सुर्खेत, १२ भदौं ।
दुधको परीक्षणलाई कडाई गर्दा दुधको उत्पादनमा कमि आएको छ । किसानले उत्पादन गर्ने दुधको मात्रामा आधाभन्दाबढीले कमि आएको शितल डेरी उद्योगका संचालक प्रेम श्रीसले बताए । उनले भने ‘पहिलो दैनिक चार सय लिटर दुध आउँथ्यो तर अहिले मेरो डेरीमा दैनिक दुई सय लिटर मात्रै आउने गरेको छ ।’ दुध परीक्षण गरी गुणस्तरीय दुध मात्रै खरिद गर्ने गरेकाले किसानको दुध उत्पादनमा समेत आधा भन्दाबढी कटौती भएको उनले बताए ।
शितल डेरी उद्योग वीरेन्द्रनगर सुर्खेतले दुध प्रयोगाशाला संचालनमा ल्याएको छ । उपभोक्ता मञ्च, प्रशासनले गरेको अनुगमन पछि दुधमा गुणस्तरीयता नभएको भन्दै गुनासोहरु आउन थालेपछि दुध प्रयोगशाला स्थापना गरी संचालनमा ल्याईएको हो । शितल डेरीले करिव ३० हजारबढीको लगानीमा दुध प्रयोगशाला स्थापना गरेको छ ।
किसानहरुले दुधमा आवश्यकता भन्दाबढी पानी मिसाएर गुणस्तरहिन डेरीलाई विक्रि गर्ने भएकाले थप सजकता अपनाईएको हो । दुधमा ४ देखि ५.१ (फ्याट) चिल्लोपना हुन् राम्रो मानिन्छ । भैंसीको दुधमा ५.१ र गाईको दुधमा ४.५ (फ्याट) चिल्लोपना हुनु राम्रो मानिन्छ । पानीको मात्रा धेरै भएमा दुधको चिल्लोपना हराउँदै जान्छ ।
जिल्लामा देउती डेरी उद्योग र शितल डेरी उद्योगले प्रयोगशाला संचालनमा ल्याएका छन् । साप्ताहिक रुपमा किसानले दिएको दुध छुट्टा छुट्टै रुपमा गुणस्तरीयता परीक्षण गर्ने गरिएको छ ।
डेरी उद्योग एशोसियसन सुर्खेतले जिल्लाका क्षेत्र क्षेत्रमा दुध प्रयोगशाला स्थापना गर्ने योजना बनाएको छ । जिल्लामा रहेका २७ वटा दुध डेरी मध्ये अधिकांशले दुध परीक्षणनै नगरी खरिद, विक्रि गर्ने गरेका छन् । जिल्लामा दैनिक २५ सय लिटर दुधको खपत भैरहेको जनाईएको छ ।
डेरी उद्योग एशोसियसनका सदस्य समेत रहेका श्रीसले सुर्खेतमा बर्षेनी दुध उत्पादनको मात्रा घट्दै गएको र खपतको मात्रा बढ्दै गएको बताए । दुध परीक्षणको सुरुवात हुँदा जिल्लाका सबै डेरीहरुमा किसानबाट प्राप्त हुने दुध आधाभन्दाबढीले हवात्तै घटेको बताईएको छ । डेरी एशोसियसनले गुणस्तरीय दुध बजार सम्म पु¥याउन आफ्नो तर्फबाट समेत नियमित अनुगमन गर्ने योजना बनाएको जनाईएको छ ।
No comments:
Post a Comment