सुर्खेत, १० असार ।
सुर्खेतको रामघाट गाविसलाई सोमबार खुल्ला दिसामुक्त गाविस रुपमा घोषणा गरिएकोे छ । रामघाटसंगै जिल्लामा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएका गाविसहरुको संख्या २४ पुगेको छ । १५ सय ९ घरधुरी रहेको रामघाट गाविसमा १२ सय ४ पक्की, १ सय १६ कच्ची, २२ साझा र १ सय ६७ सुधारीएको शौचालय निमाण पश्चात रामघाटमा एक औपचारीक कार्यक्रमको आयोजना गरि गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएकोे हो ।
कार्यक्रममा क्षेत्रीय खानेपानी अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका सिनियर ईन्जिनियर राजमीर आबेद हुसेन मिया ठकुराई, एन्फोका कार्यकारी निर्देशक डाक्टर सुमन कुमार शाक्य, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष एवंम केन्द्रीय सदस्य कुलमणी देवकोटा लगाएतको उपस्थिती रहेको थियो ।
रामघाटलाई वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) सुर्खेतको सहजिकरणमा गाविसस्तरिय स्वच्छता समन्वय समिति रामघाटले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेकोे हो । रामघाट सुर्खेत जिल्लाको २४ औँ दिसामुक्त गाविसको भएको छ ।
यसअघि गाविसतर्फ दहचौर, गुमी, दशरथपुर, नेटा, लेखफर्सा, गुटु, बावियाचौर, सालकोट, विद्यापुर, रतु, जर्वुटा, लेखगाउँ, गर्पन, अवलचिङग, उत्तरगंगा, घाटगाउँ, कुनाथरी, सहारे, गढि, काप्रीचौर, कल्याण, साटाखानी र मेहलकुना गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरि सकिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका तीन वटा वडा पनि खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । नगरपालिका तर्फ मध्यपश्चिम विकास क्षेत्रमै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरको वडा नम्वर ३, १२ र ७ लाई खुल्ला दिसामुक्त घोषणा गरिसकिएको हो । सन् २०१७ सम्म नेपाललाई नै खुल्ला दिसामुक्त बनाउने लक्ष्य साकार पार्न सुर्खेतलाई २०१५ सम्म नै खुल्ला दिसामुक्त बनाउने अभियान चलाइएको छ ।
No comments:
Post a Comment