Monday, July 23, 2012

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले स्थानीय लाभान्वित


युग आव्हान
सुर्खेत ७ साउन
लाटीकोइली–१ चारकुनेको माथिल्लो भागमा संचालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले स्थानीयबासीन्दाको दैनिकिमा परिवर्तन ल्याएको छ । सुख्खा मौसममा पानीको अभाव हुँदा बाँझै हुने उक्त गाउँ अहिले तरकारी खेतीमय भएको छ । जिल्ला भू–संरक्षण कार्यालय सुर्खेत मार्फत संचालित उक्त कार्यक्रममा बर्षातको पानी संकलन गर्न चेक ड्याम निर्माण गरिएको छ । चेक ड्याममा जम्मा भएको पानी प्रयोग गरी उक्त गाउँ तरकारी खेती उत्पादनमा अगाडी आएको हो । आलु, काउली, टमाटर, बोडी, काँक्रो, सिमि, लौका सहितको तरकारी उत्पादन हुने गरेको छ ।

आर्थिक बर्ष २०६७÷०६८ देखि चुरे राष्ट्रपति कार्यक्रम लागु भएको थियो । जिल्ला भू–संरक्षण कार्यालय सुर्खेतको सहयोगमा फलाँटे खोला उपभोक्ता संरक्षण समिति लाटीकोइली–१ ले कार्यक्रमलाई कार्यान्वयन गरेको हो ।एक सय ७० घरधुरी रहेको चारकुने गाउँमा उक्त कार्यक्रम अन्तरगत सिचाईको लागि चेक ड्याम निर्माण, खोलामा जाली राखिएको छ । त्यसैगरी भिरालो ठाउँको पानीलाई बगेर खोलामा जाँदा भू–क्षय हुने भएकाले बर्षातमा तिव्र बेगमा झर्ने पानीलाई संकलन गर्न एक मिटर चौडाई र डेढ मिटर गहिराईका एक सय खाडलहरु खनिएको समितिका अध्यक्ष पद्यमा खड्काले जानकारी दिईन् ।
कार्यक्रम लागु नहुँदा विगतमा खोलाको पानी तिव्रगतिमा बग्ने हुँदा चारकुने डाँडाको माथिल्लो भागको माटो क्षयिकरण हुने गरेको स्थानीयबासीन्दाको भनाई छ । स्थानीय अगुवा नन्दलाल शर्माले भने–‘माथिल्लो सतहको माटोको संरक्षण हुनुका साथै लगाईको धानबाली समेत क्षति हुनबाट रोकिएको छ ।’ उक्त कार्यक्रम प्रभावकारी भएको भन्दै राष्ट्रिय योजना आयोग, भू–संरक्षण मन्त्रालयको केन्द्रीय टोलिले समेत पटक पटक अनुगमन गरिसकेको जनाकारी दिए ।
सानो–सानो चिरा परेको ठाउँमा त्यहाँको माटो रोक्न बाँसको चेक पहिलो बर्ष ४० वटा निर्माण गरिएको थियो । सिचाई चेक ड्यामको संरक्षण क्षेत्रमा बृक्षारोपण कार्यक्रम समेत गरिएको छ । जसमा खयर, रिठ्ठा, निम, कोइराला, साज, बाँस, सजिवल, अम्लिसो सहितका विरुवाहरु रोपिएको समितिका अध्यक्ष खड्काले जानकारी गराईन । चरिचरणबाट रोकावट गर्नका लागि त्यस गाउँका समूदालयलाई पिनट घाँस, मलैटो घाँस, निपियर घाँस रोपिएको छ । बर्षा समयको पानीलाई संकलन गरी पिउन र सिचाई  गर्न १२ वटा घरमा पानी संकलन टयाङ्की (घैटो) निर्माण गरिएको छ । पहिलो बर्ष तीन लाख आठ हजार चार सय रकम वरावर स्थानीयबासीन्दाको श्रमदान र भू–संरक्षण कार्यालयबाट गरी कुल ७ लाख ७१ हजार पाँच सय रकम खर्च गरिएको थियो ।आर्थिक बर्ष २०६८÷०६९ मा चुरे राष्ट्रपति कार्यक्रम अन्तर्गत एउटा चेक ड्याम निर्माण, फँलाटे खोलाको पाँच ठाउँमा जालितको चेक राखिएको छ । माटो बगिरहने सानो चिराहरुमा  एक सय मिटर बाँसको चेक राखिएको छ । बाँसको चेक राखिएको ठाउँमा अम्लिसो, किमुका विरुवा रोपिएको स्थानीयबासीन्दाले जानकारी दिए ।चेक ड्याम बनाईएको माथिल्लो भागमा आयआर्जनको स्रोत बढाउँन ६ हजार विरुवा अम्लिसो रोपिएको छ । गत आर्थिक बर्षमा ४० प्रतिशत जनश्रमदान सहित ६ लाख १५ हजार रकम खर्च भएको उपभोक्ता समूहका कोषाध्यक्ष कृपाराम रेग्मीले बताए ।जिल्ला भू–संरक्षण कार्यालय
 सुर्खेतले जिल्लाका अन्य ठाउँहरुमा संचालित कार्यक्रम भन्दा लाटीकोइली–१ चारकुनेमा संचालन गरिएको कार्यक्रममा स्थानीयबासीन्दाको सक्रियताका कारण गाउँ नमूना बन्दै गएको बताएको छ ।बर्षातको पानीले करिव दुई किलोमिटर क्षेत्रफलमा धानबाली लगाउन नमिल्ने गरी कटान गर्ने गरेको थियो । बर्षायाममा पनि सिचाई सुविधा नहुँदा रोपाई गर्न आकाशकै भर गर्नुपर्ने बाध्यता रहेको थियो । देउती वज्यै सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा हाल माटो, बोटविरुवा संरक्षण हुनुका साथै खोलाले माटो कटान प्रक्रिया समेत रोकिएको छ । बर्षातमा खोलाएर बगाएर ल्याएको माटोले  धानबाली समेत नष्ट हुने गरेकोमा त्यो प्रक्रिया भने राकिएको स्थानीय अगुवा शर्माले बताए ।व्यवसायीक तरकारी खेती, चेक ड्यामको पानी मार्फत सिचाई सुविधा हुने गरेको को समितिका उपाध्यक्ष धनबहादुर रावतले बताए । स्थानीयबासीन्दाको सक्रियता देखेर भू–संरक्षण कार्यालयले चालु आर्थिक बर्षमा थप कार्यक्रम संचालन गर्ने योजना बनाएको जानकारी  दिए । लेखपराजुल, हरिहरपुर, छिन्चु, लाटीकोइली, मेहलकुना, साहारे, मालारानी, मैनतडा, रामघाट, छिन्चु, तातापानी गाविसमा  राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन भएको छ । जस अन्तर्गत बृक्षारोपण, मुहान संरक्षण, पानी संकलन पोखरी, बेमौसमी तरकारी, कमखर्चमा भू–क्षय संरक्षण हुने प्रतिविधिका तालिमहरु संचालन गरिएको जिल्ला पशुसेवा कार्यालय सुर्खेतका शिखर चपाईले जानकारी दिए । ७० वटा समूहका १४ हजार घरधुरी लाभान्वित भएको छन् । ३५ हजार बढी स्थानीयबासीन्दाले रोजगारी प्राप्त गरेको भू–संरक्षण कार्यालयका शिखर चपाईले जानकारी दिए ।

No comments:

Post a Comment