Friday, August 2, 2013

नगरमा विद्यालय शान्ति क्षेत्र अभियान सुरु

लिडर विद्यालयले फिडरलाई सहयोग
सुर्खेत, १९ साउन ।                                                                                                            
वीरेन्द्रनगर नगरपालिकामा विद्यालय शान्ति क्षेत्र घोषणा अभियान सुरु भएको छ । नगरपालिकाका वडा नं. ११ र १२ बाट सिंगो नगरपालिका भित्रका सम्पूर्ण सरकारी तथा नीजि विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गर्ने उद्देश्यले अभियान सुरु गरिएको छ । 

विद्यालयलाई सशक्त गतिविधी र अन्य हिंसा, दलगत राजनीति तथा आम हस्तक्षपबाट मुक्त राख्न र विद्यालयलाई भेद्भाव, दुव्र्यवहार र शोषणबाट मुक्त गर्न शान्ति क्षेत्र घोषणा गर्न लागिएको हो । विद्यालय शान्ति क्षेत्र अभियान नगर समन्वय समिति तथा अमरज्योति नमूना उच्च माविको संयुक्त आयोजनामा वडा नं. ११ र १२ का सरकारी तथा नीजि विद्यालयका प्रतिनीधिहरुको संयुक्त भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले वडा नं. ११ र १२ का सम्पूर्ण सरकारी तथा नीजि विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गर्ने भएको छ । लिडर विद्यालय अमरज्योति नमूना उच्च माध्यमिक विद्यालय नेवारेको अगुवाईमा सेवा क्षेत्र भित्र रहेका ५ वटा सरकारी विद्यालय र नीजि विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिने भएको छ ।
अमरज्योति नमूना उच्च मावि, हस्तविर सामुदायिक प्राथमिक विद्यालय, सरस्वति प्राथमिक विद्यालय, जनता प्राथमिक विद्यालय, कालिका निमावि सहितका ६ वटा विद्यालयहरुको संयुक्त शान्ति क्षेत्र घोषणा भदौं ११ गते गरिने भएको छ । स्रोत व्यक्ति एवंम अभियान नगर समन्वय समितिका अध्यक्ष नरेशविक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न संयुक्त भेलाले २७ सदस्यीय दुई वडाको समन्वय समिति गठन गरेको छ । सरकारी तथा नीजि विद्यालय, सामुदायिक वन, संघ संस्था, राजनीतिक दल, टोल विकास संस्था, बाल क्लव, स्वास्थ्य स्वयंमसेविका सहितको प्रतिनीधित्व हुने गरी समिति गठन गरिएको छ ।
लिडर अमरज्योति नमूना उच्च माविले आफ्नो सेवा क्षेत्रका ५ वटा फिडर विद्यालयको शैक्षिक गुणस्तर सुधारका विभिन्न गतिविधिहरुमा चालु शैक्षिक सत्रमा पाँच लाख रकम खर्च गर्ने घोषणा गरेको छ । उच्च मावि नेवारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले उच्च माविको सेवा क्षेत्रका विभिन्न ५ वटा प्रावि, निमावि विद्यालयबाट उच्च शिक्षा हाँसिल गर्न विद्यार्थी आउने भएकाले सानो कक्षादेखिनै विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न लगानी गर्न लागिएको जानकारी दिए ।
उच्च मावि नेवारेले आफ्नै आन्तरिक स्रोतबाट फिडर विद्यालयहरुको परीक्षा प्रणालीमा सुधार, आमा समूह गठन र परिचालन, अतिरिक्त क्रियाकलाप, तालिम, बैठक संचालन, शैक्षिक सामाग्री निर्माण र प्रदर्शनीका लागि पाँच लाख खर्च गर्ने कार्ययोजना सहित घोषणा गरेको छ । डिलर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यले क्षेत्र तथा जिल्लामै पहिलो पटक फिडर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यालयले आन्तरिक स्रोतबाट रकम खर्च गर्न लागेको जानकारी दिए । भेलामा नगर समन्वय समितिका सचिव पूर्णप्रसाद पौडेलले विद्यलाय शान्ति क्षेत्रका बारेमा जानकारी गराएका थिए । 
सोही अवसरमा अमरज्योति उच्च माविमा खगेन्द्र थापाको संयोजकत्वमा ७ सदस्यीय विद्यालय स्तरीय शान्ति क्षेत्र समन्वय समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा सिमा चन्द, पदमा सापकोटा, जनक रेग्मी, प्रतिज्ञा थापा, बाबुराम आचार्य, लोकप्रसाद चालिसे चयन भएका छन् । भेलाका प्रमुख अतिथि एवंम स्रोत व्यक्ति नरेशविक्रम ढकालले दुर्गम जिल्लाबाट उच्च माविमा विज्ञान विषय पढ्न आएका ६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ३० हजारका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेका थिए । प्रशान्त फडेरा, रत्नप्रसाद जैसी, मदनकुमार शर्मा, कृति थापा, अग्नीप्रसाद शर्मा, चक्रबहादुर शाहीलाई छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरिएको हो ।

No comments:

Post a Comment