सुर्खेत, ४ असोज ।
पथिक फाउण्डेशनका आचार्यश्री पथिकले शिक्षाको वर्तमान ढाँचा र पाठ्क्रम परिवर्तनगरी माटो सुहाउँदो व्यवहारीक शिक्षा लागु गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पथिक फाउण्डेसन सुर्खेतले आयोजना गरेको त्रिभुजीय शिक्षा सम्बन्ध अन्तरक्रिया कार्यक्रममा पथिकले यस्तो बताएका हुन् । औधोगिक तथा कृषिको विकास गरी समग्र देशको उन्नतीका लागि व्यावहारिक शिक्षा हुनुपर्ने उनले बताए ।
“शिक्षामा सुधार भयो भने सबै क्षेत्रमा सुधार हुन्छ,” उनले भने “सैद्धान्तिक भन्दा व्यवहारिक र जिवनोपयोगी शिक्षा लागु गर्न आवश्यक छ ।” बालकको सकारात्मक सोचको विकास गरी सानैदेखि रुचिको विषयमा हौसला दिँदै उपुक्त वातावरण सृजना गर्न सके मात्रै उसले भविष्यमा खास प्रगति गर्ने पथिकको भनाई छ ।
नीति निर्माण तह र प्रयोगात्मक रुपमा विद्यालय विश्वविद्यालयहरुमा विषय गत शिक्षा अर्थात त्रिभुजीय शिक्षा प्रणाली सुरु गर्न आवश्यक रहेको उनले बताए । दक्ष जनशक्ति उत्पादन हुन नसकेका कारण र व्यावहारिक शिक्षा नभएका कारण अहिलेको शिक्षाले बेरोजगारी जन्माइरहेको बताउँदै उनले शिक्षा राम्रो नभएकै कारण राजनीति, कर्मचारी लगायतका क्षेत्रमा प्रभाव परेको बताए ।
त्रिभुजीय शिक्षाका रुपमा पथिकले मानविय शिक्षा, भाषा तथा सूचना शिक्षा आत्म शिक्षा र विज्ञान तथा दक्षता शिक्षाका रुपमा ब्याख्या गरेका छन् । उनले हालको शिक्षा पद्धतिलाई उल्टो ढाँचामा अडिएको, यसको जग पनि खाली र शिरको भाग पनि खाली रहेको, अनौपचारीक शिक्षाका रुपमा समाजिक सांस्कृतिक शिक्षा र औपचारिक शिक्षाका रुपमा सूचनामुखी आजिविका शिक्षाका रुपमा ब्याख्या गरेका छन् ।
उनले त्रिभुजीय शिक्षाले प्रचलित शिक्षाको उल्टो ढाँचालाई सुल्टाउने र यसको जगमा मानविय शिक्षा र शिरमा आत्मशिक्षाको श्रीपेच रहने बताएका छन् । नेपाल कृषि प्रधान देश हो जंगल जडीबुटी र जलस्रोतको धनि देश भएकाले सोही अनुसारको व्यावहारिक शिक्षाको आवश्यक हुनेमा अन्तरक्रियाका सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका डिन पीताम्बर ढकालले त्रिभुजीयका बारेमा छलफल र अध्ययन गरी दुर दृष्टिका रुपमा अघि बढाउन सकिने बताए । व्यावहारिक शिक्षाले मात्रै देश विकास हुन सक्ने बताउँदै ढकालले पाठ्यक्रम तथा योजनाहरु सोही अनुसार निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा सुर्खेत क्पाम्पस (शिक्षा) का प्रमुख डा. महेन्द्रकुमार मल्ल, उपक्षेत्रीय प्रशासक अर्नुज भण्डारी लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment