सुर्खेत, १४ मंसिर ।
नेकपा एमाले सुर्खेतले पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने आठ जनाको संगठित सदस्यता निलम्बन गरेको छ ।
संविधान सभा निर्वाचन २०७० मा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका शिवप्रसाद उपाध्यायको पक्षमा लागेको भन्दै एक बर्षका लागि सदस्यता निलम्बन गरिएको हो ।नेकपा एमाले सुर्खेतले पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने आठ जनाको संगठित सदस्यता निलम्बन गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको बैठकले विभिन्न जिम्मेवारीमा रहेका आठ जनालाई पदमुक्त गर्दै संगठित सदस्यता एक बर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारको प्रचार–प्रसार गर्न सक्रियतापूर्वक लागेका जिल्ला कमिटी सदस्यहरु अमृतबहादुर विसी, पूर्णबहादुर शाही, टिकाराम सोमै, खड्कबहादुर केसी, लोकप्रसाद चालिसे र क्षेत्र नं. २ का क्षेत्रीय कमिटी अध्यक्ष पूर्णबहादुर थापालाई पदमुक्त गरी १ बर्षका लागि संगठित सदस्यता निलम्बन गरिएको छ ।
त्यसैगरी जिल्ला सल्लाहकार सदस्य शिवप्रसाद उपाध्यायलाई पदमुक्त गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यबाट कारवाही गर्न सम्बन्धित फाँटमा सिफारिस गर्दै संगठित सदस्यता १ बर्षको लागि निलम्बन गरिएको छ । त्यसैगरी कर्मचारी संगठन सुर्खेतका अध्यक्ष नन्दबहादुर विसीको संगठित सदस्यता १ बर्षको लागि निलम्बन गर्दै कारवाहीको लागि सम्बन्धित फाँटमा सिफारिस गर्ने निर्णय गरिएको जनाईएको छ ।
युवा संघ नेपालका केन्द्रीय सदस्य प्रकाश सारुको समेत संगठित सदस्यता १ बर्षका लागि निलम्बन गर्दै कारवाहीका लागि युवा संघ नेपालमा सिफारिस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठक जिल्ला कमिटी अध्यक्ष नवराज रावतको अध्यक्षतामा पार्टी कार्यालय ऋषि स्मृत भवनमा सम्पन्न भएको थियो ।
बैठकमा राष्ट्रिय प्रतिनीधि परिषद सदस्यहरु यामलाल कँडेल, बालाराम शर्मा, बालकृष्ण विसी, नन्दा शर्मा र अञ्चल कमिटी सदस्य चुडामणी शर्माको समेत उपस्थिति रहेको थियो । बैठकले वी.न.न.पा.–४ का पूर्व वडा अध्यक्ष खगेन्द्र सुवेदीको असमायिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
दोस्रो संविधान सभा निर्वाचन २०७० मा प्रतिकुल परिस्थितिका विचमा नेकपा एमालेको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाता, पार्टीको पक्षमा अहोरात्र खट्ने सम्पूर्ण कार्यकर्ताहरुलाई हार्दिक धन्यवादका साथै निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय एमालेले गरेको छ ।
बैठकले संविधान सभा सदस्य निर्वाचन–२०७० का लागि सुर्खेत क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पार्टी उपाध्यक्ष शिवप्रसाद उपाध्याय, प्रस्तावक, समर्थकहरु जिल्ला कमिटी सदस्य यज्ञ रेग्मी, लक्ष्मी शर्मा, जिल्ला सल्लाहकार संयोजक हेमध्वज थापा, क्षेत्र नं. २ का क्षेत्रीय कमिटी सदस्य थमप्रसाद गौतमलाई पार्टी केन्द्रीय संगठन विभागले २०७० कार्तिक ६ गते पार्टी संगठित सदस्य नरहने गरी गरिएको कारवाही कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
एमाले बैठकले जिल्ला कमिटीका सदस्य चित्रबहादुर रेग्मी काँग्रेस प्रवेश गरेको र दत्ते कामी एमाओवादी प्रवेश गरेकोले निजहरुलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गरेको छ ।
No comments:
Post a Comment