नेकपा एमालेको तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रहेको यामलाल कंडेलले सुर्खेतका तीनवटै क्षेत्रमा एमालेको विजय सुनिश्चित भएपनि पार्टी निर्णय विरुद्ध उम्मेदवारी दिएका कारण एमालेले हारेको दाबि गरेका छन् ।
कंडेलले शनिबार प्रेस विज्ञप्ति मार्फत पार्टी भित्र केही अवसरवादी एवम् अराजकहरुका कारण एमाले पराजित भएको उल्लेख गरेका हुन् । कंडेलले निर्वाचनमा आएको मत परिणामलाई सहर्ष स्वीकार गर्दै सूर्य चिन्हमा मतदान गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
क्षेत्र नं २ बाट विजयी नेपाली कांग्रेसका हृदयराम थानीलाई हार्दिक बधाई ज्ञापन गर्दै कंडेलले संविधानसभालाई सार्थक बनाउन सकारात्मक र दक्ष भूमिकाको अपेक्षा गरेका छन् । त्यसैगरी नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले समेत विज्ञप्ति निकाल्दै मतदाता तथा एमालेका शुभेच्छुक, शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण उत्पन्न जटिल परिस्थितिलाई चिर्ने प्रयास र प्रयत्नका साथ अगाडी बढ्दा पार्टीलाई माया गर्दै अमूल्य मतदान गर्ने मतदाता तथा शुभचिन्तकहरुमा कृतज्ञता जाहेर गरिएको छ । आगामी दिनहरुमा कत्तिपनि विचल्लित नभई निरन्तर जनताको पक्षमा उभिइ जनताको सेवा गर्न पार्टीमा कटिबद्ध भएर लाग्न समेत अनुरोध गरिएको छ । नगर अध्यक्ष पूर्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको थियो ।
No comments:
Post a Comment