सुर्खेत, २ भदौं ।
कृषकहरुले दिँदै आएको दुग्धमा गुणस्तर नभएको भन्दै शनिबारदेखि वीरेन्द्रनगरका डेरी संचालकहरुले दुग्ध नराख्ने घोषणा गरेपछि कृषकहरुले सडकबाटै दुग्ध बेचेका छन् ।
वीरेन्द्रनगरका वीरेन्द्रचोक, इत्राम, कालिन्चोक सहितका महत्वपूर्ण चोकबाट कृषकहरुले क्यानबाटै दुग्ध बेचेका हुन् ।
डेरी एसोसियसन सुर्खेतको अगुवाईमा स्थानीय कृषकले उत्पादन गरेको दुग्ध नलिने घोषणा संगै दुग्ध विकास संस्थान नेपालगंजबाट दुग्ध मगाई कृषकहरुले विक्रि गरिएका चोकबाट दुग्ध विक्रि गरिएको थियो । डेरी सञ्चालकहरुले पातलो दुग्ध दिएको भन्दै दुग्ध लिन बहिष्कार गरेपछि कृषकले सडकमै दुग्ध विक्री गरेका छन् ।
डेरी उद्योगीहरुको संस्था डेरी एशोसिएशन सुर्खेतले कृषकको दुग्ध लिन बहिष्कार गर्ने पूर्व घोषित कार्यक्रम अनुसार शनिवार दुग्ध नलिएपछि कृषकले सदरमुकाम वीरेन्द्रनगरका विभिन्न चोकमा आफै दुग्ध विक्री गरेका हुन् ।
डेरी सञ्चालकले पनि कृषकको दुग्ध बहिष्कार गरेर दुग्ध विकास संस्थान नेपालगञ्जबाट ल्याएको दुग्ध स्थानीय मंगलगढीचोक र वीरेन्द्रचोकमा विक्री गरेका थिए । डेरी सञ्चालकहरुले दुग्ध नलिएपछि आफ्नो उत्पादन स्वयं उपभोक्तासँग पु¥याउनु परेको कृषकले गुनासो गरेका छन् ।
दुग्धमा पानी कृषकले मिसाएको आरोप निराधार भएको भन्दै दुग्ध संकलकदेखि खुद डेरी सञ्चालक समेतले पानी मिसाउने गरेको कृषकको आरोप छ । समय र मौषम अनुसार दुग्धको स्तर र उत्पादनमा लागतमा समेत फरक पर्ने भएकाले कहिले काँही दुग्धको फ्याटमा तलमाथि हुनु स्वाभाविक भएको कृषकले बताएका छन् ।
कृषकका अनुसार डेरी सञ्चालकहरुले सुर्खेतमा स्थानीय उत्पादनलाई विस्थापित गरी दुग्ध विकास संस्थानको दुग्ध सुर्खेतमा भित्रयाउन खोजेको आरोप लगाएका छन् । डेरी सञ्चालकहरुले भने दुग्ध किसानले दुग्धमा पानी मिसाएपछि पूर्वसहमति अनुसारे गुणस्तरीय दुग्ध नदिएपछि आन्दोलित हुनु परेको बताएका छन् । एसोसिएसनका अनुसार चैत ६ गते सरोकारवाला, दुग्ध किसान र एसोसिएसनबीच दुग्धको स्तर कायम गर्ने विषयमा सहमति भएको थियो ।
सहमतिविपरित किसानले दुग्धमा पानी मिसाएर ल्याउन नछोडेपछि समस्या भएको एसोसिएसनका अध्यक्ष उत्सव प्याकुरेलले बताए । ‘स्वयंम कृषकले पानी हालेको दुग्ध ल्याइएपछि उपभोक्तालाई ठगेर न्यून गुणस्तरको दुग्ध विक्री कसरी गर्नु,’ उनले भने, ‘हामी त कृषकका ‘सेल्समेन’ मात्र भएकाले पैसा चुकाएर पनि राम्रो वस्तु पाउन नसक्दा यसबाट सबैभन्दा बढी उपभोक्ता नै प्रभावित भएका छन् ।’ प्याकुरेलका अनुसार दुग्ध उत्पादक किसानले दुग्धको मूल्यबृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि चैत ६ गते वीरेन्द्रनगरमा त्रिपक्षीय सहमति भएको थियो ।
सहमतिमा किसानले गाईको तीन र भैंसीको पाँच फ्याटको दुग्ध उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए । सोही सहमतिमा दुग्धको मूल्य प्रतिलिटर चार रुपैयाँ बढाइएको थियो । ‘दुग्धको मूल्य बढे पनि तोकिएको फ्याटभन्दा कम गुणस्तरको दुग्ध आउन रोकिएन,’ अध्यक्ष प्याकुरेलले भने, ‘त्यसैले हामी डेरी बन्द गरेर आन्दोलनमा उत्रिने अवस्थामा पुगेका हौं ।’ यता सरोकारवाला निकायले तत्काल तोकिएको मापदण्ड अनुसारको दुग्ध आपूर्ति गर्न किसानलाई दवाव दिने र डेरी सञ्चालकहरुलाई पनि नियमन गर्ने जनाएको छ । जिल्ला अनुगमन समितिका सदस्य एवं खाद्य निरीक्षक भेषबहादुर थापाले कृषक र डेरी सञ्चालक दुबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष आकाशतारा बयकले गुणस्तरीय दुग्ध पाउनु उपभोक्ताको अधिकार भएकोले उपभोक्तालाई ठगी गर्ने किसान होस् चाहे डेरी सञ्चालकलाई सम्बन्धित निकायले नियमन गर्नुपर्ने बताए ।
No comments:
Post a Comment