Saturday, November 30, 2013

पत्रकारितामा आकर्षण बढ्दो

सुर्खेत, १५ मंसिर  । 
सुर्खेतमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिताको अध्ययन सुरु भएपछि यो क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको छ । गत बर्षदेखि विश्वविद्यालयले स्नातक तहमा सुरु गरेको पत्रकारिता विषयमा पहिलो सेमेस्टरमा १० जना विद्यार्थी मात्रै भर्ना भई अध्ययन गरेकोमा यसपटक दोब्बर विद्यार्थी सम्पर्कमा आएका छन् । 

पत्रकारीता गरिरहेका वा अन्य कुनै पनि विषयमा दश जोड दुई उत्तीर्ण गरेका विद्यार्थीहरुले यो विषयको अध्ययन गर्न थालेका हुन् । नयाँ सेमेस्टरका लागि विश्वविद्यालयले भर्ना आव्हान गरेका अन्य नयाँ विषयमा कमै विद्यार्थी सम्पर्कमा आएको भएपनि पत्रकारितामा भने मध्यपश्चिमका विभिन्न जिल्लाहरुका विद्यार्थीहरु सम्पर्कमा आइसकेको पत्रकारिता डिपार्टमेन्टले जनाएको छ । 
अहिलेसम्म सुर्खेतसहित बाँके, बर्दिया, दैलेख, जाजरकोट लगायतका जिल्लाका करिब २० जना विद्यार्थीहरु सम्पर्कमा आएको पत्रकारिता विषयका प्राध्यापक भानुभक्त अधिकारीले जानकारी दिए । विश्वविद्यालयमा स्नातक तहमा पत्रकारिता पढाई सुरु भएपछि यहाँको जन उच्च माध्यमिक विद्यालयले पनि उच्च मावि तहमा पत्रकारिता विषयको अध्ययन गराउन थालेको छ । 
जनसेवा उच्च मावि घुस्रा, अमरज्योती नमूना उच्च मावि नेवारे, श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविले विश्वविद्यालय स्थापना हुनु पहिले नै पत्रकारिता अध्ययन गराइरहेका थिए । यी चार वटा विद्यालयमा गरी एक बर्षमा झण्डै दुई सय विद्यार्थीहरुले अध्ययन गर्ने गर्दछन् भने सय जना भन्दा बढीले दश जोड दुई उत्तीर्ण गर्ने गर्छन ।

No comments:

Post a Comment