तीन महिने गलैचा बुनाई तालिमको आईतबार वीरेन्द्रनगरमा एक औपचारीक कार्यक्रम गरी समापन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजना र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको तर्फबाट जि.आई.जेड को सहयोगमा फागुन १ गतेबाट तालिम सुरु गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै घरेलु विकास समिति सुर्खेतका प्रमुख तथा उद्योग अधिकृत सुन्दर थापाले तालिममा सिकेको सीपलाई प्रयोग गरी आय—आर्जन गर्न सक्नुपर्ने बताए । कुनै पनि कुराको तालिम सञ्चालन गर्नु मात्रै महत्वपूर्ण कुरा नभएपनि तालिम पश्चात सिकेका ज्ञानलाई कत्तिको सदुपयोग गरियो भन्ने विषय महत्वपूर्ण हुने थापाले बताए ।
तालिम दिन विभिन्न संघ—संस्थाहरुले अग्रसरता देखाएपनि तालिम पश्चात दिईने सेवाका विषयमा ध्यान नदिँदा साना उद्योग सञ्चालनका लागि दिने तालिम पश्चातको नतिजा सन्तोषजनक नभएको अधिकृत थापाको भनाई थियो । साना उद्योगहरुले उत्पादन गरेका सामानहरु देश भित्र र विदेशमा समेत विक्रिवितरण गरी समग्र आर्थिक समृद्धिमा सहयोग पु¥याउने थापाले बताए ।
विकास समिति सरकारी गैरसरकारी तथा निजी संघ–संस्थाहरुसंग सहकार्य गर्न तयार भएको बताउँदै उनले साना तथा घरेलु उद्योगहरु सञ्चालमा ल्याए स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुग्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य डिल्लीप्रसाद पाण्डेले गलैचा बुनाई तालिममा सहभागीभई सीप सिकेकाहरुलाई रोजगारीका लागि गलैचा उद्योग स्थापनाको तयारीमा रहेको बताउँदै तालिम प्राप्त जनशक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने बताए ।
महासंघको लक्ष्य भने टोलटोलमा सामाग्री वितरण गरी गलैचा बुनाई उद्योग सञ्चालनमा ल्याउने र घरघरमा रोजगारीको सृजना गर्ने रहेको बताए । जि.आइ.जेडका समावेसी आर्थिक कार्यक्रम क्षेत्रीय व्यवस्थापक निवेदन बैद्यले उद्योग सञ्चाल गरी आयआर्जनमा सहयोग पुगेमा सहयोग निरन्तरता दिने बताए ।
तालिममा सहभागी विमला खत्रीले गलैचा बुनाई तालिमबाट आयआर्जनको आशा पलाएपनि सामग्रीको आवश्यक्तामा उत्पादन र विक्रि वितरणमा अप्ठेरो हुने शंका ब्यक्त गर्दै उनले थप सहयोग गरी उद्योगी बनाउन सम्बन्धीत निकालयले ध्यान दिनुपर्ने बताईन् ।
अर्की सहभागी मिना केसीले आफूहरुलाई उद्यमी बन्नका लागि थप आधारभूत तालिमले मात्रै नपुग्ने भन्दै थप सहयोगको आवश्यकता रहेको बताईन् । महासंघका अध्यक्ष चन्द्र विसीले महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरी विभिन्न आय—आर्जनमूलक तालिमहरु सञ्चान पश्चात उनीहरुलाई उद्यमी बनाउने महासंघको उद्देश्य रहेको बताए । सीपको विकास गरी साना तथा घरेलु उद्योगहरुको स्थापना गर्नुका साथै आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने उनको भानाई थियो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment