Monday, July 1, 2013

जाजरकोटका दलित बालबालिकालाई छात्रवृत्ति

विद्यालयको पहुँचमा पुग्न नसकेका जाजरकोटका दलित विद्यार्थीका लागि यस वर्षदेखि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा दलित अधिकारसँग सम्बन्धित संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण सङघ जाजरकोटले यस वर्षदेखि जिल्लाका पाँच गाविसका ५० दलित विद्यार्थीका लागि नेपाल छात्रवृत्ति कार्यक्रम सुरु गरेको बताएको छ ।

कक्षा १ देखि स्नातकोत्तर तहसम्म पढ्ने दलित विद्यार्थीका लागि मासिक रुपमा छात्रवृत्ति उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमबारे जानकारी दिन खलङगामा सम्पन्न कार्यक्रममा खलङगा, पुन्मा, झाप्रा र ढिमे गाविसमा पाँच वर्षका लागि कार्यक्रम सुरु भएको नेपाल छात्रवृत्ति कार्यक्रमका जाजरकोट अधिकृत जगदिश बादीले बताए ।
उनका अनुसार कार्यक्रमअन्तर्गत रोल मोडेल, विशेष लक्षित समूह तथा अति जोखिममा परेका दलित बालबालिकाका लागि तीन प्रकारका छात्रवृत्ति वितरण गरिने छ । वैशाखदेखि तथ्याङक सङकलन तथा आवेदन फाराम भराउने काम भइरहेको र भदौ महिनामा २०७० सालको पहिलो छात्रवृत्ति प्रदान गरिने अधिकृत बादीले बताए । छात्रवृत्ति कार्यक्रअन्तर्गत रोलमोडेल १० प्रतिशत, अति जोखिममा परेकाका लागि ३० प्रतिशत र विशेष लक्षित समूहका लागि ६० प्रतिशत कोटा निर्धारण गरिएको छ ।
विभिन्न कक्षा र तहका दलित विद्यार्थीलाई मासिक रुपमा उपलब्ध गराइने छात्रवृत्तिका लागि वार्षिक रुपमा सात लाख ७५ हजार रुपैयाँ रकम खर्च हुने बताइएको छ । आधारभूत तहमा अध्ययन गर्ने ११ जना, माध्यमिक तहमा २० जना, उच्च माध्यमिक तहमा चारजना, अनाथ पाँचज ना, स्नातक तहमा एकजना तथा स्नातकोत्तर तहमा एक जना र अति विपन्न सात जना दलित विद्यार्थीलाई मासिक रुपमा छात्रवृत्ती वितरण गरिने संस्थाका अध्यक्ष मानबहादुर सुनारले बताए । 
उनका अनुसार आधारभूत तहमा मासिक ५ सय रुपैयाँ, माध्यमिक विद्यालयका एक हजार रुपैयाँ, उच्च माध्यमिक तहकालाई एक हजार ५ सय रुपैयाँ, स्नातक तहकालाई दुई हजार रुपैयाँ तथा स्नातकोत्तर तहका दलित विद्यार्थीलाई दुई हजार ५ सय रुपैयाँ मासिक रुपमा प्रदान गरिने छ । रासस

No comments:

Post a Comment