सुर्खेत, १३ भदौं ।
सुर्खेतका प्रमुख राजनीतिक दलहरु उमेदवार सिफारिसको तयारीमा जुटेका छन् । मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन मिति घोषणा संगै जिल्लाका प्रमुख राजनीतिक दलहरु उमेदवार छनौटमा जुटेका हुन् ।
जिल्लाको ठूलो पार्टी नेकपा एमाले सुर्खेतले दुई÷दुई पटक गाउँ जागरण अभियान संचालन गरिसकेको छ । पार्टीको आन्तरिक जिवनलाई सक्षम बनाउन सक्रिय एमाले अहिले उमेदवार छनौटमा अल्झिएको छ ।
उमेदवार छनौटकै लागि सुर्खेत क्षेत्र नं. ३ मा भदौं १३ गते, क्षेत्र नं. १ र २ मा भदौं १४ गते जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा क्षेत्रीय कमिटीको बैठक बस्दैछ । त्यसैगरी क्षेत्रीय कमिटीबाट सिफारिस उमेदवारहरुको भदौं १६ र १७ गते बस्ने जिल्ला कमिटी बैठकले टुङगो लगाउँदै अञ्चल कमिटीमा पेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उमेदवारहरुको नामावली भदौं २० गते भित्र केन्द्रीय कमिटीमा पेश गरिसक्ने गरी भेरी अञ्चल कमिटीले भदौं १८ गते बैठक बसी सिफारिस गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहित प्रत्येक्षमा ३ जना र समावेशी सहित समानुपातिका २ जनाको नाम सिफारिस गर्न निर्देशन दिईएको छ ।
त्यसैगरी जिल्लाको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले केन्द्रीय प्रतिनीधि खटाएर जिल्लाको अवस्था बुझने काम गरेको छ । पार्टीको अवस्था, अन्य पार्टीहरुसंगको प्रतिस्पर्धाका विषयमा केन्द्रीय कमिटीमा प्रतिवेदन पेश गरिसकिएको भेरी कर्णाली राज्य समिति सदस्य कृष्ण जिसीले जानकारी दिए ।
समान्यतया जिल्लामा पार्टीको अवस्था, उमेदवारका बारेमा केन्द्रीय कमिटीमा रिपोर्टिङ भएपनि केन्द्रीय कमिटीको निर्देशन आएपछि भदौं महिना भित्र सुर्खेतका तीन वटै निर्वाचत क्षेत्रका उमेदावरहरुको नाम सिफारिस गरिने उनले जानकारी दिए । केन्द्रीय कमिटीको निर्णय अनुसार एउटा निर्वाचन क्षेत्रबाट पाँच÷पाँच जना सम्भावित उमेदवारको नाम सिफारिस गरिने जनाईएको छ ।
त्यसैगरी गत संविधान सभाको निर्वाचनमा जिल्लाको तेस्रो दल नेपाली काँग्रेस सुर्खेतले भदौं १५ गते तीन वटै निर्वाचन क्षेत्रको भेला गर्दैछ । नगर, गाउँ समितिबाट बैठक बसी भदौं १५ गते सम्म सम्भावित उमेदवारहरुको नाम सिफारिसको तयारीमा रहेको काँग्रेसले १८ गते जिल्ला कमिटी बैठकबाट टुङगोमा पुग्ने जनाएको छ ।
नेपाली काँग्रेस नगर सभापति देवकुमार सुवेदीले जानकारी अनुसार भदौं २० गते भित्र सम्भावित उमेदवारहरुको नामावली सिफारिस गर्न केन्द्रले दिएको निर्देशन अनुसार पार्टी सक्रिय रहेको जानकारी दिए । एउटा निर्वाचन क्षेत्रबाट समावेशी सहित प्रत्येक्ष तर्फ ३ जना, समानुपातिक तर्फ ५ जना सम्भावित उमेदवारहरुको नाम सिफारिस गरिने उनले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा सुर्खेतले दोस्रो संविधान सभा उमेदवार छनौटको तयारीमा रहेको छ । जिल्ला अध्यक्ष धनप्रसाद देवकाटाले दिएको जानकारी अनुसार चुनाव हुने निश्चित भएपछि यही भदौं १५ देखि १८ गते भित्र एउटा निर्वाचन क्षेत्रबाट समानुपातिक र प्रत्येक्षबाट तीन÷तीन जनाको नामावाली सिफारिस गरिने जनाईएको छ ।
No comments:
Post a Comment