Saturday, June 29, 2013

१० औं धान दिवस मनाईयो

सुर्खेत, १५ असार ।
एक कार्यक्रमवीच दशौं धान दिवस मनाइएको छ । ‘धान उत्पादनमा बृद्धि राष्ट्रिय अर्थतन्त्रको मम्मृद्धि’ भन्ने मूल नारा सहित असार १५ मा धान रोपाईँ गरी धान दिवस मनाइएको जिल्ला कृषि विकास प्रमुख विजयकुमार गिरीले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय र मनिकापुर कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा लाटीकोइली—३ मनिकापुरका कृषक हर्कबहादुर खत्रीको १ कठ्ठा खेतमा रोपाईँ गरी धान दिवस मनाइएको गिरीले जानकारी दिए । 
त्यसैगरी अखिल नेपाल किसान महासंघ सुर्खेतको आयोजनमा सामूहिक धान रोपी दिवस मनाईएको छ । किसान महासंघ केन्द्रीय सदस्य विनोद ढकालको नेतृत्वमा सामूहिक रोपाई कार्यक्रम सम्पन्न भएको हो ।

उता प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले खेतमा धान रोपेर रोपाईँको उद्घाटन गरेसँगै स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षत्री, जिल्ला प्राविधिक कार्यालयका डि.इ रेवतीरमण पराजुली, रक्तकाली गणका एसपी फणेन्द्र बस्नेत, आयोजना प्रमुख राजेन्द्र भारी लगायतले पञ्चे बाजाको धुनमा खेतमा धान रोपाईँ गरेका थिए ।
नेपाल सरकार मन्त्री परिषद्ले २०६१ साल मंसिर २९ गते असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गरेपछि सरकारले विभिन्न नारा सहित असार १५ लाई धान दिवसका रुपमा मनाउँदै  आइरहेको छ ।
यस वर्ष मनसुनले साथ दिएकाले धान दिवससम्म आईपुग्दा सुर्खेतमा १५ प्रतिशत भन्दा बढी रोपाईँ भइसकेको कृषि प्रमुख गिरीले बताए । उनले सुर्खेतको पूर्वमा २० प्रतिशत र उत्तरी भेगमा ८० प्रतिशत रोपाई भइसकेको उल्लेख गर्दै सुर्खेत उपत्यकामा भने अपेक्षाकृत रोपाईँ नभई १५ प्रतिशत मात्र रोपाईँ भएको बताए । गिरीका अनुसार असार १५ अर्थात धान दिवसका दिन भने जिल्लाभर ३ प्रतिशत रोपाईँ हुनसक्ने जानकारी दिए । 
राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक उपलब्धी दिने धानबाली नेपालकै कुल ग्रार्हस्य उत्पादनमा ७ प्रतिशत योगदान रहेको बताउँदै कृषि प्रमुख गिरीले वर्षेनी नेपालमा ९० अरब मूल्य बराबरको धान उत्पादन हुने बताए । उनले नेपालको अन्न उत्पादन गरिने जमिन मध्ये ५५ प्रतिशत धानखेती गरिने जनाए । 
नेपालको मुख्य बालीका रुपमा मानिने धानबाली देशको हिमाल, पहाड र तराई सबै ठाउँमा लगाइने  उल्लेख गर्दै गिरीले वर्षातको समयमा १५÷२० दिनमात्रै मेहनत गरियो भने मात्रै पनि यति धेरै उत्पादन गर्न सकिने बताए । 
गिरीले धान दिवसलाई रोपाईँ महोत्वसको आधार बनाएर कृषि पर्यटनका रुपमा आकर्षण गर्न सके यसले राष्ट्रिय अर्थतन्त्रमा अत्यन्त सकारात्मक उपलब्धि दिनसक्ने उल्लेख गरे । १० औं धान दिवसमा सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि लगाएत स्थानीय कृषकहरुको उपस्थिति रहेको कार्यक्रममा बाजागाजा सहित धान रोपाईँ गरिएको थियो । असार १५ लाई नेपाली कृषकहरुले धान रोप्ने महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन् । 

No comments:

Post a Comment