सुर्खेत ८ असोज ।
जंगलमा खेर गइरहेको खर (बावियो) पश्चिम बावियाचौरका महिलाहरुको लागि आम्दानीको राम्रो स्रोत बनेको छ । पहिले फुर्सदीको समय त्यतिकै बिताउने गरेका बावियाचौर–५ चत्तुरेका महिलाहरु बावियोको डोरी निर्माणगर्न थालेपछि आम्दानी गर्न लागेका हुन् ।
जंगलमा कुहिएर खेर गइरहेको बावियो संकलन गरी डोरी निर्माणबाट महिलाहरुलाई आयआर्जनमा समेत सहयोग पुगेको छ । पहिले बारीमा कुहिएर जाने गरेको बावियोबाट आम्दानी हुने देखेपछि गत बर्षबाट बावियोको डोरी निर्माण गर्दै आएका उनीहरुले यस वर्ष वर्षाको समयमा नजिकको भिरवारीमा खर (बावियो) का विरुवा रोपेका छन् ।
बावियोका डोरी निर्माण गरी स्थानीय बजारमा बिक्रि गरेपनि व्यावसायिक बन्न नसकेका उनीहरुलाई लघु उद्यम विकास कार्यक्रम सुर्खेतको आर्थिक सहयोगमा आवाज संस्थाले तालिम तथा प्राविधि हस्तान्तरण गरेपछि उनीहरुलाई व्यवसायिक बन्न सहयोग पुगेको हो ।
व्यवसायिक तालिम प्रदान गरिएपश्चात चत्तुरेका पाँच जना महिलाहरु बावियो व्यवसायीका रुपमा चिनिएका छन् । बावियोबाट डोरी, खाट तथा प्लास्टिकको डोरी प्रयोग गरिने गरेका कतिपय ठाउँमा प्रयोग हुने गर्दछ । बाध्यताले प्लाष्टिकको डोरी प्रयोग गरेपनि प्लाष्टिक नकुहिने हुँदा कृषि जन्य उत्पादन जस्ता ठाउँमा बावियोको डोरी प्रयोग गर्न पाएपछि माग समेत बढ्दै गएको उद्यम विकास सहजकर्ता योगेन्द्र सापकोटा ले वताए ।
व्यवसायीहरुलाई प्रत्यक्ष निगरानी गरिरहेका सहजकर्ता सापकोटाले बावियो डोरी सुर्खेत जिल्ला भन्दा पनि तराईका जिल्लामा बढीरहेको बताए । कच्चा पदार्थ बावियो जंगलबाट निःशुल्क रुपमा पाईने र डोरी निर्माण गर्नका लागि खासै दक्षता समेत आवश्यक नपर्ने भएपछि गाउँका अन्य महिलाहरु समत बावियो डोरी निर्माण तर्फ आकर्षित भएको सापकोटा बताउँछन् ।
‘जंगलमा खेर गईरहेको बावियो लाई प्रशोधनगरी डोरी निर्माण गर्दा स्थानीय समुदायको आय आर्जनको पाटो दरिलो भएको छ,’ सहजकर्ता सापकोटाले भने ‘सिप र ज्ञानको अभावका कारण बर्षैदेखि आफ्नै अगाडी खेरगईरहेको धन सदुपयोग गर्न सके आयस्तर बढ्छ ।’
बावियो डोरीबाट (चारपाई निर्माण, डोरीबाट बनाइएको खाट), तरकारी खेतीको टनेल वनाउन तथा प्लास्टिक डोरी प्रयोग गरिने अन्य कामका लागि बावियो डोरी प्रयोग गर्न उपयुक्त मानिएको छ । उत्पादित डोरी बिक्रिका लागि बजारको समस्या नहोस भन्नका निर्माण गरिएको बावियोको डोरी सुर्खेत लगायतका अन्य जिल्लामा समेत निर्यात गर्न लघु उद्यमले सहयोग गर्ने बताईएको छ ।
हाल सुर्खेतमा उत्पादित बावियोको डोरी कैलाली, बाँके, वर्दिया दाङ लगायतका जिल्लाहरुमा बिक्रि भइरहेको बताइएको छ । व्यवसायीहरुले हाल एक किलो बावियाको डोरीको मूल्य ४० देखि ५० रुपैयाँसम्ममा बिक्रि गर्ने गरेको बताएका छन् । उद्यमीहरुले बावियाको सिजनमा बावियोका डोरीहरु बनाउनुका साथै खाली समयमा कृषि पेशा समेत गदै आएको व्यवसायी महिलाहरु बताउँछन् ।
No comments:
Post a Comment