्कृति, दरबार र पश्चायती शासनलाई नै राष्ट्रियताको सम्पूर्ण थोक बताउँदै यसैलाई मान्न नेपाली जनतालाई बाध्य पारे । पञ्चायतको तीस वर्षका नेपाली जनतालाई राष्ट्रियताकै मन्त्र जाप गर्न अभ्यस्त बनाइयो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि देशमा लोकतन्त्रको पुनर्व कसरी भयो ।  पञ्चायती शासनमा केही हदसम्म राजकीय संरक्षण पाएको कम्युनिस्टहरुले देशमा भारत विरोधको राजनीतिलाई नै नेपाली राष्ट्रियताको मूल आधार माने । भारतसँग भएका सन्धि–सम्झौताको खारेजी, सिमाना विवाद र भारतको कथित हेपाहा प्रवृत्तिलाई चर्काे नारा दिई कम्युनिस्टहरुले नेपाली जनतामा भारतविरोधी धारणा विकसित गर्ने काम गरे । पाँच–सात वर्षसम्म नेकपा एमालेले पञ्चायती राष्ट्रवादको यस मसाललाई जोडले थामेको थियो तर वि.सं. २०५२ फागुन १ गते एकीकृत नेकपा माओवादीलेसशस्त्र संघर्ष शुरु गरेपश्चात एमालेलाई पन्छाई उसले राष्ट्रियताको मुद्दालाई प्रमुख अस्त्र बनायो । भारतसँग भएका सन्धि–सम्झौताको खारेजी, खास गरीकन सन् १९५० मा नेपाल–भारत भएको शान्ति तथा मैत्री सन्धिको खारेजी, हिन्दी सिनेमा नेपालमा चलाउन नहुने तथा गोरखा भर्तीकेन्द्र बन्द गर्ने लगायतका भारतसँग सम्बन्धित अनेकौं विषयलाई नेपाली राष्ट्रियताको निम्ति बाधक बताउँदै सोझा नेपाली जनतालाई भारतविरोधी बनाउने हरसम्भव प्रयास गरे । वि.सं. २०६३ सालको परिवर्तनपछि एकीकृत नेकपा माओवादी राष्ट्रिय राजनीतिको मूल धारमा मात्रै समाहित भएन अपितु संविधानसभाको निर्वाचनपछि त यो प्रमुख राजनीतिक शक्ति नै बनेर आयो । शुरुमा पार्टी अध्यक्ष प्रचण्ड दश महिनासम्म प्रधानमन्त्री बन्न पाए भने विगत एक वर्षदेखि सोही पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई देशका प्रधानमन्त्रीको पदमा विराजमान छन् । प्रधानमन्त्री बन्नमा असफल भएपछि पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरणले फेरि उही पुरानो राष्ट्रियताको मुद्दालाई उठाएर पार्टी पनि फुटाइदिएका छन् । पार्टीका एक अन्य उपाध्यक्ष र वर्तमान सरकारका उपप्रधान एवम् विदेशमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मोहन वैद्यकै बाटोलाई पत्याएका छन् । प्रधानमन्त्री डा. भट्टराईको भारत भ्रमणका दौरान सहभागी रहेका नारायणकाजी श्रेष्ठले बिप्पा सम्झौता भएको दश महिनापछि मात्रै नेपालको अहित देखेका छन् तर पनि उनले अहिलेसम्म मन्त्रीको पद भने त्याग गर्नसकेका छैन् । पार्टी अध्यक्ष प्रचण्डको विशेष कृपामा डा. भट्टराई र वैद्यको समकक्षमा पु¥याएका प्रकाश एकता केन्द्रबाट आएका छन् । प्रधानमन्त्री अथवा सरकारको निर्णय मन नपरेमा पदबाट राजीनामा गरी विरोध गर्नुपर्ने सामान्य नैतिकताको समेत परिचय दिन नसक्ने प्रकाशका कारण वर्तमान सरकारका प्रधानमन्त्री बडो विचित्र अवस्थामा पुगेका छन् । प्रधानमन्त्री डा. भट्टराईले चर्चित अंग्रेजी लेखक जर्जअर्बलको चौतर्फी पाखण्डको बोलवाला भएका बेला सत्य कुरा बोल्नु क्रान्तिकारी हुन्छ भन्ने भनाइलाई उद्धृत गर्दै राष्ट्रियताजस्तो अति गम्भीर र संवेदनशील विषयको चर्चा भित्र प्रवेश गर्न अघि सबैले निजी स्वार्थ संकृती, आवेग र पूर्वाग्रहको चश्मा फाँँकेर वैज्ञानिक यथार्थमा र वस्तुवादिताको कजार समात्नु आवश्यक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रियता कुनै व्यक्ति, समूह वा दल विशेषको स्वार्थ साँध्ने माध्यम वा बौद्धिक विलासको साधन नभएर सम्पूर्ण देश र जनताको साझा सरोकार र दायित्व भएको विषय बताएका छन् । प्रधानमन्त्रीले नेपालमा केही समययता राष्ट्रियतासम्बन्धी अत्यन्तै सतही, गैरजिम्मेवारपूर्ण आवेगात्मक, भ्रम पूर्ण र पूर्वाग्रह पूर्णसोच र अभिव्यक्तिहरुको बाढी लागिरहेको बेला राष्ट्रियताबारे गम्भीर राष्ट्रिय विमर्श थाल्नु जरुरी भएको उल्लेख गरेका छन । प्रधानमन्त्री डा. भट्टराई स्वयम् पनि एक उच्च कोटीका विश्वान छन् । उनले यस विषयलाई बहसमा ल्याउने आवश्यकता महसुस गर्नु खुशीको कुरा हो । नेपालमा खास गरीकन भारतको विरोधे गर्ने नै नेपाली राष्ट्रियताको आधारस्तम्भ मानिंदै आएको छ । पञ्चायतकालीन यस मानसिकतामा अहिले पनि कमी आएको छैन । पूर्वमन्त्री एवम् राजनीतिज्ञ रमेशनाथ पाण्डेले पनि आफ्नो एक आलेखमा नेपाली राष्ट्रवाद भारतविरोधी भएर होइन नेपाली पक्षीय भएर मात्रै बलियो हुन्छ भनेका छन् । कुनै बेला भारतलाई प्रत्यक्ष रुपमै चुनौती दिने सत्ताधारी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भू–मण्डलीकरण र विश्वपरिवेशका कारण उत्तेजनात्मक सम्बन्ध भन्दा पनि भारतसँग परिपक्व र कुटनीतिक प्रक्रियाबाट नै विवादित विषय र समस्याको समाधान खोजिने पक्षमा छन् । हिजोको उही पुरानो आँखाले आज फेरि राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको विषयलाई हेर्नुहुन्न भन्ने पक्षमा उनी छन् । आफू अब परिपक्व राजनीति गर्न चाहेको भन्ने उनको स्वयंको टिप्पणीले नै उनका उपाध्यक्ष प्रकाशको भनाइलाई अपरिपक्व र गैरजिम्मेवार साबित गरिदिएको छ । वैदेशिक रोजगारमा गएका, भारतमा साना–ठूला काममा लागेर जीविकोपार्जन गरिरहेका, बाध्यतावश जुन कारणले पनि वेश्यालयमा पुगेका चेलिबेटी, देशका बेरोजगार र देश एवम् विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको हित हुने, कल्याण हुने र तिनको आर्थिक प्रगतिबाट देशको स्वाभिमान बढ्ने खालको नीति बनाउने अभियानमा हामी किन न लाग्ने ? राष्ट्रियतालाई राजनीतिक नारा होइन, कसैको पेवा होइन, आफ्नो र देशको अस्तित्व ठानी यसको सार्थ प्रयोगको दिशामा किन नलाग्ने ? राष्ट्रियताको विषयमा जारी बहस लम्बिनुपर्छ भाषा, संस्कृति, रोजगार, पहिचान हुँदै देशको चारैतिरको सिमानाको रक्षा र समानतामा आधारित वैदेशिक सम्बन्धसम्म पुग्नु नै पर्छ तर आन्तरिक एवम् बाह्य दुवै राष्ट्रियताको कुरा गरौं । प्रधानमन्त्री डा.भट्टराईले उठाएका विषयमाथि लामो तर सार्थक बहस हुनुपर्दछ । राष्ट्रियतासँग सम्बन्धित प्रत्येक सूक्ष्म र ठूला विषयमाथि विहड्डम दृष्टि जानुपर्दछ । (साभार ः नेपालसमाचर पत्रबाट)

No comments:

Post a Comment