Thursday, July 11, 2013

युवा स्वरोजगार र सामाजिक सुरक्षा रकम दुरुपयोग

रामकुमार शाही
जाजरकोट, २७ असार ।
जाजरकोटमा युवा स्वरोजगार कार्यक्रम तथा सामाजिक सुरक्षा वापतको रकम दुरुपयोग भएको पाईएको छ । बेरोजगार युवालाई नभई हुनेखाने र व्यापार–व्यवसाय गरेकालाई कार्यक्रम अन्तर्गतको रकम वितरण गरेको भेटिएको छ । 

जाजरकोट जिल्ला संयोजन तथा अनुगमन समितिले सरकारी उद्देश्य विपरीत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा जथाभावी वितरण गर्दा बजेट दुरुपयोग भएको स्थानीय देवराज बोहराले बताए । 
‘बेरोजगार युवाका लागि जिल्लामा आएको बजेट हुनेखाने, आफन्त तथा १० लाखभन्दा बढीको कारोबार गरी बसेकालाई कर्जा दिदा अन्यलाई मर्का पर्न परेको छ’ बोहोराले भने । स्वरोजगार व्यवसाय कर्जाका लागि समितिले सिफारिस गरेका चार दर्जनमध्ये अधिकांश एउटै गाविसका भएकाले झन् समस्या भएको स्रोतले बतायो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य, कृषि विकास बैंकका प्रबन्धक सदस्य र कोषद्धारा नियुतm स्वयम्सेवक सदस्य–सचिव रहेको समितिले अन्धाधुन्ध कर्जाका लागि सिफारिस गरेको हो । 
जिल्लाका ३० वटै गाउँ विकास समितिका युवालाई नसमेटी खलङ्गा, जुगाथापाचौर, जगतीपुर, सीमा, डाँडागाउ, भुर, ढिमे, पुन्मा, कार्कीगाउँ, दशेरा र साल्मा गरी ११ गाविसका युवाको मात्र कर्जाका लागि सिफारिस भएको भेटिएको छ । हालसम्म २० जनालाई ५० हजारदेखि एक लाखसम्मको कर्जा वितरण भईसकेको छ ।
यता उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले भने त्यस्तो कुनै बेईमानी नभएको दावी गरेका छन् । कुनै त्यस्तो भएको भए प्रमाण पेश गरेर देखाउन खड्काको चुनौती छ । 
यस्तै जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत अनियमितता भएको भेटिएको छ । जेष्ठ नागरिक, एकल महिला, अपाङग नागरिकलाई सरकारले जीवन निर्वाहका लागि दिने भत्ता उनीहरुले नपाएको गुनासो गरेका छन् ।
स्थलगत अनुगमनका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका सञ्चारकर्मी समक्ष जेष्ठ तथा एकल महिलाले समयमा भत्ता नपाएको, पुरै रकम नपाएको र कतिपयले त अहिलेसम्म भत्ता नै नपाएको गुनासो गरेको अनुगमन समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष राजेन्द्र कार्कीले बताए । 
पश्चिम अर्छानी ९ की ६२ वर्षिया जलुकी चलाउनेले अहिलेसम्म सामजिक सुरक्षा भत्ता नपाएको बताईन । उनले गत वर्ष नै निवेदन दिएकी थिईन । गाविस सचिवले अहिलेसम्म भत्ता आएको छैन टार्ने गरेको चलाउनेको गुनासो छ । 
ग्रामिण क्षेत्रका अधिकांश जेष्ठ नागरिकले वर्षमा मुश्किलले तीनदेखि पाँच हजारसम्म मात्र पाउने गरेको गुनासो गरेका छन् । निकासा नभएको, पुरा पैसा नआएको जस्ता वहानामा गाविस सचिवले पुरा रकम दिने नगरेको उनीहरुको गुनासो छ ।
सचिव गाउँ नजाँदा गाविसका सहायक लेखापालले भत्ता बाँड्ने गरेका छन् । सलेपा गाविस सचिवको मिलेमतोमा नक्कली हस्ताक्षर गरी रकमको दुरुपयोग हुने गरेकोप्रति स्थानियको आक्रोश छ । कतिपय गाविस सचिवले मृत्यु भैसकेकाको समेत लगत कट्टा नगर्ने गरेको भेटिएको छ ।
जिल्लाको ३० ओटा गाविसमा चालु आथिर्क वर्षमा ६ करोड ७१ लाख रुपैयाँ बजेट सामाजिक सुरक्षा भत्ता वापत निकासा भएको जिल्ला विकास समिति जाजरकोटका योजना अधिकृत कुलबहादुर जिसीले जानकारी दिए । 
उनले सामाजिक सुरक्षा भत्ता दुरुपयोग नभएको दावी गरेका छन् । ‘अहिलेसम्म रकम दुरुपयोग भएको खबर आएको छैन’ जिसीले भने ‘सामाजिक सुरक्षा भत्ता वापतको रकम दुरुपयोग भएको पाइए कडा कारबाही हुन्छ ।’

No comments:

Post a Comment