Monday, July 15, 2013

पौडी खेलेर नदी तर्दै

जाजरकोट, १ साउन ।
जाजरकोट कार्कीगाउँ–२ अम्राका बासिन्दालाई दैनिक उपभोग्य बस्तु किनमेल गर्न नदी तरेर जुगाथापाचौरको बालुवा बजार जानुपर्छ । तर पुल नहुँदा पौडी नखेली वारपार गर्न सकिँदैन । 

स्थानीय नरेन्द्र सुनारका अनुसार पुल बनाइदिन स्थानीय निकाय र विभिन्न राजनैतिक दलका नेतालाई बारम्वार अनुरोध गर्दा पनि सुनुवाई नभएपछि पौडी खेलेर तर्नुपरेको हो ।
स्कुले विद्यार्थी समेत पढ्न जाँदा यसरी नै चिन्डाबाट दैनिक वारपार गर्ने गर्छन् । गाउँको विद्यालयमा ५ कक्षासम्म मात्र पढाइ हुने भएकाले ६ देखि माथिल्लो कक्षा पढ्न पौडी खेलर अर्कै गाउँ जानुपर्छ । 
यस्तो जोखिमपूर्ण रुपमा नदी तर्ने क्रममा अहिलेसम्म ६ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यहाँका बासिन्दाले लत्ता कपडा र खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु फलामको तारमा कोक्रो झुण्डाएर त्यसैवाट तार्ने गर्दछन् । अम्रा गाउँमा उत्पादन भएको दही, दूध, तरकारी लगायतका बस्तु पनि तारको कोक्रोबाट तारिन्छ ।
यसरी सामान तार्दा नदीको दुवै तर्फ मानिस बसेर डोरी तान्नुपर्छ । १० बर्ष अघि नै बाढीले पुल बगाइदिएपछि स्थानीय वासिन्दाले सास्ती खेप्दै आएका छन् ।

No comments:

Post a Comment