Saturday, June 29, 2013

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नुपर्ने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न राजनीतिक हस्तक्षेप गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । विश्वविद्यालयका पदाधिकारीहरु समस्या समाधान गर्न गैरजिम्मेवार भएकाले जिल्लाका सम्पूर्ण राजनीतिक शक्तिहरु एक भएर हस्तक्षेप गर्नुपर्ने सहभागिहरुको भनाई थियो ।
“विश्वविद्यालयका पदाधिकारी असक्षम भए, उनीहरुले क्षमताले सकेन, विगतमा विश्वविद्यालय बनाउन जिल्लाका सम्पूर्ण राजनीतिक शक्ति एक भएजस्तै पुनः सबै दल एक भएर विश्वविद्यलायका समस्या समाधान गर्नुपर्छ” कार्यक्रमका सहभागिको भनाई थियो ।
नेपाल बुद्धिजिवि परिषद जिल्ला कार्यसमिति सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय जनअपेक्षा र यसको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
विश्वविद्यालयमा विद्यार्थी भर्ना, शुल्क, प्राध्यापक कर्मचारी नियुक्तिका विषयमा पदाधिकारीहरुले एकलौटी गरेको भन्दै तत्काल खुल्ला प्रतिस्पर्धाबाट सबैले छनौट प्रक्रियामा सहभागि हुने अवसर दिनुपर्ने बक्ताहरुको भनाई थियो ।
विश्वविद्यालयका पदाधिकारीहरुको अनियमित क्रियाकलापकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विश्वविद्यालय अनुदान आयोगमा समेत उजुरी परेको छ । एउटा प्राथमिक विद्यालयमा शिक्षक छनौट गर्दा खुल्ला प्रतिस्पर्धा गरिन्छ तर विश्वविद्यालय जस्तो संस्थामा अनुहार हेरेर नियुक्ति बाँढ्दा विश्वविद्यालयको गरिमामा आँच पुगेको सहभागिको भनाई थियो । 
विश्वविद्यालयका प्रमख दाता दानविर मोतिप्रसाद सापकोटाले विश्वविद्यालयमा देखिएको किचलोले आफुलाई दुःख लागेको बताए । विश्वविद्यालयका पदाधिकारीको कार्यशैलि र समस्या समाधानमा गरेको वेवास्ताले आफुलाई पिडा बोध बनाएको बताए । सुर्खेतबासीको लामो संघर्ष र प्रयासबाट प्राप्त विश्वविद्यालयले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे ।
सुर्खेत क्याम्पस शिक्षाका प्रमुख डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयका पदाधिकारीको कार्यशैलि पारदर्शी नभएको बताए । उनले भने “विश्वविद्यालय सबैको साझा हो तर डिन, रजिष्टार र उपकुलपतिले आ—आफ्नै अनुकुलमा चलाएका छन् ।”
विश्वविद्यालय स्थापनार्थ योगदान गर्ने व्यक्तिहरु, जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवालासबै संग समन्वय, छलफल, सहकार्य गरेर अगाडी बढ्न पदाधिकारीहरुलाई सुझाव दिएका थिए ।
सोही अन्तरक्रियामा बोल्दै वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्रमुख लीलाधर तिवारीले विश्वविद्यालयको पाठ्यक्रम, प्राध्यापक—कर्मचारी नियुक्ति, भौतिक पूर्वाधारमा समस्या देखिएको बताए । सम्झौता एकतिर काम कार्वाहि अर्को तिर गर्ने पदाधिकारीको कार्यशैलि प्रति चिन्ता व्यक्त गरे ।
सोही अवसरमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. जिवेन्द्रदेव गिरीले म.प. विश्वविद्यालयको स्थापना, विभिन्न चरणमा भएका पहल, विश्वविद्यालय स्थापना पछि भए गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । विश्वविद्यालयमा समस्या भएपनि पदाधिकारीहरु समस्याबाट भाग्न नहुने सुझाव दिए । “सहकार्य, समन्वय, छलफल गरी समस्याको समाधान खोज्न म अनुरोध गर्दछु । समस्याबाट भागेर समाधान हुँदैन” उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा राप्रपा नेपालका अमृत राना, राष्ट्रिय जनमोर्चाका सचिव लालबहादुर नेपाली, नेकपा एमालेका अध्यक्ष नवराज रावत, एनेकपा माओवादीका प्रतिनीधि कमलेश डिसी, विश्वविद्यालय आयोजक मूल समितिका संयोजक भुषणकुमार मानन्धर सहितले आ—आफ्नो भनाई राखेका थिए ।

No comments:

Post a Comment