सुर्खेत, २० पुस ।
सरकारले पशुपालन र व्यबसायिक खेतीमा लाग्ने युवालाई अनुदान दिने कार्यक्रम स्वीकृत गरेको छ । व्यक्तिगत, व्यबसायिक, समुह वा सहकारी मार्फत कृषिमा लाग्ने युवालाई कुल लागतको बढीमा ५० प्रतिशत रकम सहयोग गर्ने गरी पुष १४ गते युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरेको हो ।
तरकारी खेतीमा लाग्ने किसानलाई पहाडका लागि ४० हजार र तराईका लागि ६० हजार रुपैंयाँसम्म, माछा पाल्न प्रति स्किम ५० हजार र च्याउ खेती गर्न ४० हजारसम्म सहयोग गर्ने कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकनाथ लुइँटेलले जानकारी दिए ।
बंगुरपालनतर्फ दुई देखि पाँचवटासम्म प्रजनन योग्य बंगुर पाल्ने किसानलाई बढीमा ५० हजार, १५ वटा प्रजनन योग्य बंगुर पाल्नेलाई ७५ हजार र कृषक समुह वा सहकारी मार्फत प्रति सदस्य कम्तिमा १५ वटा प्रजनन योग्य बंगुर पाल्नेलाई तीन बर्षका लागि हरेक वर्ष एक लाख १५ हजारका दरले तीन लाख ५० हजारसम्म सहयोग गरिने कार्यविधिमा उल्लेख छ ।
बाख्रा प्रबर्धन कार्यक्रम अन्र्तगत व्यक्तिगत रुपमा पाल्नेलाई ५० हजार, व्यबसायिक रुपमा पाल्नेलाई १ लाख ५० हजार र सहकारीलाई २ लाख बराबरको अनुदान लगानी गर्ने योजना छ । दुध वा दुग्ध जन्य पदार्थ प्रशोधन र संकलन गर्ने डेरीलाई तीन वर्गमा छुट्याई १० हजारदेखि चार लाखसम्म सहयोग गर्ने कार्यबिधिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार ५ देखि १० वटा उन्नत दुधालु गाईभैंसीका फार्मसहित दुध संकलन गर्ने नयाँ तथा साना डेरीलाई एउटा गाईभैंसी बराबर बढीमा १० हजार, ११ देखि ५० वटासम्मका लागि प्रतिफार्म दुई लाख र ५० भन्दा माथिका लागि प्रतिफार्म चार लाख रुपैयाँ सहयोग गर्नेछ ।
सहयोग कार्यक्रम कृषि तथा पशु सेवा विभाग अन्र्तगत सञ्चालित हुने मन्त्रालयले जनाएको छ । स्वीकृत कार्यविधि छिटै कार्यान्वयन प्रकृयामा लैजाने सहप्रवक्ता लुइँटेलले जानकारी दिए ।
No comments:
Post a Comment