Sunday, September 9, 2012

रमाईलो बिर्सायो बाटोले

युवराज शर्मा
सुर्खेत, २४ भदौ

‘सुर्खेतको पश्चिम क्षेत्रले अहिलेसम्म नेता पाएनछ, ल हेर यो बेहाल’  भन्दै थिए वावियाचौरको कार्यक्रममा भाग लिन जान लागेका केही  सहभागिहरु । यात्रुले भरिभराउ बस, अप्ठ्यारो र कहाली लाग्दो बाटो, गाडी छोडेर हिड्नुपर्ने भएपछि उनीहरु यसो भन्दैथिए । जेनतेन साहस बटुलेर बसमै बसेका यात्रुहरु पनि सुस्केरा हालेर अत्तालिँदै भनिरहेका थिए, फेरी यहि बाटो हिड्न नपरोस ।
कहिं हिलो र खाल्डो बाटो छिचोल्दै होस् वा ढुङ्गामा गाडी चढाएर टायरमुनि ढुङ्गानै भरेर बल्लतल्ल कार्यक्रम स्थलमा पुगियो । लामो गाडीले बाटो को दायाँ वायाँ छुनै लाग्दा होस वा अप्ठेरा खाल्डाहरुका कारण उफ्रदा डराएका यात्रुहरु बिच यस्तो छलफल भईराखेको थियो । कोही भनिरहेका थिए ‘नेता अगतिला परे अनि’ कोही भनी रहेका थिए ‘जनताहरुमा पनि प्रयाप्त जनचेतनाको कमी रहेछ ।’ वातावरण बहुउद्देश्यिय सहकारी संस्था लि. लघुवित्त कार्यक्रम तथा वातावरण  सुधार समाज वीरेन्द्रनगर—१० सुर्खेतले बावियाचौरमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा सहभागि हुन आएकाहरुको गुनासो थियो यो ।
प्रचुर हरीयालीले घेरेको सम्मो ठाउँ अनि विभिन्न पहिरनमा सजिएका महिलाहरु र अन्य दर्शकहरुको भिडले वाबियाचौर बजार व्यस्त देखिन्थ्यो । शनिबारकाृ दिन भएको र तिज गीत प्रतियोगिताको साहित जुरेकोले राम्रै व्यापार भएको व्यापारीहरुको भनाई छ ।

प्रतियोगितामा जम्मा २२ केन्द्रले भाग लिएका थिए । उनीहरुले आफ्ना गीत मार्फत सहकारीताका बारेमा प्रकाश पार्ने प्रयास गरेका थिए । समसामयिक गीतमा कलिला बालवालिका देखि सेतै फुलेका बृद्ध आमाहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।
वीरेन्द्रनगरबाट गएका वागिना समूहका कलाकारहरुको प्रस्तुती होस वा छिन्चुबाट आएका राजीहरुको मौलिक संस्कृती होस, तिनले दर्शकलाई मनोरञ्जन त दिए नै छमछमी नचाए पनि । कार्यक्रममा तिजका गीत सगसंगै सुर्खेतको पश्चिमलाई चिनाउने भजन अनि पुराना नेपाली लोक गीतहरु र आकर्षक नृत्यहरु प्रस्तुत गरिए ।
परम्परागत नाच मात्रै होईन भावनृत्यहरु पनि प्रस्तुत हँदा कतिपय महिलाहरुको आँखामा लर्किएका आँसु देख्न सकिन्थ्यो । बृद्ध आमाहरु आफ्नो जमानाका गीत गाएर नाच्दै रमाउँदा केहिबेर प्रतियोगिता सञ्चालनमा नै ढिलाई भएको थियो ।
नृत्य निर्देशक कुलमान नेपाली, संगीतकार यज्ञ गिरी र गायिका डम्मर सापकोटा सम्मिलित निर्णायक मण्डलले गरेको निर्णय अनुसार त्रिवेणी वातावरण महिला केन्द्र प्रथम, वास्मति वातावरण महिला केन्द्र द्वितिय, हिमाली वातावरण महिला केन्द्र तृतीय भए भने न्यू लालिगुराँस वातावरण महिला केन्द्र र प्रगतिशिल वातावरण महिला केन्द्रले सान्त्वना पुरस्कार प्राप्त गरे ।
बिजयी प्रतियोगिलाई पुरस्कार प्रदान गर्दै वातावरण  सुधार समाजका सल्लाहकार कमलराज रेग्मीले महिलाहरुले सहकारी मार्फत आर्थिक स्तर सुधार्दै गएको विचार व्यक्त गरे । वातावरण बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मीले समेत मन्तव्य व्यक्त गरेकी थिईन् ।

No comments:

Post a Comment