Tuesday, September 18, 2012

कर्णालीबासीका लागि सडकै अभिषाप

सडक विकास निर्माणको आधारभूत पूर्वाधार हो । सडक सञ्जाल विस्तार विना विकास निर्माणको कल्पना गर्न सकिन्न । कर्णाली पनि नेपालको सबै भन्दा पछाडि परेको भूगोल हो । त्यसैले यहाँ सडक पुग्नुलाई ठुलो उपलव्धीका रुपमा हेरिएको थियो । तर यही सडक कर्णालीबासीका लागि अभिषाप बनिरहेको छ ।
कर्णालीबासीले गाउँमा गाडी देख्न दसैंको प्रतिक्षा गर्नुपथ्र्याे । यही विषय तत्कालीन राजादेखि राजनीतिक दलको प्रमुख चुनावी मुद्दा पनि बन्यो । जसोतसो सडक र्निमाण सुरु भएपछि पनि तीन दशकको पर्खाईपछि धुले सडकसँगै कर्णालीबासीले गाडी देखे । राजनीतिक खिचातानी र भागबण्डाकाबीच ट्रयाक खोल्ने काम गरियो । यही विषयलाई कर्णालीमा राजमार्ग पुगेको दंगा पनि पिटियो ।

बाँदर झुण्डेझैं भिरमा झुण्डिएर गाडी हिड्नुपर्ने धुले सडकमा धमाधाम दुघर्टना हुन थालेपछि कर्णालीबासीले गुमाउने क्रम बढेको छ । सडक आएको खुसी केही वर्षमै शोकमा परिणत भएको छ । कर्णाली राजमार्ग नामको धुले सडकमा गाडी गुड्न लागेपछि मात्रै १ सय ९३ जनाले ज्यान गुमाएका छन् । यो भन्दा धेरैको अङ्गभङ्ग भएको छ । तैपनि दुर्घटनाको कारण खोजिएको छैन । दुर्घटना रोक्ने प्रयास कतैबाट हुन सकेको छैन । कर्णालीबासीलाई मात्र होइन, सबैलाई थाहा छ, दुर्घटना रोक्न साँघुरो बाटो तत्काल विस्तार गर्नुपर्छ । चाँडै पक्की बनाउनुपर्छ । तर, यसको कतैबाट सुनुवाई नभएपछि यतिबेला कर्णालीबासीले सडकलाई नै अभिषाप ठान्न थालेका छन् ।
दशकौं सडकको प्रतिक्षामा बसेकाहरु नै सडक बन्द भइदिए पनि हुन्थ्यो भन्न थालेका छन् । सबैतिरबाट विभेदको शिकार बनेको कर्णालीमा गाडी पुगेको हल्ला सिंहदरबारबाट फिजाउनु थियो । त्यसैले सेनाको सहयोगमा २०६३ सालमा कर्णालीमा बाटो पुगेको प्रचार गरियो । वर्षाै देखि गाडी हर्ने र चड्ने सपना बोकेका कर्णालीबासीले पनि आफ्नो घर खेत बेचेर त्यसैमा लगानी गरे । तर, बाँदर पनि लड्ने बाटो बनेपछि कर्णालीबासीको सपना मात्र होइन, ज्यानै तिलाले बगाउने गरेको छ । सुर्खेतदेखि जुम्लासम्म जम्मा २ सय ३२ किलो मिटरको दूरी छ ।
सुर्खेतको बाङ्गेसिमलदेखि जुम्लासम्म यात्रा गर्दा इश्वरलाई सम्झिदा सम्झिदै यात्रा गर्नुपर्छ । सकुशल रहे चार घण्टाको बाटोमा करिव ३ दिन लाग्छ जुम्ला पुग्न । २०६३ चैत ३० गते (ट्रयागक ओपन) भएपछि सुर्खेत–जुम्ला खण्डमा डेढ सय भन्दा बढी गाडी दुर्घटनामा परेका छन् । सबैभन्दा बढी ८३ दुर्घटना कालीकोटखण्डमा मात्र भएका छन् । दैलेखमा २७ र जुम्लामा १९ दुर्घटना भएका छन् भने अन्य सुर्खेतको बाङगेसिमलदेखि कल्याणकाँधसम्मको सडकखण्डमा भएका छन् ।
दुर्घटनामा हाल सम्म १ सय ९३ जनाले ज्यान गुमाएका छन् भने  ८३ जना अपांग भएका छन् । अधिकांश दुर्घटना सेनाले निर्माण जिम्मा लिएको दैलेखको साइगाउँ देखि कालिकोटको राचुली छिडेनासम्मको ८८ किलोमिटरसडक खण्डमा भएका छन् । विष्पोटक प्रदार्थ प्रयोग गरी निर्माण गरिएकाले पहाडहरु खस्दै बाटो पुरिएकाले पनि दुर्घटना बढेको अनुमान गरिएको छ ।
त्यसको पछिल्लो उदाहरण हो, गत सोमबार भएको कालीकोटको पाखा गाविसको विर्तामोडमा ना ४ ख ६८७७ नम्बरको बस दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाए । यस्तै भयानक दुर्घटना भएको थियो । त्यतिबेला पनि २५ बढीले ज्यान गुमाएका थिए । कालिकोटबाट सुर्खेत जाँदै गरेको काँक्रेबिहार यातायातको ना ३ ख ५८६८ नं को यात्रुबाहक बस कर्णाली नदीमा खस्दा ४१ जनाको घटनास्थलमै ज्यान गयो । दुर्घटनाहरुको तथ्याङ्क लामो छ । मृतकको लिस्ट पनि लामो छ । मृतकको लिस्टसँगै धेरै टुहुरा र विधवाहरुको लिस्ट पनि जोडिएको छ ।
कुनै विमान धावनमार्गमा चिप्लँदा छानविन आयोग वा समिति गठन गर्ने राज्य यतिधेरै नेपालीले ज्यान गुमाइरहँदा किन कारण खोजेर निराकरणतिर लागिरहेको छैन । यो प्रश्न कर्णालीबासीको मात्र होईन सिंगो नेपालीको हो । त्यसैले कर्णालीबासीका लागि अभिषाप बनेको धुले सडकमा निरन्तर भइरहेको दुर्घटना रोक्न वा न्युन गर्न राज्यले गम्भीर पहल थाल्नैपर्छ ।

No comments:

Post a Comment