Saturday, December 21, 2013

दुई सय दुई मानवअधिकार उलंघन

सुर्खेत, ६ पुस ।
सन् २०१३ मा सुर्खेत जिल्लामा २ सय २ मानवअधिकार उलंघनका घटनाहरु भएका छन् ।  इन्सेकले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक सन् २०१४ को पूर्व समिक्षा कार्यक्रममा जिल्लामा मानव अधिकार उलङ्घन सम्बिधका सो घटनाहरु घटेको जनाइएको हो । 

प्रतिवेदन अनुसार घटनामा यस बर्ष भने विगतको तुलनामा कमी आएको छ । प्रतिवेदनले जिल्लामा मानवअधिकारको अवस्था सुध्रदै गएको देखाएको छ । समिक्षामा पुस्तक बारे जानकारी गराउँदै इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापा मगरले गोलीबाट घाइते २, राज्यपक्षबाट धम्की कुटपिट १०, नेकपा माओवादी ९, नेपाली कांग्रेसबाट ३, नेपाल विद्यार्थी संघबाट १, अज्ञात समूहबाट १, गैरकानुनी गिरफ्तार ६, अभिव्यक्ति भेला हुने संगठित हुने अधिकार १, बलात्कार र बलात्कार प्रयास १२, जातिय विभेद १, आर्थिक समाजिक तथा सांस्कृतिक अधिकार ८ घटनाहरु भएको जानकारी दिए । 
मगरले दिएको जानकारी अनुसार सन् २०१३ मा बलात्कार र बलात्कार प्रयासका १२ वटा घटनाहरु भएको छ, यो संख्या सन् २०१२ को भन्दा दोब्बर हो । पूर्व समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको ढिलासुस्तीका घटनालाई पनि इन्सेकले समाबेश गर्नुपर्नेमा जोड दिएका छन् । 
जनतालाई छिटो छरितो सेवा सुविधा नदिई दुःख दिनु झनै गम्भीर प्रकृतिको मानवअधिकार हननको घटना भएको भन्दै उनीहरुले त्यस्ता घटनाहरुलाई पनि समाबेश गर्न सुझाव दिएका हुन् । नेपाली कांग्रेसका यज्ञबहादुर बिसीले जिल्लामा मानवअधिकारको अवस्था सुध्रदै जानु सकारात्मक रहेपनि मानवअधिकार हननका घटना नरोकिनु दुःख रहेको बताए ।
आफन्तहरुबाटै नाबालिकाहरु बलात्कृत भएका छन्, उनले भने, यस्ता प्रकृतिका घटनाहरु जिल्लाको इज्जत र प्रतिष्ठामा दाग लाग्न नदिन हामी सबै जागरुक हुन जरुरी छ । नेकपा एमालेका धुब्रकुमार शाहीले मानवअधिकार हननका घटनाहरुलाई उजागर गरी पीडितलाई न्याय दिलाउने अभियानमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताए । 
उनले तथ्याङ्करु संकलन सत्य, तथ्य र निष्पक्ष हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रकाश अधिकारीले मानवअधिकार हनन्का घटनाहरु रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको बताए । प्रहरी र सेनाले बल जफत गरेका घटनालाई मात्रै मानव अधिकार उल्लंघन नभई जनतालाई दिइने सबै किसिमका सास्तिहरुलाई उलंघन मान्नुपर्ने उनको भनाई थियो । 
कार्यक्रममा एकिकृत नेकपा माओवादीका केशव शाही, राप्रपा नेपालका अमृत राना, नेकपा माओवादीका प्रशान्त आर.सी, स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापा लगायतको सहभागीता रहेको थियो । कार्यक्रम इन्सेक सुर्खेत प्रतिनीधि दुर्गा थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment