जंगल छाडेर समाजमा घुलमिल
काठमाडौ असार ।
गिठा—भ्याकुर खोज्दै जंगल घुम्दा मानबहादुर राउटे, ५३, ले घरमा बस्ने सपना कहिल्यै देखेनन ्। पुस्तौँदेखि फिरन्ते जीवन बिताएकाले घर बनाउने, खेतीपाती गर्ने कुरा उनलाई अनौठो लाग्थ्यो । तर, सरकारले बल गरेर गाउँमा बसोवासको व्यवस्था मिलाएपछि आश्चर्यजनक तरिकाले उनको जीवनशैली फेरिएको छ ।
जोगबुडा र शीर्ष गाविसमा बसेका मानबहादुरजस्ता चार सयभन्दा बढी राउटेको जीवनमा परविर्तनका संकेत देखिन थालेका छन् । भन्छन्, “जंगलमा बस्दा न राम्म्री खान पाइन्थो, न त सुत्न । एक छाक खानलाई पनि काठका भाँडा, हलो, जुवा बनाएर गाउँगाउँ बेच्न जानुपथ्र्यो । साँझ पर्दा फेरि ओडारमा गएर बस्नुपथ्र्यो । घरमा बस्ने सपना त कहिल्यै देखिएन ।”
घर बनाएर बसेपछि राउटे समुदायका युवकयुवतीले पढ्न थालेका छन् । कतिपयले विभिन्न सरकारी निकायमा रोजगारी पाएका छन् । राउटे समुदायबाट एसएलसी पास गरेका जोगबुडाका एक मात्र युवक दानसिंह राउटे अर्थ मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा नायब सुब्बा स्तरका परामर्शदाता छन् ।
जोगबुडाकै श्यामसिं र राजुसिं राउटे नेपाल प्रहरीमा भर्ती भएका छन् । कञ्चनपुरकी विष्णु राउटे नेपाली सेनामा भर्ती भएकी छन् भने जोगबुडाकै मनीषादेवी राउटेले स्थानीय बीपी प्राथमिक विद्यालय, आमपानीमा स्थायी पियन पदमा काम गररिहेकी छन् । दानसिंका बाबु संग्रामसिं भन्छन्, “गाउँमा बसेकाले छोरा पढेर जागिरे भएको छ । अन्य सबै बालबालिकाले पढ्न पाएका छन् । जंगलमा बसेको भए हामी जंगली युगमै हुन्थ्यौँ ।” डोटी, दार्चुला र बैतडीबाट घुमन्ते जीवन बिताइरहेका राउटेलाई ०३८ सालमा सरकारले जोगबुडा—१ आमपानी र शीर्ष—६ रजेउरामा स्थायी बसोवासको व्यवस्था मिलाएको थियो ।
सुरुमा राउटेहरू गाउँभन्दा जंगल नै प्यारो भन्दै भागेका रहेछन् । “सरकारले गाउँमा बसाइदियो तर राम्रो नमानेर सबै भागे । म भने जान सक्दिन भनेर एक्लै गाउँमा बसेँ,” संग्रामसिं सम्झन्छन्, “पछि ०४० सालमा फेरि सरकारले खोजेर ल्यायो । निकै कर गरेपछि मात्र बस्न थालेका हाँै । नत्र, हामी अहिले पनि जंगलमै हुन्थ्यौं ।”
त्यसो त दोस्रोपटक आइसकेपछि पनि खेतीपाती गर्ने काममा बानी नपरेकाले जीविका चलाउन गाह्रो भयो । कतिपय त बिरामी हुँदा र घरखर्च चलाउँदा जग्गा बन्धकी राखेर ऋण निकाल्न थाले । ऋण्ँ तिर्न नसकेर कतिपय फेरि जंगलतिरै भागे । बन्धकी राखेर ऋण लिएको रकमको हिसाब गर्दा २८ लाखभन्दा बढी रहेछ । उनीहरू अहिलेसम्म जग्गा खोज्न आएका छैनन् । डडेल्धुराबाट भागे पनि जंगलमा घुम्ने पर्याप्त साथी नभएपछि उनीहरू फिरन्ते जीवन छाडेर बैतडी, कञ्चनपुर, दार्चुला र भारतको धार्चुलासम्म पुगेर बसोवास गरेको दानसिंहको भनाइ छ ।
अन्यत्र बसेका राउटेहरूसँग अहिले पनि नाता—सम्बन्ध कायम रहेको नवराज राउटे बताउँछन् । भन्छन्, “छोरी लिनेदिने चलिरहेको छ। जहाँ पुगे पनि घरबास बनाएर बसेका छन् । फिरन्ते जीवन छाडेका छन् । जंगलमा जस्तो दुःख छैन ।”
अझै पनि १ सय ४० परिवार राउटे जंगलमै फिरन्ते जीवन बिताइरहेका बेला गाउँका राउटे भने अन्य समुदायजस्तै भइसकेका छन् । उनीहरूको जीवनशैली जंगलका राउटेसँग मिल्न छाडेको छ । यसैले पनि होला, जंगलका राउटेले भेट्दा जोगबुडाका राउटेलाई भनेछन्, “तिमीहरू पनि राउटे हौ र ” जवाफ “हो” मा आएपछि जंगलका राउटे सुरेन्द्र शाहीले भनेछन्, “त्यसो भए उहिल्यै राउटे थियौ होला । अहिले त हामी मात्रै राउटे हौं ।”
सुरुमा गाउँ पस्दा जंगलकै स्वरूपमा भए पनि बिस्तारै अन्य समुदायबाट काम गर्न सिकेको जोगबुडाका नरे कामी बताउँछन् । भन्छन्, “सुरुमा गाउँ आउँदा गिठा खान्थे, च्यातिएका कपडा लगाउँथे, महिलाहरू घरबाहिर निस्कँदैनथे। काठका भाँडा बनाएर बेच्थे । पछि हामीले सिकाउँदै गएपछि खेतीपाती गर्न थालेका हुन् । सामाजिक कामकाजमा सहभागी हुँदै गएका हुन् ।”
सुरुमा जोगबुडामा १५ र शीर्षमा २० परिवार बसेकामा अहिले जोगबुडामा ३५ र शीर्षमा ५० गरी ८५ परिवार पुगेका छन् । राउटे विकास संघका अनुसार राउटेको संख्या चार सयभन्दा बढी छ । घर बनाएर बस्ने र खेतीपाती गर्ने काममा रुचि नभएकाले जंगलका राउटेहरूलाई स्थायी बसोवास गराउन कठिन भएको संघका अध्यक्ष दानसिं सुनाउँछन् ।
जंगलको जीवनमा जोखिम भएकाले बर्सेनि राउटेको संख्या घट्दै गएको छ । असुरक्षित रूपमा सुत्केरी हुने, बिरामी हुँदा अस्पताल नजाने, सरसफाइ र पोषणमा ध्यान नदिने तथा प्राकृतिक प्रकोपबाट बच्ने अवस्था नभएकाले राउटेहरूको अकालमै मृत्यु हुने गरेको छ । फिरन्ते राउटेले पनि गाउँमा बसेका राउटेको जीवनशैलीप्रति रुचि राख्न थालेका छन् ।
“यिनीहरू पहिले राउटे थिए त ? कसरी यहाँ आएर बसे ? यिनीहरूलाई हाम्रो कुरा थाहा छ कि छैन ?” गाउँमा बसेका राउटे हेर्न जोगबुडा पुगेका फिरन्ते राउटे मुखिया ऐनबहादुर शाही भन्छन्, “गाउँमा बसेको पनि ठीकै हो तर हाम्रो संस्कार हराउँछ कि भन्ने चिन्ता छ ।”
No comments:
Post a Comment