Tuesday, September 18, 2012

खाद्य संस्थानका चारवटै डिपो ‘निल’

गाउँमा खाद्यान्न संकट, सदरमुकाममा मौज्जाद
रामकुमार शाही
जाजरकोट, २ असोज ।

जाजरकोटका डेढ दर्जन बढि गाउँ विकास समितिहरुमा चरम खाद्यान्न संकट देखिएको छ । प्रायः खाद्यान्न नपुग भईरहने जाजरकोटका भगवती, रग्दा, खगेनकोट, लहँ, नायकवाडा, रोकायगाउँ, लिम्सा, सक्ला, ढिमे, पजारु, दशेरा, सीमा, जुंगाथापाचौर, अर्छानी, टालेगाउँ, थालारैकर, पैँक, झाप्रा लगायतका गाविसहरुमा खाद्यसंकट देखिएको हो । उक्त क्षेत्रमा खाद्यान्न संकट देखिएपनि नेपाल खाद्य संस्थानको शाखामा भने चामल विक्रि नभएर थन्किएको छ ।

कुल १६ हजार ६ सय ९८ हेक्टर खेतियोग्य जमिन रहेको जाजरकोटमा यस वर्ष समयमा पानी नपर्दा मकै उत्पादन घटेकाले खाद्यसंकट झनै चरम भएको हो  । जिल्लाको पूर्वि क्षेत्रमा खाद्यान्न पूर्ति गर्ने उद्देश्यले रग्दा गाविसको चौखा, उत्तरी क्षेत्रको लागि नायकवाडा गाविसको घाट, उत्तरपश्चिमी क्षेत्रका लागि पजारु गाविसको घोगि र पश्चिम क्षेत्रको लागि दशेरा गाविसको दशेरामा नेपाल खाद्य संस्थानका चार डिपोहरु स्थापना गरिएको छ । तर ती डिपोहरुमा चामल सकिएको पूरा दुई महिना भएको छ । अघिल्लो आर्थिक वर्षको लागि ल्याईएको चामल सकिएको र यस वर्षका लागि चामल पु¥याउन ढिलाई भएपछि उक्त डिपोहरु ‘निल’ भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोटका प्रमुख रामबहादुर बमले बताए ।
जिल्लामा रहेका खाद्य संस्थानका चार डिपोहरु ‘निल’ छन् तर सदरमुकाममा रहेको शाखा कार्यालयमा भने आवश्यक मात्रामा चामल विक्रि नहुँदा राख्ने ठाउँको समेत अभाव भएको छ । हाल कार्यालयमा करिब एक हजार क्वीन्टल बढि चामल मौज्जाद रहेको कार्यालय प्रमुख बमले जानकारी दिए । उनले भने, ‘गाउँमा खाद्यसंकट परेको खबर आउँछ तर यहाँ हामीसँग चामल मौज्जाद छ ।’
टेन्डर प्रक्रियामा ढिलाई भईरहेकाले सम्बधित डिपोहरुमा चामल पु¥याउन नसकिएको कार्यालयले जानकारी दिएको छ । यसवर्ष सरकारले जाजरकोटका चारवटा डिपोमा ८÷८ सय क्वीन्टलका दरले तीन हजार दुई सय र शाखा कार्यालयमा चार हजार दुई सय गरी जम्मा सात हजार चार सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ ।
यो भन्दा अगाडि खोलिएको टेन्डरमध्येमा दशेरा र घोगि डिपोको टेन्डर सदर भईसकेको छ भने चौखा र घाट डिपोका लागि सदर नभएपछि पुनः टेन्डर आह्वान गरिएको छ । दशेरा र घोगि डिपोमा तत्काल दुई÷दुई सय क्वीन्टलका दरले चामल पु¥याउने तयारी भईरहेको कार्यालयले बताएको छ । बाँकी दुई डिपोमा दशैँसम्म पु¥याउने लक्ष्य रहेको छ । अघिल्लो आवमा केहि ठेकेदारहरुले राजनीतिक आडमा सम्बन्धित डिपोमा आवश्यक खाद्यान्न नपु¥याएपछि स्थानीयले खाद्यसंकट व्यहोर्नु परेको  थियो । यसवर्ष त्यस्तो हुन नदिने कार्यालय प्रमुख बमले प्रतिवद्धता जनाए ।
गाउँमा खाद्यान्न सकिएपछि केहि स्थानीयहरुले खच्चडमा महंगो ढुवानी भाडा तिर्दै चामल लिने गरेका छन्  । खच्चड लिएर चामल लिन आएका ढिमे–७, का वीरबहादुर सिंहले समयमा पानी नपर्दा मकै उत्पादन राम्रो नभएपछि खाद्यन्न अभाव भएको बताए । सिंहले थपे,‘गाउँमा खाने केहि छैन । ढुवानी धेरै लागेपनि चालम लिन खच्चड लिएर यहिँ पुगेको हुँ  ।’
यता संस्थान प्रमुख बमले भने स्थानीयहरु सोचेको मात्रामा कार्यालयमा सेवा लिन नआएको बताए । ‘विदाको दिन बाहेक हप्तामा पुरै दिन चामल वितरण गर्ने गरेका छौँ’ कार्यालय प्रमुख बमले भने,‘तर सेवाग्राहीहरु औँलामा गन्न सकिने मात्र आउँछन् ।’ कार्यालयमा चामल लिन आउनेहरु मध्येमा रुकुमको पूर्तिमकाँडा गाविसका स्थानीय पनि रहेको बमको भनाई छ । गाउँलेहरु स्थानीय व्यापारीसित चर्काे मूल्यमा चामल किन्ने तर कार्यालयमा आउन अल्छि गर्ने गरेको प्रमुख बमले बताए । व्यापारीहरुले मौकाको फाईदा उठाएर चर्काे मूल्य अशुली रहेको बमको दावी छ । हाल जापानिज चामल मात्र वितरण गरिरहेको कार्यालयले प्रतिकिलो ३१ रुपैयाँ ४० पैसामा उपलब्ध गराउँदै आएको छ ।
संस्थानको अञ्चल कार्यालय नेपालगञ्जले पठाएको दुई सय तीस क्वीन्टल चामल केहि गुणस्तरहिन भएको र उक्त चामल फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा जिल्ला खाद्य अधिकार सञ्जालको बैठक बसेर निर्णय गरिने कार्यालय प्रमुख बमले बताए ।
त्यसलाई पुनः प्रयोगमा ल्याउन सकिने समेत उन्को भनाई छ । प्रमुख बमले थपे, ‘त्यो चामल केहि गुणस्तरहिन मात्र हो तर प्रयोग नै गर्न नमिल्ने भने होईन । यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।’
आर्थिक वर्ष २०६७÷०६८ मा जाजरकोटमा ११ हजार ८ सय ३५ मेट्रिक्टन खाद्यान्न अपुग भएको थियो भने आर्थिक वर्ष २०६८÷०६९ मा ११ हजार ४ सय ६३ मेट्रिक्टन खाद्यन्न अपुग भएको थियो । अघिल्लो अर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०६८÷०६९ मा केहि मात्रामा खाद्यान्न पुर्ति भएपनि यो आर्थिक वर्ष २०६९÷०७० सालमा भने वर्षातका कारण खाद्यान्न उत्पादन स्वतः कम हुने र चरम खाद्य संकट व्यहोर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष जिल्लामा २५ प्रतिशत खाद्य उत्पादन घट्ने कार्यालयको अनुमान छ ।

No comments:

Post a Comment