सुर्खेत, १७ भदौ ।
पछिल्ला छ महिनामा सुर्खेत जिल्लामा मानव अधिकार उलङ्घनका घटनामा कमी आएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको इन्सेकले आइतबार वीरेन्द्रनगरमा प्रस्तुत गरेको अर्धबार्षिक रिपोर्ट अनुसार गत पुसदेखि असार महिना सम्ममा १ सय ९ वटा मानव अधिकार उलङ्घनका घटना घटेका छन् ।
गम्भिर प्रकृतिका मानव अधिकार उलङ्घनका घटनामा कमि आएपनि महिला हिंसा लगायतका घटनाहरुमा भने कमि आएको छैन् । ती घटनाहरु मध्ये सबै भन्दा बढी महिला हिंसाका ७० वटा घटना घटेका छन् । बाँकी ३९ वटा घटनाहरु भने राजनीतिक दल र राज्यबाट घटेका घटनाहरु रहेका छन् ।
मानव अधिकार उलङ्घनका घटनाहरु घटाउने राजनीतिक दलहरुमा नेकपा–माओवादी सबै भन्दा पहिलो नंम्बरमा छ । नेकपा–माओवादीबाट १० वटा मानव अधिकार उलङ्घनका घटनाहरु घटाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।
राज्यबाट पक्षबाट धम्कि र कुटपिटका ८, माओवादी समर्थित भातृ संगठनबाट कुटपिट तथा धम्कि १, नेपाली कांग्रेसबाट कुटपिट १, नेपाली कांग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघबाट कुटपिट १, एकीकृत नेकपा माओवादीबाट कुटपिट १ र अज्ञात समूहबाट कुटपिटका १ वटा घटना घटाइएको इन्सेकका सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले जानकारी दिए ।
प्रतिनिधि थापाका अनुसार महिलामाथि हुने बलात्कार, बेचविखन, यातना लगायतका घटना गरी गम्भिर प्रकृतिका ९ घटना घटाइएका छन् । त्यस्तै पछिल्लो छ महिनाको अवधिमा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धिका १ वटा घटना घटेको थापाले जानकारी दिए । गम्भिर प्रकृतिका घटनाहरुमा कमि आएको बताउँदै थापाले समिक्षामा अघिल्लो बर्षको तुलनामा करिब आधा कम घटना घटेको बताए ।
यसरी घटनाहरु कमि हुनुमा मानव अधिकारका उलङ्घनमा सुधार आएको देखिए पनि महिला माथि हुने घरेलु हिंसामा भने कमि हुन नसकेको थापाको भनाई छ । नेपाल मानव अधिकार संगठनका अध्यक्ष गोविन्द सुवेदीले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको भएपनि विकट गाउँहरुमा मानव अधिकार विरुद्ध भएका घटनाहरुलाई समेट्न नसकेको बताए ।
प्रस्तुत रिपोर्ट अनुसार मानव अधिकारको स्थिति सुधार उन्मुख देखिनुले देश शान्ति स्थापना तिर गैरहेको संकेत हुने उनको भनाई थियो । नेकपा एमालेका हरि अधिकारीले दल र मानव अधिकार उलङ्घन हुनुमा कसैले पनि उत्तरदायित्व नलिनुले सोचेअनुसार कमि आउन नसकेको बताए ।
मानव अधिकारलाई जन्मजातका रुपमा परिभाषित गर्दै बर्गिय रुपमा मानव अधिकारलाई बुझेमा गलत हुने भनाई व्यक्त गरे । अपराध भागबण्डा गर्ने चिज नभबताउँदै अपराध गर्ने कुरामा प्रतिस्पर्धा गर्न नहुने उनको भनाई थियो । नेकपा–माओवादीका सेक्रेटरी प्रशान्त आर.सीले इन्सेकले गाउँ ठाउँमा भएका घटनाहरु समेट्न नसकेको बताए ।
घटनाहरुको निस्पक्ष रुपमा रिपोर्टिङ गर्नुका साथै सदरमुकाममा भएका घटनालाई मात्रै रिपोर्टमा समेट्नु भन्दा पनि सबै घटना समेट्न आवश्यक रहेको बताए । जिल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका अन्य संघ संस्थाहरुका अनुसार महिला हिंसाका घटनाहरु पछिल्लो समय सम्बन्धित निकाय सम्म आउन थालेका छन् । घटनामा बृद्धि नभएको र बाहिर आउने कुरामा बृद्धि भएको महिलाका क्षेत्रमा काम गर्ने आवाज लगाएतका संस्थाहरुको भनाई छ ।
No comments:
Post a Comment