Saturday, September 1, 2012

ग्रामिण क्षेत्रमा भाईरल ज्वरोका विरामी बढे


गोविन्द खत्री
सुर्खेत, १६ भदौ ।
सुर्खेत जिल्लामा रहेका निजि तथा सरकारी अस्पतालहरुमा विरामीहरुको चाप बढेको छ ।
अन्य छिमेकी जिल्लाहरुमा भाईरल ज्वरोले प्रकोप लिईरहेको बेला सुर्खेतमा पनि भाईरल ज्वरो, रुघा खोकी, पखाला र आँखा पाक्ने लगायतका बिरामीहरुको चाप  बढेको सुर्खेतका नीजि तथा सरकारी अस्पतालहरुले जानकारी दिएका छन् ।
जिल्लाका अधिकांस अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दैनिक एक सय भन्दा बढी भाईरल ज्वरोका बिरामीहरु आउने गरेका छन् । जिल्लाको उत्तर पूर्वमा रहेको ईलाका स्वास्थ्य चौकी मटेलामा दैनिक एक सय भन्दा वढी विरामीहरु भाइरल ज्वरोका आउने गरेको  र दैनिक पाँच जना भन्दा बढीलाई भर्ना गरेर उपचार गर्नुपर्ने स्वास्थ्य चौकीका अहेब ज्ञानु शाहीले जानकारी दिएका छन् । 
त्यस्तै दशरथपुर स्वास्थ्य केन्द्रमा दैनिक ९० जना भन्दा बढी बिरामीहरु भाईरल ज्वरोका मात्र आउने गरेको र दैनिक सात जना भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य चौकीमै भर्ना गरेर उपचार गर्नपरेको र एक दुई दिन उपचार पछि घर जाने गरेको स्वास्थ्य चौकीका अनमी मिथुला श्रेष्ठले जानकारी दिएकी छन् । 
जिल्लाको पश्चिममा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा पनि शुक्रबार मात्रै एक सय २५ जना भन्दा बढी बिरामीहरु भाईरल ज्वरोका आएको स्वास्थ्य केन्द्रका सिनियर अहेब डिल्लीराम सापकोटाले जानकारी दिएका छन् । जिल्लाको पूर्बमा रहेको बजेडीचौर स्वास्थ्य चौकीमा दैनिक ८० भन्दा बढी भाईरल ज्वरोका बिरामीहरु आउनेगरेको र दैनिक चार—पाँच जना बिरामीहरुलाई स्वास्थ्य केन्द्रमै राखेर  एक÷दुई दिनको उपचार पछि घर फर्कने गरेको स्वास्थ्य केन्द्रका अहेब महेन्द्रकुमार चन्दले जानकारी दिएका छन् । 
काप्रिचौर स्वास्थ्य चौकीमा दैनीक ६० जना भन्दा बढि भाईरल ज्वरोका  विरामी आउने गरेको स्वास्थ्य चौकीका इन्चार्ज केशवप्रसाद ढकाले जानकारी दिएका छन् । यस्तै जनकल्याण मावि काप्रिचौरमा ज्वरोका कारण विद्यालयमा उपस्थित हुने विद्यार्थीहरुको संख्या समेत घटेको विद्यालयका शिक्षक चन्द्रप्रकाश थापाले जानकारी दिएका छन् । ज्वरोका कारण सबै भन्दा बढी एक बर्ष मुनिका बालवालिका, स्कुले विद्यार्थी र बृद्ध बृद्धाहरु प्रभावित भएको अस्पतालहरुले जानकारी दिएका छन् ।
अधिकांश स्वास्थ्य चौकीहरुले सामान्य विरामीका लागि औषधि जेनतेन पु¥याईएको र भाईरल ज्वरोका बिरामीहरुलाई सुई मेडिकलहरुबाट किन्नु पर्ने बाध्यता रहेको बताइएको छ । साथै बेड संख्या कम भएकाले भुईमा राखेर समेत उपचार गर्नुपरेको जनाइएको छ । 
जिल्लाका अधिकांस स्वास्थ्य चौकीहरु एवंम् अस्पतालहरुमा रुघाखोकी, पखाला टाउको दुख्ने र आँखाका बिरामीहरु समेत बढेको अस्पताल तथा स्वास्थ्य चौकीहरुले जानकारी दिएका छन् । यता जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले भने  भाईरल ज्वरोलाई बिक्राल रुप लिन नदिन उच्च सर्तकता अपनाएको जनाएको छ । 
अहिले जिल्लामा औषधि अभाब नभएको र बर्षाको समय भएकाले ढुवानी समस्याले गर्दा कतिपय ठाउँहरुमा भनेको बेलामा औषधि पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले बताएका छन् । यस्तै जिल्लाका मटेला र अवल्चिङ्ग गाविसको सिमानामा रहेको दैलेख लालिकाँडामा भाईर ज्वरोले प्रकोप लिए संगै पूर्व सर्तकताका साथ  शुक्रबार थप औषधि पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका  प्रमुख गौतमले जानकारी दिए । 
बाटोको समस्याका कारण शनिबार सम्म पनि औषधि आई नपुगको ईलाका स्वास्थ्य चौकी मटेलाका अहेब ज्ञानु शाहिले जनाएका छन् । यस्तै पटक पटक स्वास्थ्यकर्मीहरु सँग सम्पर्क भईरहेको र समस्या आएमा उपचारका लागि कार्यालयले थप पहल गर्ने समेत प्रमुख गौतमले बताए ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले भाईरल ज्वरोबाट बच्नका लागि चिसोमा नजाने, मनतातो झोलिलो खानेकराहरु खाने, तातो लुगा लगाएर बस्ने, दुद्य खाने बच्चाहरुलाई प्रशस्त मात्रामा आमाको दुध खुवाउनुपर्ने बताएको छ ।

No comments:

Post a Comment