सुर्खेत, १ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको मंगलबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । आयोगको पाँचै विकास क्षेत्रहरुमा मातहतका क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय कार्यालय मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगरमा कार्यालय स्थापना गरेको हो ।
मंगलबारदेखि आयोगकोे औपचारिक उद्घाटनसंगै कामकाज समेत सुरु गरिएको क्षेत्रीय प्रमुख मुकुन्दनाथ पन्थीले बताए । प्रमुख पन्थीले मध्यपश्चिमाञ्ल विकास क्षेत्रमा हुने गरेका अख्तियार दुरुपयोगका घटनाहरुलाई छिटो, छरितो रुपमा छानविन गर्ने बताए ।
क्षेत्रीय कार्यालय स्थापना भएपछि आयोगको केन्द्रीय कार्यालयमा पुग्न नसकेका घटनाहरु समेत कार्यालयमा आउने अपेक्षा गरिएको पन्थी बताउँछन् । अब देखि जिल्ला प्रशासनलाई दिइएको कतिपय अधिकारलाई अख्तियार आफैले प्रयोग गर्ने उनले बताए ।
२०६३ सालमा आयोगले राजपत्रांकित सूचना प्रकाशन गरी घटना प्रकृति हेरी जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार प्रदान गरेकोमा क्षेत्रीय कार्यालय स्थापना पछि सोझै आयोगले नै हेर्ने पन्थीले जानकारी दिए ।
आयोगमा थन्किएर रहेका तथा फैसला हुन ढिलाई भएका मुद्धाहरु र नयाँ मुद्धाहरुमा क्षेत्रीय कार्यालयले छानविन गरी छिटै फैसलामा पु¥याउने पन्थीको भनाई रहेको छ । स्थापनाकालमा क्षेत्रीय कार्यालयमा विभिन्न तहका १० प्रहरी र २७ निजामती गरी ३७ जना कर्मचारीहरु रहेको दरबन्दी सहित कार्यालय स्थापना गरिएको उपसचिव भानदेव बडुले जानकारी दिए । कर्मचारीहरुमा विभिन्न क्षेत्रका विशेषज्ञ टोली भएकाले काम काजमा छिटो छरितोका साथै प्रभावकारी अनुसन्धान गर्ने बताए बडुले ।
No comments:
Post a Comment