Wednesday, November 27, 2013

संविधान सभा निर्वाचन–२०७०

सुर्खेतमा त्रिपक्षिय भिडन्त

सुर्खेत,९ कार्तिक ।
संविधानसभा निर्वाचनको मिति आउन तीन हप्ता मात्रै बाँकी छँदा जिल्लामा निर्वाचनको माहोल तातेको छ ।  सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा त्रिपक्षिय भिडन्त हुने सम्भावना बढेको छ । मुख्य त एनेकपा माओवादी, नेपाली काँग्रेस र एमाले विचमै प्रतिस्पर्धा हुने देखिएको छ  ।

निर्वाचनको मुखमा राजनीतिक दलका घरदैलो र सभा सम्मेलनहरुलाई नियाल्दै बुद्धिजीवी देखि सर्बसाधारण मतदाताहरुले दल र उम्मेदवारको जित र हारको आँकलन गर्न थालेका छन् ।
सुर्खेत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट निर्वाचित हुने तीन सीटका लागि ४७ जनाले प्रत्यक्ष उम्मेदवारी दर्ता गराएका छन् । गत संविधानसभाको निर्वाचनमा मध्यपश्चिममै सुर्खेतलाई आफ्नो बलियो पकट बनाएको नेकपा एमाले यस पटकको निर्वाचनमा पनि आफ्नो बर्चस्व कायम राख्ने धेरैजसोले अड्कल बाजी गर्न थालेका छन् ।
गत निर्वाचनमा क्षेत्र नं. १ र २ मा विजयी र क्षेत्र नं. ३ मा निकटतम प्रति द्वन्द्वी भएको एमालेले यसपालीको निर्वाचनमा तीन वटै क्षेत्रमा आफ्नो जित हुने दाबि गरेको छ । एमालेको लोकप्रिय र प्रष्ट नीति तथा कार्यक्रम जनताको एमाले प्रतिको विश्वास, बहुमत संगठित सदस्य, गाउँ गाउँमा संगठन र जनप्रिय उम्मेदवार भएकाले तीन वटै क्षेत्रमा एमालेको जित हुने एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले जिकीर गरे ।
सुर्खेतमा एमाले सधै बलियो भएकाले प्रतिपक्ष पार्टीहरुले उम्मेदवार माथिको आक्रमण र हत्यासम्मनको दुश्प्रयास गर्ने गरेको रावतको भनाई छ । रावतले एमालेको बहुमतदेखि आत्तियर गत संविधानसभाको निर्वाचनमा आफ्ना बलिया नेता तथा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार ऋषिप्रसाद शर्माको अर्काको जित सहन नसक्ने व्यक्तिको षडयन्त्रमा क्रुरतापूर्वक हत्या गरिएको आरोप लगाए ।
जनताले माया र विश्वास गरी जिताएका उम्मेदवारहरु कमला शर्मा र यामलाल कंडेललाई बाँकी रहेको कार्यभार पुरा गर्नकालागि जनताले यसपटक पनि जिताउने एमालेले विश्वास लिएको छ ।
भने क्षेत्र नं. ३ का उम्मेदवार तथा पार्टी अध्यक्ष नवराज रावत गत निर्वाचनमा निकटतम प्रतिद्धन्द्धीका रुपमा रहेको र विजयी भएको माओवादी समेत फुटेकोले यस पटक पश्चिम क्षेत्रमा एमालेप्रतिको जनलहरले विजयी गराउने एमालेको  दाबि गहेको छ । केही बिश्लेषक तथा अड्कल बाजी गर्नेहरुले भने क्षेत्र नं. २ का उम्मेदवार कंडेलका बिरुद्ध पार्टीका उपाध्यक्ष शिवप्रसाद उपाध्यायले स्वतन्त्र उम्मेदवार दिएपछि क्षेत्र नं. १ र ३ भन्दा एमालेका लागि बढी संघर्ष गर्नुपर्ने बताउँदै आएका छन् ।
गत निर्वाचनमा क्षेत्र नं. ३ मा जित हात पारेको एनेकपा माओवादीले पनि यसपटक तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित हुने दाबि गरेको छ । गत निर्वाचनमा क्षेत्र नं. २ र १ बाट तेस्रो स्थानमा रहेको  र बैद्य माओवादी विभाजन भएकाले पनि एमाओवादीका लागि पुरै क्षेत्र जित्नका लागि निकै संघर्ष गर्नुपर्ने अड्कल गरिन्छ ।
जनताको विश्वास प्रचार प्रसारका साथै जनलहरका कारण एमाओवादीका भेरी–कर्णाली राज्य समिति सदस्य कृष्ण जिसी यसपटक निर्वाचनमा सुर्खेतमा आप्mनो बलियो उपस्थीति रहने बताउँछन् । पुरानो क्षेत्र नं. ३ बाट जितेका नरबहादुर बिष्टलाई र क्षेत्र नं. २ बाट पार्टी सेक्रेटरी भिमबहादुर मल्ल र क्षेत्र नं. १ बाट ठम्मर बिष्टलाई उम्मेदवार बनाइएको र गाउँ अभियानमा जनलहर देखिएकाले आफ्नो पकट हुने जिसीको विश्वास छ ।
चुनावी अभियानमा होमीएको कांग्रेस पनि तीन वटै क्षेत्रमा आफ्नो जित हुने विश्वासमा रहेको छ । क्षेत्र नं. १ मा काँग्रेसका केन्द्रीय स्तरका नेता, क्षेत्र नं. २ मा एमाले भित्रको किचलो र क्षेत्र नं. ३ मा नयाँ पार्टी सभापति उम्मेदवार भएकाले पनि यस पटक गुमेका तीन वटै क्षेत्रमा विजयी हुने काँग्रेसीहरुको अडकल रहेको छ ।
राप्रपा नेपाल कमजोर भएको समयमा कांग्रेस प्रवेश गर्नेहरु धमाधम पुरानै पार्टीमा फर्कन थालेपछि कांग्रेसको जितमा पनि संघर्ष गर्नुपर्ने विश्लेषण गरिएको छ । नेपाली काँग्रेसको तीन वटै क्षेत्रबाट राप्रपा नेपालका उम्मेदवारले मत काट्ने र जनजातिहरुको पार्टी संघीय समाजवादीले समेत मत काट्ने देखिएको छ । काँग्रेस भित्रकै दुई लाईन संघर्ष र अर्को तर्फ साना पार्टीहरुले सबै भन्दाबढी काँग्रेसलाई क्षति पुग्ने देखिन्छ ।
सुर्खेत क्षेत्र नं. २ मा गत निर्वाचनमा विजयी एमालेबाट स्वतन्त्र उठ्नुले एमालेलाई केही घाटा लाग्ने र राप्रपा नेपाल क्षेत्र नं. २ का उम्मेदवार मुकुन्दश्याम गिरी प्रतिस्पर्धामा आउँनु, कांग्रेसकै कार्यकर्ता अखण्ड नेपालमा लाग्नुले निकटतम प्रतिद्वन्द्वी काँगेसलाई घाटा लाग्ने देखिए पछि अन्यौल बढेको छ । गत निर्वाचनमा तेस्रो स्थानमा रहेको एमाओवादी पनि विभाजन भएपछि  सजिलै यो पार्टीले जित्छ भन्ने अनुमान नरहेको विश्लेषकहरुको भनाई छ ।


गत निर्वाचनको मत परिणाम ः

क्षेत्र नं. १ मा
कमला शर्मा, नेकपा एमाले –१८८०४
लालबहादुर घले, नेपाली कांग्रेस–१२३३५
खड्कबहादुर घर्ती, एनेकपा माओवादी–१०८७८
क्षेत्र नं. २ मा
यामलाल कंडेल,  नेकपा एमाले– १६२९७
हृदयराम थानी,  नेपाली कांग्रेस–१४६९३
सीताकुमारी नेपाली, एनेकपा माओवादी –१४४४१
क्षेत्र नं. ३ मा
नरबहादुर विष्ट, एनेकपा माओवादी–१७४२९
नवराज रावत, नेकपा एमाल–१०८९६
शिवराज जोशी, नेपाली कांग्रेस– ६५०४

No comments:

Post a Comment