Wednesday, August 29, 2012

विदेश जानेलाई घरमै परामर्श


बाँके, १३ भदौं । 
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन महिलाले गाउँमै परामर्श दिन थालेका छन् । इच्छुकलाई सहि सूचना र जानकारी दिएर कानुनी बाटो र्माफत विदेश जान परामर्श दिन थालिएको हो । 
बाँके, बर्दिया र सुर्खेत जिल्लामा महिलाले निःशुल्क रुपमा त्यसरी कानुनी तथा व्यावहारिक परामर्श दिन थालेका हुन् । तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयमा महिला परामर्शकर्ता नियुक्त गरिएका छन् । उनीहरुले पासपोर्ट तथा एमआरपी बनाउन आउने महिलालाई कुन बाटोबाट र कसरी विदेश जान लागेको भनेर चियो गर्छन । जानकारी अभावमा त्यसरी गइरहेकालाई फर्काउनेसमेत गरिएको छ ।
प्रशासन कार्यालय र तीन जिल्लाका ४० गाविसमा ५४ जना समुदायस्तरका परामर्शकर्ता नियुक्त गरिएका छन् । त्यस्तै वडा र टोलमा गरी १६२ जना कार्यरत छन् । उनीहरुले गाउँघरमा सुरक्षित वैदेशिक रोजगारीका लागि निःशुल्क परामर्श दिने गरेको सानोश्री—६ बर्दियाकी मन्जु शर्माले बताईन ।
साथी र प्लानेट इन्फेन्ट्सको साझेदारीमा तीन जिल्लामा ‘बेचबिखन नियन्त्रणका लागि सुरक्षित बसाइसराइ व्यवहारहरुको सशक्तिकरण कार्यक्रम’ सञ्चालन गरिएको हो । विदेश जानेहरुलाई रोक्न नसकिने तर, जाँदा कानुनी र सुरक्षित तबरले जान सल्लाह दिने गरिएको कार्यक्रमका संयोजक यमनाथ घिमिरेले बताए ।
उनका अनुसार दलालले भारतीय बाटो भएर गैरकानुनी ढङ्गले विदेश पठाउने घटना बढेपछि कर्मचारी नियुक्ति गरेर सल्लाह दिन थालिएको छ । पछिल्ला दिनमा दलालले आकर्षक पारिश्रमिक तथा विभिन्न प्रलोभनमा पारेर भारतीय बाटो हुँदै नेपाली महिलालाई खाडी तथा अन्य मुलुकमा जोखिमपूर्ण तरिकाले पठाउने गरेका छन् ।
गत वर्षमा माइती नेपालमा चेलीबेटी खोजीका लागि एक हजार ५२६ निवेदन परेका थिए । तीमध्ये ७० प्रतिशत खाडी मुलुकमा गएका महिला छन् । एक सय ९१ जना महिलामात्र फेला परेको र तीमध्ये पनि धेरै भारतबाट उद्धार गरिएको सो संस्थाले जनाएको छ । रासस

No comments:

Post a Comment