Wednesday, November 27, 2013

एजेण्डा एउटै दल फरक

गोविन्द खत्री
सुर्खेत, ११ कार्तिक ।

संविधानसभा निर्वाचनमा फरक–फरक राजनीतिक दल र स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुका फरक भएपनि उनीहरुका भोट माग्ने एजेण्डामा भने खासै फरक छैनन् ।

संविधानसभाको निर्वाचन हुन गइरहेको भएपनि अधिकांश उम्मेदवारहरुले भोट माग्ने पहिलो आधारका रुपमा विकास निर्माणको एजेण्डालाई उठाएका छन् । अधिकांश उम्मेदवारहरुले २०६४ को निर्वाचनमा संविधान निर्माणको एजेण्डा भजाएर एक पटक भोट मागिसकेकाले  यस पटक भने भोट माग्ने आधारका रुपमा विकास निर्माणलाई पहिलो बनाएका हुन् ।
नेपाली जनताले आफ्नो भाग्य र भविश्य लेख्ने जिम्मेवारी दिएर पार्टीहरुलाई गत संविधानसभा निर्वाचनमा मतदान गरेपनि दलहरुले संविधान लेख्न नसकेपछि जनतामा भने यसपटक त्यति साह्रो जोश जाँगर पनि देखिदैन् । संविधानसभा विगठन गरेपछि पुनः संविधान बनाउने एजेण्डा लिएर जनतासामु जान सहज नदेखेपछि उम्मेदवारले विकास निर्माणका विषयलाई प्रमुख एजेण्डा बनाएको विश्लेषण गरिन्छ ।
सुर्खेत जिल्लामा अधिकांश उम्मेदवार गत निर्वाचनमा जितेका र उम्मेदवारी दिएकै व्यक्ति यस पटक पनि उम्मेदवार छन् । तीनका एजेण्डा र भाषण पनि पुरानै घोषणा पत्रमा नविकरण गरिएजस्तै भएकाले होला प्रायः सबैको प्रतिबद्धताहरु मिल्ने खालका छन् ।
भोट माग्दा सबैले विकास निर्माणका साझा आश्वासन दिने र जितेपछि भने आ–आफ्नै बाटो लाग्ने परिपाटीले सुर्खेत पर्यटन, कृषि, उद्योगधन्दा, जडीबुटी लगायतका थुपै क्षेत्रमा संभावना भएको जिल्ला हुँदा हुँदै पनि अभैंmसम्म अपेक्षित विकास हुन सकेको छैन् ।
अहिलेको निर्वाचनबाट निर्वाचित सभासदहरुले एक बर्षसम्म संविधानसभाको काम गर्ने र बाँकी तीन बर्ष व्यवस्थापिका सदस्यका रुमपा काम गर्ने भएकाले पनि होला उम्मेदवारहरुका एजेण्डा संविधान भन्दा पनि विकास केन्द्रीत रहेका छन् ।
उम्मेदवारहरुले जिल्लाको समग्र विकास बारे आफ्नो धारणा उल्लेख गर्ने क्रममा काँक्रेबिहारको पुनःनिर्माण र विकासलाई सबैले प्राथमिकता दिएका छन् । एमाले क्षेत्र नं. २ का उम्मेदवार यामलाल कंडेलले आफ्नो प्रतिबद्धता पत्रको १ नं. बुँदामा ‘काँक्रेबिहारलाई पर्यटन विकास समिति मार्पmत पुनःनिर्माण गर्ने र जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने’ उल्लेख गरेका छन् ।
काँक्रेबिहार, बुलबुले, देउतीबज्यै, जाजुरा दह, बराह ताल लगायतका क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर पर्यटनको विकासमा नयाँ कदम चाल्ने एकीकृत माओवादीले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । राप्रपा नेपालका उम्मेदवार मुकुन्दश्याम गिरीले आफ्ना प्रतिज्ञाहरुमा काँक्रेबिहारको पुर्ननिर्माण कार्यका लागि पहल गर्ने उल्लेख गरेका छन् ।
स्वतन्त्र उम्मेदवार शिवप्रसाद उपाध्यायले काँक्रेबिहारलाई विश्व सम्पदा सुचिमा समावेश र पुनःनिर्माणका लागि आवश्यक पहल गर्ने  प्रतिबद्धता गरेका छन् । स्थानीय रुपमा लिखित घोषणापत्र नबनाएपनि नेपाली कांगे्रसले पनि काँक्रेबिहारको पुर्ननिर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउने गरेको छ ।
दल र उम्मेदवारहरु फरक भएपनि काँक्रेविहारको बारेमा सबैको धारणा एकै किसीमको छ । यस्ता प्रतिबद्धता यस अघिका स्थानीय र अन्य निर्वाचनमा नभएका होइनन् तर पनि काँक्रेविहारकोे हविगत भने ज्यूका तिऊ छ । उम्मेदवारहरुले भोट माग्दा सस्तो र लोकप्रिय एजेण्डा रुपमा काँक्रेविहारलाई लिने र निर्वाचन सकिएपछि त्यसको विकास र पुर्ननिर्माणमा कसैले पनि चासो दिएका छैनन भन्ने कुरा काँक्रेविहारको हालको अवस्थाले प्रष्ट हुने लाटीकोइलीका एक युवा बताउँछन् । 
विकास निर्माणमा प्राय सबै उम्मेदवारका अधिकांश एजेण्डाहरु मिल्दा–जुल्दा छन् । क्षेत्रीय अस्पतालको सन्दर्भमा एमाओवादीले सबै प्रकारको साधान स्रोत सम्पन्न बनाउने भनेको छ । एमालेले साधन सम्पन्न अस्पतालको रुपमा विकास गर्न पहल गर्ने र राप्रपा नेपालले भौतिक सुधार, आवश्यक साधन र प्रविधिक व्यवस्थापन पक्षमा गम्भिरतापूर्वक लाग्ने प्रतिबद्धता गरेको छ ।
क्षेत्रीय अस्पतालको दृष्किोणमा उम्मेदवारहरुले फरक फरक कोणबाट भएपनि एउटै उद्देश्य राखेको प्रष्ट हुन्छ । त्यस्तै दलहरुको अर्काे साझा एजेण्डा हो सुकुम्वासी समस्या । सुकुम्वासी समस्याका बारेमा राप्रपा नेपालले सुकुम्वासी समस्या समधान गराउन पहल गर्दै नापी भएका पुर्जा उपलब्ध गराउन दवाब दिने उल्लेख गरेको छ ।
एमालेले वितरण गरिएका पुर्जालाई तिरो चलाउनका लागि पहल गर्ने भनेको छ भने एमाओवादीले भूमिहीन सुकुम्वासीहरुका लागि उचित व्यवस्थापन गर्न बिशेष पहल गरिने मात्रै उल्लेख गरेको छ ।
सुर्खेतमा सिटीहल निर्माण, भेरी–बबई ड्राइभर्सन योजना, चौकुने सिमेन्ट कारखाना, उपत्यकाको खानेपानी समस्या समाधान गर्ने, स्वास्थ्य शिक्षा, सडक संञ्जाल र विद्युतीकरणका विषयमा सबै दल र उम्मेदवारहरुको एउटै खालको धारणा रहेको छ । जिल्लाको विकास निर्माण सम्बन्धीको धारणालाई हेरेर जनताले भोट दिने हो भने उम्मेदवारहरुका एकै किसीमका एजेण्डाहरुले कुन उम्मेदवारलाई भोट दिने भन्ने विषयमा जनताहरुलाई अन्यौल बनाएको छ । तर सस्ता र लोकप्रिय एजेण्डाहरुलाई जनताका अगाडी तेस्र्याएपनि जितेपछि प्रतिबद्धता पुरा गर्नतर्फ कसले कत्तिको चासो दिन्छ भन्ने कुरालाई जनताले मुल्याङ्कनको कडी बनाउनुपर्छ ।
मतदाताले आफूले दिएको मत राम्रा उम्मेदवारलाई परोस र सो मतको सदुपयोग होस् भन्ने चाहान्छन् । अहिले घरदैलो अभियानमा आश्वासन बाँड्दै हिडेका उम्मेदवारहरुलाई जनताले असली रुप चिनेर मात्रै मतदान गर्ने हो भने मुलुकको संविधान बन्ने र जिल्लाको विकासमा समेत सहयोग पुग्ने विश्लेकषकहरु बताउँछन् ।

No comments:

Post a Comment