सुर्खेत, २० पुष ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१०, सुर्खेतका कोषाध्यक्ष अनन्तप्रसाद पौडेलले गत आ.व. ०६९÷०७० को ६३ करोड ४ लाख ७० हजार २ सय ८४ को आर्थिक प्रगति प्रतिवेदन पेश गरेका छन् । संस्थाको एघारौं बार्षिक साधारणसभाका अवसरमा गत आ.व.को आय व्यय प्रस्तुत गर्दै चालु आ.व. ०७०÷०७१ को लागि ८९ करोड २९ लाख ६ हजार ९ सयको संशोधित आर्थिक प्रवेदन र आगामी आ.व. ०७१÷०७२ को लागि १ अर्ब २८ करोड ५४ लाख ७९ हजार १ सयको प्रस्तावित आर्थिक बजेट प्रतिवेदन समेत पेश गरेका थिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले वातावरणका लघुवित्त कार्यक्रमले राज्यको पहुँच नपुगेको क्षेत्रमा समेत आफ्नो कार्यक्रम विस्तार गरी दुर्गम क्षेत्रका महिलाहरुलाई वित्तीय सेवा उपलब्ध गराउन सफल भएको कुरा उल्लेख गर्दै यसले मध्यपश्चिम क्षेत्रका सबै जिल्लामा आफ्नो सेवा क्षेत्र विस्तार गर्नुपर्ने बताए ।
त्यस्तै विशेष अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले सुर्खेत लगायत दैलेख र सल्यान जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेर त्यहाँका गरिब तथा विपन्न वर्गका महिलाहरुको अवस्थालाई सुदृढिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । आगामी दिनमा संस्थाले अझ विभिन्न किसिमका सेवा क्रियाकलाप मार्फत संस्था समुदायमाझ जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका सचिव सुरजप्रसाद आचार्यले गत आ.व. ०६९÷०७० को प्रगति तथा चालु आ.व. ०७०÷०७१ को संशोधित र आगामी आ.व. ०७१÷०७२ को लागि प्रस्तावित प्रतिवेदन पेश गरेका थिए ।
संस्था अध्यक्ष डम्वरप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको सो एघारौं वार्षिक साधारणसभामा कर्मचारी युनियन बाँकेका अध्यक्ष पदमबहादुर जि.सी., राष्ट्रिय सहकारी बैंक सुर्खेतका प्रवन्धक विष्णु गिरी, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सी., बागेश्वरी विकास बैंक सुर्खेतका प्रवन्धक बद्रिप्रसाद शर्मा, कृषि सहकारी संघका लक्ष्मीप्रसाद गौतम, राष्ट्रसेवक सहकारी संस्थाका सचिव टंकप्रसाद लामिछाने, वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष देवकुमार सुवेदी लगायतले मन्तव्य राखेका थिए ।।
सो अवसरमा संस्थाका शेयर सदस्य डा. दिपबहादुर रावललाई नेपालमा सहकारिताको विकास विषयमा विद्यावारिधी गरेकोमा सम्मान गर्नुका साथै लालिकाँडा–२ दैलेखका खेमराज वली र लाटिकोइली–१ सुर्खेतका प्रेमबहादुर चुनारालाई लघुवित्त सामाजिक सम्मानबाट सम्मानित समेत गरिएको थियो । त्यस्तै संस्थाले साही अवसरमा उत्कृष्ट १० जना ऋणि र १० जना बचतकर्ता, ५ वटा लघुवित्त केन्द्र र ३ जना कर्मचारीलाई पुरस्कृत समेत गरेको थियो ।
No comments:
Post a Comment