सुर्खेत, ५ असोज ।
एकीकृत नेकपा माओवादीको उक्साहटमा कैलालीको डुडेझारी वन क्षेत्र कब्जा गरेर बसेका सर्वसाधारण र सुरक्षाकर्मीबीच १९ मंसिर २०६६ मा भएको भिडन्तमा एक सुरक्षाकर्मीसहित सात जनाको ज्यान गयो ।
सोही घटनामा ज्यान गुमाउने मध्येका एक हुन्, सुर्खेतको तातापानी–५ का नरेन्द्र विक । सरकारले डुडेझारी घटनामा क्यान्टोनमेन्टमा भएका लडाकू प्रयोग गरेको आरोप लगाउँदा एमाओवादीले अस्वीकार गरेको थियो । मृतक नरेन्द्रको पाकेटबाट लडाकू परिचय पत्र भेटिदा पनि एमाओवादीले उक्त घटनामा लडाकू प्रयोग नगरेको दावी गर्दै आएको थियो । तर नरेन्द्र लडाकू नै भएको रहस्य खुलेको छ ।
घटना भएको ४ वर्षसम्म छोरा लडाकू भएको कुरा नखुलाएका नरेन्द्रका बुवा वीरवलले छोरा माओवादी लडाकू भएको रहस्य खोलेका हुन् । माओवादी सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आएपछि लडाकूको पहिलो प्रमाणिकरण गर्दा नरेन्द्र माओवादीमा प्रवेश गरेको उनले बताए ।
“ऊसँग पहिलो प्रमाणिकरण गर्दाको लडाकू परिचयपत्र समेत थियो” उनले भने, “तर २ महिना क्यान्टोनमेन्ट बसेर घर आउँदा पढ्नका लागि कैलाली पठाएका थियौ ।” पढ्नको लागि क्यान्टोनमेन्ट छोडेपनि नरेन्द्रले पार्टी भने छोडेका थिएनन् । डुडेझारी घटनामा मृत्यु भएपछि पार्टीले नै छोरो लडाकु हो नभन्नु भनेर ढाट्न पठाएको वीरवलले बताए ।
“छोरा लडाकू हो नभन्नु हाम्रो सरकार छ हामी तत्काल क्षतिपूर्ति उपलब्ध गराउँछौ भने” ४ वर्षसम्म रहस्य लुकाएर बसेका उनले भने, “तर आजसम्म क्षतिपूर्ति पनि दिएनन् ।” वीरबलले राहतका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराइलाई भेटे । सबैबाट राहतको मात्रै होइन छोरालाई सहिद् घोषणा गर्ने आश्वासन समेत पाए । तर आजसम्म न उनले राहत नै पाए न त छोरालाई सहिद् घोषणा नै भयो ।
छोराको श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्ड र नेता धर्मेन्द्र बास्तोला आएका थिए । उनीहरुले त्यत्तिबेला पनि आफ्नै सरकार छ भन्दै राहत उपलब्ध गराउने आश्वासन दिए । तर श्रद्धाञ्जलीसभाबाट फर्किएपछि उनीहरुले राहतको बारेमा कुरा नै गर्न छोडेको वीरबलले बताए ।
“पछिल्लो पटक काठमाण्डौ नै गएर भेट्दा प्रचण्डले यो आन्दोलन पार्टी केन्द्रले आयोजना गरेको नभई जिल्लाले गरेको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।” तर बाबुरामले भने एक महिनाभित्र सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनी बताउँछन् । छोराको क्रिया खर्च वापत १ लाख ५० रुपैयाँ भने उपलब्ध गराएको उनले बताए । उक्त पैसाले छोराको नाममा कैलालीमा जग्गा किनेको भन्दै उनले पार्टी वा सरकारले मागेमा त्यो पनि फिर्ता दिने बताए ।
उनलाई पार्टीले डुडेझारी घटनापछि छोरा माओवादी होइन भनेर विज्ञप्ति निकालेदेखि नै पार्टीप्रति विश्वास गुमेको थियो । “आफ्नै कार्यकर्तालाई हाम्रो होइन भनेर विज्ञप्ति निकालेपछि उनीहरुको के विश्वास गर्नु” उनले भने । जिल्ला तथा केन्द्र तहका नेताहरुले पनि अहिले छोरा लडाकु हो नभन्नु आन्तरिक रुपमा नै राहत उपलब्ध गराउँछौ भनेर झुठो बोलेको उनले बताए । नरेन्द्रकी आमा मिना अब राहत पाउने आश पनि बाँकी नरहेको बताउँछिन् । उनी भन्छिन्, “सडकमा गाडीले कुखुरा मार्दा पनि क्षतिपूर्ति पाउँछन् भने हाम्रो त छोरा मरेको छ, खोइ राहत पाएको ?”
No comments:
Post a Comment