सुर्खेत, १५ असार ।
जन उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरको विद्यालय व्यवस्थापन समिति छनौटमा किचलो भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित अन्य सदस्यमा सहमति हुन नसकेपछि किचलो झन बढेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि पाँच जना र अन्य सदस्यका लागि २२ जनाको उमेदवारी परेको छ । अध्यक्ष, महिला सदस्य र अन्य सदस्य सहित २७ जनाको उमेदवारी परेको छ । शुक्रबारदेखि सुरु भएको व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन प्रक्रिया सहमति हुन नसक्दा टुङगिएको छैन् ।
अध्यक्ष पदको सर्वसहमतिका लागि शनिबार बिहानै देखि भएको सहमति प्रयास दुई जनाले नछोडेपछि लम्बिएको छ । पाँच जनामा दुई जनाले गोविन्द कोइरालालाई समर्थन दिएपनि अर्का उमेदवार कृष्णबहादुर वस्नेतले निर्वाचन प्रक्रियामा सहभागि हुने तर सहमति नगर्ने बताएपछि छनौट प्रक्रिया लम्बिएको हो ।
अध्यक्षका लागि कोइराला, वस्नेत सहित ज्ञानबहादुर नेपाली र उपेन्द्रमान खड्काको उमेदवारी रहेको छ । खड्का र नेपालीले कोइरालालाई समर्थन गर्ने बताएका छन् । अध्यक्षका लागि निर्वाचनमै सहभागि हुने घोषाणा गरेका कोइराला नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हुन भने वस्नेत निवृत्त निजामति कर्मचारी हुन् ।
दुवै जनाले अभिभावकको बैधानिकताका विषयमा ठूलै प्रयास गरेको जनाईएको छ । सेडा स्कुल जर्वुटा—१ अध्ययनरत छोरालाई यसै शैक्षिक सत्र देखि कक्षा—६ मा कोइरालाले जन उच्च माविमा भर्ना गराएको स्रोतले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन र उमेदवारीका विषयमा ठूलै चलखेल भएको छ । अध्यक्षका अर्का उमेदवार वस्नेतलाई अभिभावकबाट समेत बञ्चित गराउन विभिन्न प्रयास सहित अभिभावकको सूचिबाटै हटाईएको स्रोतले जानकारी दिएको छ । उनका छोरा जन उच्च मावि कक्षा ११ मा अध्ययनरत रहेका छन् । अभिभावकको सूचिमा उनको नाम नपरेपछि वस्नेतले विद्यालयका सम्पूर्ण कागजात, प्रमाण पेश गरी जिल्ला शिक्षा कार्यालयबाट अभिभावकको प्रमाणित पत्र ल्याएका छन् ।
जिल्ला शिक्षा कार्यालयका प्रतिनीधि सहितको निर्वाचन कमिटीले सहमतिका लागि एक हप्ताको समय तोकेको छ । नयाँ नेतृत्व छनौटका लागि भएका प्रयास समेत असफल भएपछि सहजिकरण समिति गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवकुमार सुवेदीको संयोजकत्वमा प्राचार्य यामबहादुर श्रेष्ठ, छिमेकी विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दाहाल र भूमिसरा चपाई सहितको सहजिकरण समिति गठन गरिएको छ । समितिलाई उमेदवारहरुसंग छलफल, समन्वय गरी सहमतिमा नयाँ नेतृत्व टुङग्याउने जिम्मेवारी तोकिएको छ ।
यसैवीच व्यवस्थापन समिति गठन नियमावली विपरित उम्मेदवारी दिएका कोइराला र खड्काको विरुद्ध उजुरी परेको छ । निर्वाचन समितिका अनुसार कोइराला र खड्का विद्यालयका वास्तविक अभिभावक नभएकोले उनीहरुको उम्मेदवारी खारेज गर्न सो उजुरीमा माग गरिएको छ ।
शिक्षा विभागको २०७० जेठ २३ गतेको परिपत्र अनुसार नक्कली अभिभावक भएमा एवंम् तोकिएको समूहबाट प्रतिनीधितव नभएमा तत्काल जिल्ला शिक्षा कार्यालयले सम्बन्धित व्यक्तिलाई हटाउन सक्नेछ । त्यसैगरी विद्यार्थी नियमित नरहे अनियमित अवधि एकीन गरी अभिभावक र विद्यालय व्यवस्थापन समितिबाट पनि हटाउन विभागले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।
No comments:
Post a Comment