Monday, December 9, 2013

राकमको भेरी पुल निर्माणमा अवरोधै अवरोध

सुर्खेत, २३ मंसिर, सुर्खेत । 
सुर्खेत–जाजरकोट सडक खण्डको राकमको भेरी नदीमा ७ वर्ष अघिदेखि निमार्णाधीन अवस्थामा रहेको पुल अझै निर्माण कार्य सकिएको छैन । सुर्खेत जाजरकोट मुख्य सडक जोड्ने उद्देश्यले पुल निर्माण कार्य सुरु गरेपनि कहिले ठेकेदारको लापरबाही त कहिले प्रतिकूल मौसमलगायतका कारणले अहिलेसम्म बन्न नसकेको हो । सुर्खेत, जाजरकोट, डोल्पा लगायतका बासिन्दाहरुलाई आवात जावतमा सहज होस भनेर नै राकमको भेरीमा पुल निर्माण कार्य सुरु गरिएपनि निर्माण भइ सक्नुपर्ने समय विति सक्दापनि अहिलेसम्म बन्न सकेको छैन ।
अहिलेसम्म पुलको पिल्लर उठाउने कामपनि अधुरो छ । विगतका वर्षहरुमा ठेकेदारको लापरवाहीले गर्दा पुलको निर्माण कार्य ढिला भएपनि यसवर्ष भने वर्षातको कारणले गर्दा पुल निर्माण कार्य सम्पन्न हुन नसकेको डिभिजन सडक कार्यालय सुर्खेतले दावी गरेको छ । कार्यालयका अनुसार पुल निर्माण कार्य आर्थिक वर्ष २०६३÷०६४ देखि सुरु भएको थियो । सुर्खेत–जाजरकोट जोड्ने उक्त पुल निर्माणको टेन्डर काठमाडौँको स्वछन्द निर्माण सेवालाई परेको थियो । 

गत जेठ महिनाभित्र नै पुल निर्माण कार्य सकिसक्नु पर्ने भएपनि पुलको जगमा गर्नुपर्ने कामहरु अझै वाँकी रहेको छ । कार्यालयका डिभिजन प्रमुख भानु जोशीले सुर्खेत–जाजरकोट मुख्य सडक जोड्ने पुलका लागि करिब ११ करोड वजेट छुट्याइएको जानकारी दिए । 
आधा काम गरेको भन्दै स्वछन्द निर्माण सेवाले ६ करोड रकम बुझिसकेको उनले वताए । विगतका वर्षमा ठेकेदारको लापरवाहीले पुल निर्माण कार्य ढिला भएपनि यसवर्ष भने वर्षातको कारणले काम अवरुद्ध हुन पुगेको उनले जानकारी दिए । 
आउँदो पुसको पहिलो हप्तादेखि काम पुनः सुरु गरिने जानकारी प्रमुख जोशीले दिए । सो स्थानमा पुल नहुँदा सुर्खेतको पूर्वि क्षेत्र लगायत जाजरकोट, रुकुम, सल्यान, डोल्पाका हजारौं बासिन्दाहरुले सास्ती खेप्नु परेको छ ।

No comments:

Post a Comment