Wednesday, August 28, 2013

उत्कृष्ट स्वंमसेविका रजालीलाई सम्मान


सुर्खेत, १३ भदौ ।
“हेल्थ अवार्ड २०७०” पुरस्कार बिजेता महिला स्वास्थ्य स्वंमसेविका लक्ष्मी रजालीलाई बुधबार वीरेन्द्रनगरमा सम्मान गरिएको छ । नेपालमा रहेका महिला स्वास्थ्य स्वंमसेविका मध्ये उत्कृष्ट स्वंमसेविकाको अवार्डबाट सम्मानित पाम्का–७ सुर्खेतकी रजालीलाई नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघले सम्मान गरेको हो ।  
संघले उत्कृष्ठ कार्यसम्पादन गरी देशभरीका स्वास्थ्य स्वंमसेविकाहरु मध्येमा उत्कृष्ट भएको अवसरमा एक कार्यक्रम मार्फत दोसल्ला ओडाई सम्मान–पत्र सहित सम्मान गरेको थियो । सम्मान पछि बोल्दै रजालीले आफूले गरेको सेवाको उचित मूल्याङ्कन भएकोमा खुसी व्यक्त गरिन् । 
आफूले पाएको सम्मानले सम्पूर्ण सेवा भावले काम गर्न थप उत्साह गरेको उनले बताइन् । “आफ्नो समस्यालाई पार गर्दै अरु दिदिबहिनीहरुका समस्याहरुको लागि म रात दिन खटिरहन्छु ।” रजालीले भनिन् “विकट गाउँमा त्यसरी सेवा गर्नु सजिलो छैन् ।” 

आफूले पाएको सम्मानबाट सम्पूर्ण स्वंमसेविकाहरुले प्रेरणा लिई काम गर्न सहकर्मीहरुलाई सुझाव रजालीको थियो । “हेल्थ अवार्ड–२०७०” नेपालकै उत्कृष्ठ पुरस्कार बिजेता लक्ष्मी रजालीलाई सम्मान कार्यक्रममा बोल्दै पूर्व मन्त्री यामलाल कँडेलले निस्वार्थ सेवामा गर्नेहरुको पनि कामको मूल्याङ्कन हुँदो रहेछ भन्ने प्रेरणा लिनुपर्ने बताए । 
रजाली राष्ट्रिय पुरस्कारबाट सम्मानीत हुनु सुर्खेत जिल्ला र मध्यपश्चिमकै  खुसीको कुरा भएको बताए । तलब भत्ता खाएर पनि आफ्नो कामप्रति उत्तरदायी नहुने कतिपय कर्मचारीहरुले निस्वार्थ कुनै पनि तलब भत्ता विना काम गरिरहेका महिला स्वास्थ्य स्वंमसेविकाबाट पाठ सिक्न जरुरी रहेको कँडेलको भनाई थियो । 
सरकारले स्वास्थ्यका क्षेत्रमा ल्याएका जतिसुकै कार्यक्रमहरु गाउँ स्तरसम्म पु¥याई सफल बनाउन स्वंमसेविकाहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै कँडेलले स्वंमसेविकाहरुको लागि पनि सोच्नु पर्ने बताए । नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले निजामति सेवामा कार्यरत व्यक्तिहरुले रजालीबाट प्रेरणा लिएर काम गर्नुपर्ने बताए । 
ग्रामिण तथा दुर्गम क्षेत्रमा गएर काम गर्न नमान्ने प्रबृति बढ्दै समयमा लक्ष्मीको सेवालाई सबैले सम्मान गर्नु आवश्यक रहेको उनको भनाइ थियो । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य मोहन गिरीले बिना तलब अहोरात्र खटिएर काम गर्ने स्वंमसेविकाहरुको कामलाई सम्मान गर्दै अरुले पनि त्यसबाट प्रेरणा लिनुपर्ने बताए । 
संगठन सुर्खेतका अध्यक्ष नन्द विसीले निस्वार्थ अरुको सेवामा जीवन बिताउने स्वंमसेविकाहरुलाई उनीहरुको जीवनको पनि ग्यारेन्टी गर्न सरकाले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए । 
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघका राष्ट्रिय पार्षद सदस्य अमर रानाले लक्ष्मीको सम्मान मात्रै नभएर सम्पूर्ण स्वंमसेविकाहरुको सम्मान भएको बताए । रातदिन नभनि आफ्नो भन्दा अरुको समस्यालाई महत्व दिने स्वंमसेविकाहरुको सम्मान र कदर गर्नु पर्ने उनको भनाई थियो । 
नेपाल पत्राकर महासंघ शाखा, सुर्खेतका अध्यक्ष दुर्गा थापाले लक्ष्मीको सेवाको कदर गर्दै अन्य स्वास्थ्यकर्मीहरुले पनि प्रेरणाका रुपमा लिए स्वास्थ्य सेवा सशक्त हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्ण पौडेल, स्वंमसेविका संघ सुर्खेतकी अध्यक्ष शान्ता खड्का लगायतले बधाईका साथै प्रगतिको कामना गरेका थिए । 

No comments:

Post a Comment