Friday, September 14, 2012

वीरेन्द्रनगर बहुमुखी प्रमुखमा तिवारी

सुर्खेत, २८ भदौ ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतको  प्रमुखमा सहायक प्राध्यापक लिलाधर तिवारी नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले तिवारीलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । विगत ६ महिनादेखि क्याम्पस प्रमुख विहिन भएको थियो ।
राजनीति खिचातानीले प्रमुख नियुक्त हुन नसक्दा क्याम्पसको शैक्षिक, प्रशासनिक तथा बाह्रय सम्झौताहरु रोकिएका थिए । व्यवस्थापन समितिले सर्वसम्मत रुपमा तिवारीलाई प्रमुखमा नियुक्त गरेको व्यवस्थापन समिति सदस्य टिकाराम आचार्यले जानकारी दिए ।

उनले भने ‘क्याम्पसमा प्रमुख सर्वसम्मत रुपमा नियुक्त गरिएको छ । अब क्याम्पसमा देखिएका समस्याहरु हल हुन्छन् ।’ विहिबार नियुक्ति भएका प्रमुख तिवारी २०६० सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । आंशिक प्रध्यापनबाट सेवा सुरु गरेका उनले २०६१ सालमा सहायक प्राध्यापक र ०६५ मा उप प्राध्यापकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
चार बर्षका लागि तिवारी क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट अर्थशास्त्र विषयमा एमए र हाल एमफिल अध्ययनरत तिवारी कल्याण—३ सुर्खेत हाल वीरेन्द्रनगर—१० मा वस्दै आएका छन् ।
टेलिफोन कुराकानीमा क्याम्पस प्रमुख तिवारीले क्याम्पसलाई शैक्षिक, प्रशासनिक रुपमा सबल बनाउने प्रतिवद्धता जनाए । उनले भने ‘संस्थामा प्रमुख नहुँदा रोकिएका कार्यलाई निरन्तरता दिन्छु । पहिले सुरु भएका कामलाई पूर्णता दिन्छु । सबैको साथ र सहयोग पाए शैक्षिक आन्दोलनलाई अगाडी बढाउँछु ।’  क्याम्पसकै काममा काठमाडौं पुगेका तिवारी शुक्रबारनै सुर्खेत फर्किने तयारी रहेको जानकारी दिए ।
पूर्व क्याम्पस प्रमुख डा. केशरसिंह राना मध्यपश्चिमाञ्चल विश्वविद्यालयको डिनमा नियुक्ति भएपछि बहुमुखी क्याम्पस प्रमुखविहिन बनेको थियो । राजनीतिक दलदेखि विभिन्न दलमा आस्था राख्ने प्राध्यापकहरुको चलखेलकै कारण लामो समयसम्म पनि प्रमुख नियुक्ति हुन सकेन ।
क्याम्पसमा प्रमुख नहुँदा क्याम्पसको प्रशासनिक कार्यमा मात्रै होइन, शैक्षिक र भौतिक संरचना निर्माणका काममा समेत बाधा सिर्जना भएका थिए । व्यवस्थापन समितिले प्रमुख नियुक्तिका लागि पटक–पटक पहल गर्दा पनि प्राध्यापकहरुबीचकै राजनीतिक खिचातानीले प्रमुख नियुक्त हुन सकेको थिएन ।
विशेष गरी काँग्रेस निकट प्राध्यापकहरुको बाहुल्यता रहेको क्याम्पसमा काँग्रेस र एमालेनिकट प्राध्यापकहरुबीच प्रमुखको लागी खिचातानी हुँदै आएको थियो । जिल्लास्थित प्रमुख राजनीतिक दलहरुनै क्याम्पसमा आफु निकट व्यक्तिहरुलाई प्रमुख बनाउन हदै सम्मको प्रयास गरेका थिए । क्याम्पस प्रमुखविहिन हुँदा करोडौँको अवसर समेत गुमाउँदै गएको थियो । बाह्रय सम्झौताहरु रोकिएका थिए । विश्व बैंकले विश्वविद्यालय अनुदान आयोगमार्फत दिने भनेको करोडौं रकम गुमाउने अवस्थामा पुगेको थियो । अब रोकिने भएको छ ।
क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर विकासका लागि विश्व बैंकले विश्वविद्यालय अनुदान आयोगमार्फत दिने भनेको १६ करोडमध्ये २ करोड मात्रै खर्च भएको छ । २०६५ बाट सञ्चालित उक्त परियोजना अन्र्तगत क्याम्पसले ५ वर्षभित्रमा क्याम्पसको भौतिक संरचनाको विकासका साथै शैक्षिक गुणस्तर समेत विकास गरी विश्वविद्यालय स्थापना तथा प्रमाणपत्र तह हटाउनुपर्नेछ । तर, वीरेन्द्रनगर बहुमुखि क्याम्पसले परियोजना सकीन एक वर्ष मात्र बाँकी रहँदा पनि परियोजनाको लक्ष्य अनुसारको काम गर्न सकेको छैन् ।
दोस्रो उच्च शिक्षा परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत कामका आधारमा विश्व बैंकले दिने सवा १६ करोड रुपैयाँमध्ये परियोजना सञ्चालन भएको ४ वर्षमा करिब २ करोड रुपैयाँ मात्रै खर्च भएको छ । परियोजना २०७० साउनमा सम्पन्न हुनेछ । उक्त अवधिसम्म परियोजनाको लक्ष्य अनुसार काम नभए बैंकले दिने भनेको रकम उपलब्ध गराउने छैन । परियोजना कार्यान्वयन गर्न एक वर्ष मात्रै बाँकी रहेको छ । यो एक वर्षमा जतिसक्यो छिटो काम गर्न आवश्यक छ ।
उक्त परियोजना अन्तर्गत क्याम्पसको भौतिक विकास र क्षमता अभिवृद्धिका लागि बैंकले अनुदान रकम उपलब्ध गराउनेछ । जसमा क्याम्पसले गरेको कार्य, नतिजा, पढाइको स्तर, भर्ना संख्या, छात्रवृत्तिको प्रकृति आदी हेरेर रकम दिने जनाइएको छ । तर, परियोजनाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत हालसम्म क्याम्पसमा कार्यरत दुई जना प्राध्यापकले एमफिलको अध्ययन गरिसकेका छन् भने दुईजना विद्यावारिधी र ४ जना एमफिल तहमा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।
त्यस्तै मल्टिमिडिया प्रोजेक्टरबाट अध्यापन गराउनग २० जना प्राध्यापकहरुलाई निःशुल्क ल्यापटप उपलब्ध गराइएको छ । इ–लाइबे्ररिको लागि मेसिन ल्याइपनि प्रयोगमा आउन सकेको छैन । खरिद तथा निर्माण योजना उपसमिति गठन नहुँदा आयोगले निर्माणको लागि रकम समेत दिएको छैन । पुस्तकालय भवन र प्रशासनिक भवनको लागि सम्झौता हुन नसक्दा १ करोड ६५ लाख रुपैयाँको टेण्डर भए पनि काम भएको छैन् । अघिल्लो पटक ३० प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको क्याम्पसले यस पटक २७ प्रतिशत मात्रै उत्तिर्ण गराएको छ ।

No comments:

Post a Comment