Tuesday, September 18, 2012

शल्यक्रिया गरेको ३ दिनमै मृत्यु

प्यूठान, २ असोज ।
माझकोट ८, टुनीखर्कका ४५ वर्षीय सूर्यबहादुर पुनको शरीरमा निक्केको सानो गाँठो शल्यक्रिया गरेको तीन दिनमै मृत्यु भएको छ । उनको शरीरको सानो गाँठोको शल्यक्रिया राष्ट्रिय अपांग सेवा संघ जिल्ला शाखा र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंले गरेको पाँच दिने शिविरमा गरिएको हो ।
अरु रोग केही थिएन, अपरेसन गरेको तीन दिनमै श्रीमानको मृत्यु भएको श्रीमती पिमा पुनले बताइन् । श्रीमानको मृत्युको कारण खोज्न अस्पताल आइपुगेकी पिमाले भनिन, ‘शल्यक्रिया गरेर गाँठो निकालेको तीन दिनमै कसरी मृत्यु हुन्छ ? यसमा केही कारण हुन सक्छ ।’
अस्पताल पुग्दा शल्यक्रिया गर्ने डाक्टर र आयोजकहरु बिहानै हिँडेको भनेपछि उनी रुँदै घर फर्किन । पुन दम्पती स्थानीय रेडियोमा शिविर सञ्चालन जानकारी पाएर भदौ २७ गते जिल्ला अस्पताल बिजुवार सेवाका लागि पुगेका थिए । ‘शल्यक्रिया गरेको रात धेरै रगत बगेको थियो । अर्काे दिन बिहानै टोलीलाई गएर भन्यौं । बिस्तारै ठीक हुन्छ भने’ आइतबार अस्पतालबाट फर्कँदै गर्दा भेटिएकी पुनले भनिन, ‘रगत अलिअलि बगिरहेको थियो, घरमा फर्केको दिन बेलुकै हामीलाई छोड्नुभो ।’

शनिबार बिहान शल्यक्रिया गर्ने टोलीलाई घाउ देखाएर घर जाने सल्लाह पाएर घरमा आएका पुनको बेलुका नै मृत्यु भएको थियो । शरीरमा एक्कासि तापक्रम बढेर पसिना आई ढलेपछि छिमेकीलाई बोलाएर पुनः अस्पताल लग्ने भनेर हिँडेकामा बाटामै मृत्यु भएको श्रीमती पिमाले बताइन् । उनलाई गाउँको मेडिकलमा दैनिक घाउँ सफा गर्ने र १४ दिनपछि टाँका निकाल्ने सल्लाह दिइएको थियो ।
सुष्मा कोइलाला मेमोरियल अस्पताल साँखुका सन्तोषविक्रम भण्डारी नेतृत्वमा आएको टोलीले उनको शल्यक्रिया गरेको थियो । घटना घटेको जानकारी पाएपछि पुनको घरमै गई भेटेको बताउँदै आयोजक राष्ट्रिय अपांग सेवा संघ प्यूठान अध्यक्ष जुमान केसीले दुःखद घटना भएको बताए । ‘परिवारलाई केही सहयोग गर्नुपर्छ भन्ने लागेर टोली प्रमुख डा. भण्डारीसँग फोनमा सल्लाह गरेको छ’ केसीले भने, ‘सोमबार काठमाडौं पुगेर कस्तो सहयोग गर्न सकिन्छ, बताउनेछु’ भनेका छन् ।

No comments:

Post a Comment