Monday, December 9, 2013

हप्तामा दुई सवारी दुर्घटना

सुर्खेत, २३ मंसिर ।
जुम्लाको सिंजादेखि गोठी र जिउलादेखि गमगढीसम्मको सडक साँघुरो भएका कारण हप्ता दिन नपुग्दै दुईवटा गाडी दुर्घटनामा परेका छन् । खाद्य संस्थानको चामल बोकेर सुर्खेतदेखि गइरहेको भे १ त २२१२ नम्बरको ट्याक्टर मुगु र जुम्लाको सीमानामा पर्ने घुच्ची लेकको सातमोड भन्ने ठाउँमा दुर्घटनामा परेको हो । 

ट्रयाक्टर दुर्घटनामा घाइते भएका चालक तुलसी खड्कालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीमा रहेको ४० क्विन्टल चामल भिरमा छरिएको छ भने गाडी काम नलाग्ने अवस्थामा पुगेको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदार भीमबहादुर बुढाले बताए ।
ट्रयाक्टर सडकबाट करिव ७ सय मिटर तल खसेको बताइएको छ । ४ दिनअघि गमगढीतिर गईरहेको भे १ त २५५१ नम्बरको टयाक्टरपनि त्यहि ठाउँमा दुर्घटना हुँदा पिना गाविस–३ का रामदेव रावलको मृत्यु भएको थियो भने चालक भरत रावल घाइते भएको बताइएको छ ।
नाग्मदेखि गमगढीसम्मको ९४ किमी सडकको निर्माणको काम नेपाली सेनाले पूरा गरी अघिल्लो वर्ष पुष १ गते उद्घाटन भएको थियो । निर्माण भएको एक वर्ष बितिसक्दापनि सडकको स्तरोन्नत्ति नहुँदा सुर्खेतदेखि गमगढी आउने गाडी जोखिमपूर्ण अवस्थामा हप्ता दिन बढी समय लगाएर गमगढी पुग्ने गरेका छन् ।

No comments:

Post a Comment