Monday, July 8, 2013

माहामारी नजिकिदै, औषधी सकिदै

रामकुमार शाही
असार २५, सुर्खेत ।
झाडापखाला तथा माहामारीजन्य रोगको संक्रमण फैलिन सक्ने मौसममा जाजरकोटका स्वास्थ्य संस्थाहरुमा प्रर्याप्त औषधी नहुँदा समस्या भएको छ । सम्भावित माहामारीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सात स्वास्थ्य संस्थामा औषधी ‘स्टक’ राखेको जिल्ला जनस्वास्थ्यले बताएपनि स्वास्थ्य संस्थाहरुमा भने प्रर्याप्त औषधी नै छैन । 
जिल्ला जनस्वास्थ्य अधिकृत धिरजंग शाहले प्राथामिक स्वास्थ्य केन्द्र गर्खाकोट र लिम्सा, स्वास्थ्य चौकी दल्ली, घरंगा, दशेरा, सीमा, भुर र उपस्वास्थ्य चौकी पैँकमा मेन्ट्रानिराजोल ट्याब्लेट, रिंगर ट्याब्लेट, आईभी ड्रिप, पारासीटामोल, एमक्लोर र एमोक्सिन लगाएतका औषधीहरु स्टक राखिएको जानकारी दिए । उनले यसो भनिरहँदा जिल्ला सदरमुकामबाट पुरै दुई दिनको पैदल दुरीमा रहेको उपस्वास्थ्य चौकी रग्दामा सिटामोल बाहेक अरु औषधी छैन । 

उक्त उपस्वास्थ्य चौकीमा न त स्टेचर नै छ न त सलाईन पानी नै । औषधी तथा अन्य सामाग्री नभएको विषयमा जिल्ला जनस्वास्थ्यलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको स्वास्थ्यकर्मी चम्फा घर्तिले बताईन । करार नियुक्त भएकि उनको करार नियुक्ति पनि यहि असार मसान्तमा सकिदैछ । त्यसपछि रग्दा उपस्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहिन हुने निश्चित छ । चम्फासँगै करार नियुक्त गरिएका जिल्लाका अन्य स्वास्थ्य संस्थामा कार्यरत ग्रामिण स्वास्थ्य कार्यकर्तासँगै ३४÷३५ जनाको करार नियुक्ति सकिदैछ । 

रग्दाको छिमेकि गाविस भगवतिमा रहेको उपस्वास्थ्य चौकीको अवस्था झन नाजुक छ । भगवति–२, अवलगुर्तामा रहेको उपस्वाथ्य चौकीको भवनबाटै तीन वटा कार्यालयको काम हुने गरेको छ । उपस्वास्थ्य चौकीको चार कोठे भवनबाट स्वास्थ्यसँगै, गाविस र हुलाकको काम पनि गरिन्छ । हुलाकको आफ्नै भवन छैन भने गाविसको भवन भएरपनि स्वास्थ्यकै भवन प्रयोग गर्ने गरेको छ ।
एउटै घरबाट धेरै सेवा दिदा सेवा प्रभावकारी हुन सकेको छैन भने आवश्यक पूर्वाधारको अभावमा उपस्वास्थ्य चौकी नाम मात्रको छ । गाविस र हुलाको सेवापनि उपस्वास्थ्यकै भवनमा कार्यालय स्थापना गरी दिईनुले समस्या परेको उपस्वास्थ्य चौकीका ईञ्चार्ज देवेन्द्र विष्टले बताए । ‘तीनवटा सरकारी कार्यालयको सेवा एकैठाउँबाट दिदा समस्या भएको छ’ विष्टले भने, ‘गाविसको आफ्नै भवन भएर पनि सर्न मानेको छैन ।’ 
अर्काेतीर उपस्वास्थ्य चौकीमा बिरामीहरुका लागि आवश्यक वेडको अभावमा धुलोमा सुताएर औषधी गर्नुपर्ने बाध्यता छ । तीनवटा कार्यलय एउटै भवनबाट चलेपनि शौचालय नहुँदा सेवाग्राहीसँगै कार्यरत कर्मचारीहरुलाई समेत समस्या पर्ने गरेको छ । स्वास्थ्य चौकीको अगाडि वस्ति रहेको तथा पछाडि भिरालो जमिन र त्यसको मुनिबाट भेरी नदि बगिरहेकाले झन समस्या भएको छ । 
यी उपस्वास्थ्य चौकी त उदाहरण मात्र हुन जाजरकोटका अधिकांश स्वास्थ्य संस्था प्रयाप्त औषधी र स्वास्थ्यकर्मीको अभावबाट गुर्जिरहेका छन् भने यसको प्रत्यक्ष मारमा निम्न वर्गका नागरिकहरु परिहेका छन् । ‘हुनेखानेले सदरमुकाम या अन्य ठूला ठाउँमा गएर उपचार गर्छन’ सञ्चारकर्मी समेत रहेका रग्दाका स्थानीय गणेश बानियाले भने, ‘गरिब र निमुखाहरुका एउटा सिटामोल समेत नपाएर मर्नुपर्ने बाध्यता छ ।’ 
यता जनस्वास्थ्य अधिकृत धिरजंग शाहले भने स्वास्थ्य संस्थामा औषधी सकिएको विषयमा कुनै औपचारिक जानकारी नआएको प्रतिक्रिया दिए । झण्डै एक महिना अघि मात्र जाजरकोट आएका शाहले कुनैपनि स्वास्थ्य संस्थामा औषधीको अभाव हुन नदिने प्रतिवद्धता जनाए । जिल्लामा करार नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद थपका विषयमा जिल्लाले केहि गर्न नसक्ने भन्दै अधिकृत शाहले यसका लागि सरकाले नै पहल गर्नुपर्ने उल्लेख गरे । 

‘माहामारीको मौसमा जिल्लामा प्रयाप्त स्वास्थ्यकर्मी नहुनु दुःखद अवस्था हो’ शाहको भनाई छ, ‘यसमा जिल्लाले केहि गर्न सक्दैन, सम्बन्धित निकायले हेर्न जरुरी छ ।’ भगवतिको हकमा गाविसले स्वास्थ्यको भवन प्रयोग गरिरहेको आफूले पनि सुनेको बताउँदै उनले त्यसका लागि गाविससँग समन्वय गरिने बताए । 

एक जिल्ला अस्पताल, दुई प्राथामिक केन्द्र, ११ स्वास्थ्य चौकी र २० उपस्वास्थ्य चौकी रहेको जाजरकोटमा अहिले एकजना डाक्टर गणेश भण्डारी मात्र कार्यरत छन् । उनलाई पनि मन्त्रालयले केहिदिन अघिमात्र जाजरकोट पठाएको थियो । सरकारी छात्रवृतिमा पढेका डाक्टरद्वय पातल गिरी र शुशिल सुनारलाई स्वास्थ्य सेवा विभागले जाजरकोट जिल्ला स्वास्थ्यको नियुक्ति थमाए पनि उनीहरुले ‘दुर्गम’ भन्दै नियुक्ति लिन अस्विरका गरेका छन् । 
सरकारी छात्रवृतिमा पढेका चिकित्सकहरुले कम्तिमा दुई वर्ष सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने कानूनी प्रावधान छ । २०६६ साल असार–साउनको झाडापखालाबाट जाजरकोटमा झण्डै तीन सय नागरिकले ज्यान गुमाएका थिए ।।

No comments:

Post a Comment