सुर्खेत १ साउन ।
तातापानी गाविसका महिलाहरुले आगामी भदौ महिना भित्रै तातापानी गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । गाविसको सहयोग, तातापानी गाविस स्तरिय महिला समुहको आयोजना र नेवा नेपालगञ्जको समन्वयमा तातापानीमा सोमवार सम्पन्न २ दिने महिला सशक्तिकरण तथा सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले सो अवधिमा गाविसलाई छाउपडीमुक्त गाविस घोषणा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अगुवाईमा खुला दिसामुक्त हुने तातापानी गाविसमा हाल सम्मकै महिलाहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा महिला स्वयमसेविका र आमा समूहका प्रतिनिधिहरुले ‘एक घर एक चर्पी निमार्ण गरी चर्पी प्रयोग गर्ने र चर्पी प्रयोग गरिसकेपछि सावुन पानीले हात धुने बानी बसाल्ने’ प्रतिबद्धता जनाएको अमृता माझीले बताईन् ।
महिला स्वयमसेविका चन्द्रा सांवदको सभापतित्वमा सम्पन्न अभिमुखिकरणको गाविस सचिव तिलकराम अधिकारी, नेवाका मनु वाग्ले, कविन्द्र केसी र नवराज सुवेदीले जोखिमपूर्ण अवस्थामा सहजीकरण गरेका थिए । गाविस स्थित आमा समुका पदाधिकारी, महिला स्वयमसेविका र अगुवा महिला गरी ४५ बढी महिलाहरुको सहभागिता रहेको अभिमुखिकरणमा मिलन जिसी वडा नं १, मदन माझी ५ र हरिशोभा शर्मा ३ को संयोजकत्वमा कमाण्डो टोली गठन पनि गरिएको छ ।
जिल्लामै खुलादिसामुक्त घोषणा गर्नका लागि सबैभन्दा असहज स्थिति मानिएको सो गाविसका महिलाहरुले पहिलो पटक यसरी प्रतिबद्धता जनाएपछि तातापानी गाविसलाई खुला दिसामुक्त गर्न सहज वातावरण सिर्जना भएको गाविस सचिव अधिकारीको भनाई छ । यस्तै जिल्लाको अति दुर्गम गाविस तातापानीलाई खुलादिसामुक्त गर्नको लागि नेवा नेपालगञ्जले सहजिकरण गर्दै आएको छ ।
No comments:
Post a Comment