सुर्खेत, ५ पुस ।
यस क्षेत्रमा लगानीको अवसर खोज्दै लगानी गर्न उद्योगीहरुलाई प्रेरित गर्ने उद्देश्यले यहाँका उद्योगी व्यवसायीहरु लागेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका सहितको उपस्थितिमा मध्यपश्चिम क्षेत्रका उद्योग बाणिज्य संघका पदाधिकारीको उपस्थितिमा दुई दिने लगानीको अवसर विषयक क्षेत्रीय गोष्ठी वीरेन्द्रनगरमा सुरु भएको छ ।
गोष्ठीको उद्घाटनका अवसरमा बोल्दै उपाध्यक्ष मुरारकाले यो क्षेत्रमा कृषि, पर्यटन, खनिज र जडिबुटीमा प्रशस्त सम्भावना भएको तर लगानी नभएकोले कौडीको भाउमा खेर गइरहेको बताउँदै उनले यदि सरकारले लगानी सुरक्षित हुने वातावरण तयार गरे अवौं लगानी भित्रिने बताए ।
लगानी गर्ने वातावरण सरकार मात्र होइन, राजनीतिक दलहरुले पनि गर्न नसकेको आरोप लगाउँदै उपाध्यक्ष मुरारकाले सरकारले वातावरण बनाइदिए आफूहरु जतिपनि लगानी लगाउन तयार रहेको जानकारी दिए ।
नेपालको पानी र खानीको विकास गर्न सकिए थुप्रै रकम आम्दानी गर्न सकिने भएपनि पानी र खानीमा राष्ट्रियताको नाममा बढी राजनीति हुने गरेको उपाध्यक्ष मुराराकाले बताए । अस्थिर राजनीतिले गर्दा लगानी गर्न उद्योगी व्यवसायीहरु हिच्किचाएको बताउँदै उनले भने, यदि वातावरण तयार भएमा सुर्खेतमा सिमेन्ट कारखाना, जडिबुटी उद्योग खोल्न सवै तयार छन् ।
आज शनिवारसम्म हुने गोष्ठीले मध्यपश्चिम विकास क्षेत्रमा लगानी भित्रयाउने निष्कर्ष निकाल्ने छ । गोष्ठी उद्घाटनमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले पश्चिम नेपालमा लगानी गर्न उद्योगी व्यवसायीहरु तयार भएपनि लगानी गर्ने वातावरण नभएको बताए ।
सोही अवसरमा बोल्दै मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशक नारायण शर्माले गरिवी न्यूनिकरण गर्नका लागि पनि राज्यले कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस क्षेत्रमा अदुवा, मसुरो लगायतका बालीको प्रवद्र्धन गर्न विशेष कार्यक्रमहरु संचालन गरिएको जानकारी दिदैं लगानीको अभावमा प्रचुर सम्भावनाहरु खेर गइरहेकोमा दुःख व्यक्त गरे ।
मध्यपश्चिम विश्वविद्यालयका डीन पीताम्बर ढकालले यस क्षेत्रमा थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने भएपनि पर्याप्त लगानी आउन नसकेको बताए । उनले यस क्षेत्र पछाडि पर्नुमा लगानीकै अभाव रहेको दावी गरे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कृष्णराज बजगाईले मध्यपश्चिमा गत बर्ष मात्रै १ अर्ब ७० करोडको निकासी भएको तथ्यांक प्रस्तुत गरे ।
उनले यस क्षेत्रमा उत्पादन हुने रोजिन, भुस, पिना, धागो, अदुवा, मसुरो लगायतका बस्तु निर्यात गरेको जानकारी दिदैं पर्याप्त लगानी गर्नेहरु भए अझ बढी निर्यात गर्न सकिने बताए । उनले उत्तरको चीन र दक्षिणको भारतका नाकाहरुसंग सम्वन्ध विस्तार गर्नुपर्ने, एकीकृत रणनीतिको आवश्यकता लगायतमा जोड दिए ।
त्यस्तै बाणिज्य मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले नेपालमा निर्यातभन्दा आयात बढी हुन थालेकोले मुलुक झन पछाडि पर्दै गइरहेको बताए । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले यस गोष्ठीले मध्यपश्चिम विकास क्षेत्रमा लगानी भित्र्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले जडिबुटी, पर्यटन, खनिज र कृषिको अवसर प्रशस्त भएपनि लगानी हुन नसकेकोले लगानी भित्र्याउन गोष्ठी गरिएको बताए । साथै समग्र मध्यपश्चिम विकास क्षेत्रको विकासका लगानी भित्र्याउने वातावरण बनाइदिन राजनीतिक दल तथा सरकारसंग उनले आग्रह गरे । राज्यले वातावरण बनाइदिए उद्योगी व्यवसायीहरु लगानी गर्न तयार रहेको प्रतिवद्धतासमेत उनले जनाए । गोष्ठीमा मध्यपश्चिम विकास क्षेत्रका उद्योग बाणिज्य संघका करिव ५ दर्जन पदाधिकारीहरुको सहभागिता रहेको छ । गोष्ठी आज शनिवार समापन हुने छ ।
No comments:
Post a Comment