Thursday, July 11, 2013

आफ्न्त फर्किने आशमा छन् वेपत्ताका परिवार

कि सास चाहियो कि लास चाहियो
गोविन्द खत्री÷रामकुमार शाही,
सुर्खेत, २८ असार ।
“कति साल हो ठ्याक्कै सम्झना छैन संकटकाल कडा थियो, साउनको महिना दिउँसो १२ जति बजेको हुँदो हो  बजार जान्छु है आमा साँझ आउँछु भनेर घरबाट निस्किएकी हो, खै अझै पनि आएकी छैन् ।” वीरेन्द्रनगर–१ ढोडेखालीकी भगवती पुरी यसरी सुनाउँदै थिईन आफ्नी छोरीको बारेमा । 
भगवतीले छोरी इन्द्रा पुरी बेपत्ता भएको झण्डै एक दशक वितिसक्दा पनि अझै पत्तो पाउन सकेकी छैनन् छोरीको अवस्थाका बारेमा । छोरी बेपत्ता भएको दश बर्ष बितेको छ दश बर्षमा भगवती आफूपनि बृद्ध भएकी छन् तर छोरी इन्द्राले “साँझ घर आउँछु है आमा” भनेको बाक्य उनका मनमा अहिले पनि ताजै छ । 
“बर्दिया विवाह भएको भएपनि जुवाईले अर्की श्रीमति विवाह गरेर इन्डिया गएपछि माइतमा बस्थी, छोरो चार बर्षको थियो घरबार बिग्रीएकी चेली हेला हुन्छन भन्छन माईतीले समेत राम्रो सहयोग नगरेपछि रुमाल, लेस बुनेर आफ्नो खर्च चलाउथी । त्यस दिन पनि धागो सकिएको छ धागो ल्याएर साँझ आउँछु भनेर बजार गएकी थिई” उनले भनीन् “साँझ परिसकेपछि पनि आईन एक छिन त बाटो हेरेँ, बजार तिर दाजुभाइ छन उतै बसी होली भोली आउले भन्ने ठान्यौँ, भोलिपल्ट पनि नआएपछि खोज्न सुरु गरेको खोज्दा खोज्दा दश बर्ष विती सकेछ ।” 

आँखा भरी आँस टिलपिल पार्दै मुस्किलले बोल्दै गर्दा उनलेको अनुहारमा एउटा आमालाई आफ्नो सन्तान हराउँदा हुने वास्तविक पिडा प्रस्ट झल्किन्थ्यो । पहिले पनि एक पटकबीचमा घर पठाउँदा कुरा भैरन्थ्यो घरमा माओवादीको अखडा हुन्थ्यो भन्थि । एकातिर लोग्नेको अपमान र वेवास्ता अर्काेतिर काखमा छोरा निकै पिरमा थिई पिरकै कारण माओवादीमा जाने सुर पो थियो की ? 
गाउँकै मान्छेले इन्द्रा त पार्टीमा लागेकी रैछ हामीले भेटायौँ पनि भने । त्यस पछि मेरी छोरी जहाँ भएपनि जिउँदै होली भन्ने आशमा बसें” भगवतीले भनिन् । माओवादीमा गएकी छ भन्ने सेनाले थाहा पायो भने सेनाले दुख्ख दिन्छ भन्ने डरलाग्यो भित्र भित्रै खोजी गरे तर त्यतिबेला मलाई साथ दिने कोही भएन् छोरीका बारेमा कुरा खोतल्दा घाउँलाई चलाए जस्तो अनुभव गरी आशु झार्थिन कुरागर्दै जाँदा विस्तारै आँखामा आसु ओभाउँथे र केही हलुको भएको महशुस गर्थिन उनी । 
माओवादी पनि शान्ति प्रक्रियामा आयो माओवादीमा गएका गाउँघरका सन्तानहरु घर फर्कदाँ भगवतिलाई पनि उनीहरुसंगै आफ्नी छोरी पनि आउँछे की भन्ने लाग्थ्यो । हेर्दा हेर्दै धेरै परिवर्तन भए छोरीको खोजीका लागि कहाँ जाने कसलाई भन्ने भगवतिलाई केही थाहा भएन् । शान्ति समितिले पहिलो पटक निकालेको वेपत्ताहरुको सूचीमा आफ्नी छोरीको पनि नाम भएको गाउँकै मान्छेबाट सुनिन् । राज्यलेनै बेपत्ताको सूचिमा राखे पछि आफ्नी छोरीको खोजी हुने भयो भन्ने भगवतिमा थोरै भएपनि आशा पलाएको थियो । तर शान्ति समितिले पछि छानविन गर्दा कुन पक्षबाट बेपत्ता पारिएको हो भन्ने दरिलो प्रमाण खुल्न नसकेपछि राहतका लागि लगतबाट इन्द्राको नाम हटाइयो । राहतबाट समेत बञ्चित गरेपछि छोरीको आशामा रहेकी उनलाई झनै पिडा थपेको छ । 
३ बर्षमा छोराछोडर घरबाट निश्किएकी इन्द्राको नासोे बनेका छन् सन्तोष पुरी उनी अहिले १४ बर्षका भएका छन् । छोरीको को सम्झनालाई मत्थर पार्न नातिको अनुहार हेर्ने गरेकी  भगवतिलाई आज भोली नातिको भविष्यको चिन्ताले झनै सताउने गरेको छ । आमा वेपत्ता भएपछि बुवा शहदेव पुरीले जन्म दर्ता समेत गरिदिएका छैनन् । 
नातिको लालन पालनको बाध्यता आई परेको भगवतिलाई ।  शान्ति समितिको बेपत्ताको सूचिमा इन्द्रा पुरी २०६१ साल साउन ९ गते बेपत्ता पारिएकी उल्लेख गरिएको छ । उनी मात्रै होइन उनी जस्तै वेपत्ता पारिएका परिवार र आफ्न्तका आँखा अझै ओभाउन सकेका छैनन् । न त राज्यले आशु पुच्छन सकेको छ । बेपत्ताका परिवारको एउटै मात्र माग भनेको कि सास की लास चाहियो भन्ने छ । 
आफ्ना आफ्न्तको स्थितीका बारेमा जानकारी पाउनु र आफ्नो धार्मिक र साँस्कृतिक संस्कार अनुसार काजक्रिया गर्न पाउनु उनीहरुको मानव अधिकार हो । चाहे राज्यबाट होस  वा विद्रोही अर्थात जो सुकैले बेपत्ता पारेपनि उसको खोजीनीति गर्नु राज्यको दायित्व भित्र पर्दछ । 
वेपत्ताका लागि भनेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन् । विभिन्न संस्थाहरु मध्य एक हो अन्तर्राष्ट्रिय रेडक्रम समिति अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का मध्य तथा सुदुरपश्चिम संयोजक कविराम मगरले कसले कहाँबाट वेपत्ता पारेको हो भन्ने आधिकारीक नभई खोजीको पहल गर्न गाह्रो हुने प्रतिक्रिया दिए । 
द्वन्द्वका क्रममा मारिएका, घाईते भएका र वेपत्ताका पारिएका परिवारहरुको अनिश्चित क्षति, असहज परिस्थितीलाई मनोसामाजिक सहयोग गर्ने उद्देश्यले हातेमालो कार्यक्रम अहिले सुर्खेतका १३ गाउँ विकास समिति र एक नगरपालिकामा लागु भएको छ । 
कार्यक्रमबाट विजौरामा, वावियाचौर, उत्तरगंगा, अवलचिङ, गुमी, जर्वुटा र लेखपराजुलमा एक÷एक परिवार लाभान्ति भएको रेडक्रम सुर्खेतका सभापति लिलाराम सुवेदीले जानकारी दिए । 
त्यसैगरी लाटीकोईली, गढिमा र लेखफर्सामा २, छिन्चुमा ३, दशरथपुरमा ४, र वीरेन्द्रनगरमा ३ परिवार हातेमालो कार्यक्रमबाट लाभान्वित भएको रेडक्रसले जनाएको छ । 
शसस्त्र द्वन्द्वकालमा सुर्खेतबाट १३ नागरिक वेपत्ता भएको नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये राज्यपक्षबाट तीन, विद्रोही पक्षबाट एक जना वेपत्ता पारिएको उल्लेख छ भने बाँकीको नखुलेको अन्र्तगत राखिएको छ । तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा राज्य र विद्राही पक्षबाट एक हजार तीन सय ८० बढि नागरिक वेपत्ता भएको र उनीहरु अझैपनि परिवारको सम्पर्कमा नरहेको आईसीआरसीको तथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment