सुर्खेत, २ भदौ ।
बुहुमुखी क्याम्पस सुर्खेतमा आंशिक रुपमा नियुक्ति गरिएका ६ जना प्राध्याकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लगाएको ताला खोलेका छन् ।
विश्वविद्यालयमा राखिएका मागका सन्दर्भमा छलफल भएपछि ताला खोल्ने सहमति भएको हो ।
आंशिक प्राध्यापकहरुले क्याम्पस समायोजनसंगै आफूहरुलाई पनि मपमा समायोजन गर्नुपर्ने माग राखि जेठ १५ गते मप वि.वि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । मप वि. वि. का रजिष्टार डा.ठगेन्द्रप्रकाश गिरी सहित डिनहरु र आन्दोलनरत प्राध्यापकहरुबीच शनिबार भएको बार्तामा सहमति भएपछि ताला खोलिएको हो ।
समायोजना गर्दा छुटेका ६ जना प्राध्यापकहरुलाई भदौ २ गते (आज) देखि मप विविमा करार नियुक्त गर्ने र विश्वविद्यालयमा रहेका समस्या समाधानमा सबै मिलेर अगाडी बढ्ने सहमति भएको रजिष्टार गिरीले जानकारी दिए । बार्ता पछि बोल्दै प्राध्यापक कमलेश डिसीले तालाबन्दी गर्नु राम्रो प्रबृत्ति नभएपनि सामाजिक, राजनीतिक कारणले गर्दा लोकप्रिय बन्दै गएको बताउँदै यस्तो संस्कृतिको अन्त्य गर्नुपर्ने बताए । उनले तालाबन्दी गर्ने संस्कृतिको अन्त्य गर्दै विश्वविद्यालयलाई गति दिन हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मपविविमा लगाइएका चार वटा तालामध्ये दुई वटा तालाखुलेका छन् भने अझै एउटा तालाबन्दी गरिएको छ । यस अघि विद्यार्थी संगठनहरुले लगायतको तालापनि एक साता पहिले खोलिएका थिए । विभिन्न मागहरु राख्दै पुस महिनादेखि आन्दोलनरत विद्यार्थी संगठन र विश्वविद्यालय पदाधिकारीहरुबीच समस्या समाधान गर्न सकारात्मक रहेको भन्दै निर्वाचन आचार संहिताले तत्काल माग पुरा हुन नसक्ने विश्वविद्यालय पदाधिकारीले आश्वासन दिएका थिए । संविधानसभाको दोस्रो निर्वाचन पछि विद्यार्थीका मागका सन्दर्भमा गम्भिरतापूर्वक छलफल गरी माग पुरा गरिने बताइएको छ ।
यी दुई ताला खोलिए पनि करार प्राध्यापकहरुले लगाएको तालाभने कायमै रहेको छ । आफूहरुले बैशाख महिनादेखिको पारिश्रमिक नपाएकाले यथाशिघ्र रुपमा पारिश्रमिक उपलब्ध गराइनुपर्ने करार प्राध्यापक संघको प्रमुख माग रहेको छ ।
रजिष्टार डा.ठगेन्द्रप्रकाश गिरीले भने करार प्राध्यापक र पदाधिकारीबीच दुई तीन पटक बार्ता भइसकेको र पुनः बार्ता गरी छिट्टै ताला खोलिने बताए । उनले बजेटको लागि विश्वविद्यालय अनुदान आयोगमा बजेट माग गरिएको बताउँदै विश्वविद्यालयलाई गति दिन सहमति र सहकार्यका आधारमा अगाडी बढ्ने बताए ।
“हामी माथी शंका उपशंका नगुर्नहोस, समस्या समाधानका लागि सबै मिलेर अगाडी बढ्नु पर्छ” रजिष्टार गिरीले भने “हामी सबैसँग हातेमालो गरेर अघि बढ्ने छौँ ।” विश्वविद्यालय स्थापनाका लागि निकालिएको जोस पुन एक पटक निकाली विश्वविद्यालयलाई गतिदिन आवश्यक रहेको उनको भनाई थियो । क्याम्पस समायोजन प्रक्रिया र जग्गा हस्तान्त्रण प्रक्रियालाई सम्पन्न गर्नका लागि सबैले सहयोग गर्न रजिष्टार गिरीले आग्रह गरे । विश्वविद्यालयले आइतबारदेखि स्नातक र स्नात्तकोत्तर तहमा मानविकी, विज्ञान र व्यवस्थापन संकायका विभिन्न विषयमा भर्ना खुल्ला गरेको छ । आइतबारदेखि भर्ना सुरु भई भदौ मसान्त सम्ममा खुल्ला गरिने मानविकी सङ्कायका डिन पीताम्बर ढकालले जानकारी दिएका छन् ।
No comments:
Post a Comment