गोविन्द खत्री
सुर्खेत, २२ असार
सुरु देखि नै भेरी नदिको पानी पिउनबाध्य बाबियाचौर–१ तिखाकुनाबासीहरुमा करिब ६ बर्ष पहिले खानेपानी आायोजना निर्माण भएपछि धाराको सफा पानी पिउने आशा पलाएको थियो ।
नेपाल पानीका लागि (नेवा) संस्थाले खानेपानी आयोजना निर्माण गरेपनि एक बर्ष बित्न नपाउँदै ट्याङ्की भत्किएपछि तिखाकुना बासिन्दा भेरीकै पानी पिउन बाध्य भएका हुन् । योजना पूर्णरुपले सम्पन्न नहुँदै पानी जम्मा गर्नका लागि मुहानमा बनाइएको ट्याङकी भत्किएको स्थानियवासी छबिराज पौडेलले बताए ।
तिखाकुनाका सबै घरपरिवार र गाउँमा रहेको कालिका प्राथमिक विद्यालय समेतलाई पुग्ने गरी सामुहिक १० धाराहरुको निर्माण गरिएको भएपनि धाराबाट पानी भने नआउने पौडेल बताउँछन् । ट्याङ्की निर्माणमा गुणस्तरहिन सिमेन्टको प्रयोग गरिएको हुनाले टिकाउ नभएको हुन सक्ने स्थानीयवासीहरुको भनाई छ ।
मर्मत संभारका लागि एक लाख रुपैयाँ छुट्याइए पनि निर्माण सम्पन्न नहुँदा हाल सम्म पनि धारामा पानी नआएको पौडेलले बताए । भेरी नदी र तिखाखोलाले वरिपरी घेरिएर रहेको तिखाकुनाबासीहरुलाई बर्षायाम सुरु भएसंगै पानीकै चिन्ताले पिरोल्ने गरेको छ । एकातिर भेरी नदिमा बाढी आएर बस्ती डुवानमा पर्ने चिन्ता भने अर्काेतिर सोही नदीको पानी पिउनु परेपछि त्यसबाट लाग्ने झाडापखाला र विभिन्न सरुवा रोगको चिन्ता ।
बर्षाको समयमा फोहोर पानी पिउनाले बर्षेनी झाडापखालाको प्रकोप फैलिने गरेको स्थानीय बाल विकास केन्द्रकी सहजकर्ता सीता शाहीले बताईन् । पानीको समस्या भएपछि कालिका प्राबि र बाल विकास केन्द्रका विद्यार्थीहरुलाई समेत समस्या हुने गरेको उनी बताउँछिन् ।
बालबालिकाहरुलाई पिउने पानीको समस्या भएपछि बर्षाको समयमा बिरामी हुने र विद्यालयमा उपस्थीति समेत कम हुने शाहीले जानकारी दिईन् । पानीको अभावमा विद्यालयमा रहेको शौचालय समेत प्रयोगमा कठिन भएको बताउँदै छात्रा सुलभ शौचालय निर्माण भएपनि पानीको कारण प्रयोग हुन नसकेको शाहीले बताईन् ।
तिखाकुना एउटा उदारण मात्रै भएपनि सुर्खेत जिल्लाका भेरी नदी किनारामा पर्ने अधिकांश बस्तिका वासिन्दाहरु सदियौँदेखि फोहोर पानी पिउन बाध्य छन् । स्वास्थ्यका दृष्टिकोणले पानी निकै महत्वपूर्ण कुरा हो तर कतिपय स्थानमा खानेपानी आयोजनाहरु समयमा निर्माण नहँुदा र कतिपय स्थानमा आयोजनानै सञ्चालन नहुँदा उनीहरु फोहोर पानी पिउन बाध्य भएका हुन् ।
फोहोर पानी पिउनाले बर्षातको समयसंगै जिल्लाका भेरी नदि आसपासका बस्तीमा झाडापखाला लाग्ने गरेको छ । भेरी नदिको पानी पिउने गरेका उनीहरुलाई बर्षायामको सुरुवातसंगै धमिलो पानी पिउनु पर्ने बाध्यता रहि आएको छ । जिल्लाका तरंगा, घाटगाउँ, तातापानी, हरिहरपुर, लेखपराजुल, रामघाट, दहचोर, मेहेलकुना, दशरथपुर, मैनतडा, बाबियाचौर लगाएत गाविसका भेरी किनारमा पर्ने वस्तीका मानिसहरु भेरीको पानी पिउने गरेका छन् ।
शुद्धिकरण विना भेरीको पानी पिउनाले हरेक बर्ष बर्षायाममा सो क्षेत्रमा झाडापखाला र पिउने पानीबाट लाग्ने विभिन्न रोगहरु लाग्ने गरेका छन् । सुरु देखि नै भेरी नदीको पानीमा निर्भर रहँदै आएको र हालसम्म पनी खानेपानी उपयुक्त व्यवस्था नगर्नु आफूहरुको स्वास्थ्य अधिकारको उपहास भएको स्थानीयवासीहरुले बताउँदै आएका छन् ।
No comments:
Post a Comment