सुर्खेत, ६ पुस ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजित लगानीका सम्भावना विषयक क्षेत्रीय गोष्ठी घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रबार देखि वीरेन्द्रनगरमा जारी लगानीका अवसर विषयक गोष्ठीले मध्यपश्चिमको विकास गर्न कृषि, जडिबुटी, पर्यटन र जलविद्युत समेटिएको घोषणा पत्र जारी रहेको हो ।
आगामी पाँच बर्ष भित्रमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल सुर्खेतको रामघाट गाविसमा निर्माण गरिसक्न नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ । ‘नेपाल पर्यटन तथा व्यापार मेला–२०७०’ अन्र्तगत यही पुस पाँच र छ गते वीरेन्द्रनगरमा सञ्चालित मध्यपश्चिममा लगानी अवसर विषयक सेमिनारमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थन निर्माणको लागि सरकार समक्ष अनुरोध गर्ने प्रतिबद्धता गरिएको हो ।
सेमिनारमा सुर्खेतको लखरपाटा र चौकुने सिमेण्ट उद्योग निर्माण कार्य तत्कालन शुरु गर्न नेपाल सरकारलाई अनुरोध तथा सम्बन्धित निर्माण कम्पनीलाई सो को निर्देशन एवं व्यवस्थापनका लागि अनुरोध गर्ने, यस क्षेत्रको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सुर्खेतमा आगामी दुई बर्ष भित्रमा निर्माण गरिसक्न सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता गरिएको छ ।
प्रतिबद्धता पत्र वाचन गर्दै सेमिनारका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले काँक्रेबिहार, पञ्चकोशी, मानसरोवर, राराताल, से–फोक्सुण्डो, चन्दननाथ, कुभिण्डे दह, स्वर्गद्वारी, कोरिडार निर्माण गरी प्राकृतिक र धार्मिक पर्यटनको प्रचार–प्रसार एवं व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, जसमा सडक, खानेपानी, बिजुली, होटेल आदीको समेत व्यवस्थापन हुन् साथै उत्तर दक्षिणका सिमा क्षेत्रका निकासी तथा पैठारीका लागि खुलापनको व्यवस्थापन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने प्रतिबद्धता गरिएको बताए ।
दुर्लभ पशुपंक्षिहरुको अध्ययन, अनुसन्धानको लागि खुला विश्वविद्यालयको रुपमा यस क्षेत्रलाई विकास गरिनुपर्ने । साथै यस क्षेत्रमा लगानीका लागि आउने स्वदेशी तथा बिदेशी उद्योगी व्यापारीहरुलाई राज्यले पूर्ण सुरक्षा र सहजताको वातावरण तयार पार्न नेपाल सरकारलाई अनुुरोध गर्ने ।
उपयुक्त प्रयोजनका लागि स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी एवं समग्र क्षेत्रवासीहरुले त्यस्ता लगानी निर्वाध रुपमा आउन सबै खाले ढंगबाट सहयोग गर्ने पनि प्रतिबद्धता गरिएको छ ।
उपाध्यक्ष कर्णिकारले राज्य सञ्चालन र विकासको मुख्य जिम्मेवारी र स्थानमा राजनीतिक दलहरु नै भएको र आफूहरु भने निम्त्ति भएकाले आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउनु पर्ने बताए ।
‘आर्थिक विकासका लागि ठूला–ठूला विदेशी कम्पिनीहरुको मात्रै आवश्यक हुँदैन’ उनले भने, ‘सबै जनतालाई लाभ हुनेगरी सामाजिक आर्थिक विकास भयो भने मात्रै दिगो आर्थिक विकास हुन्छ ।’ देशको समग्र विकासका लागि आर्थिक विकास आवकश्यक रहेको र दिगो आर्थिक विकासका सबै जनताको आय स्तर बृद्धि हुनुपर्ने उनको भनाइ थियो ।
सरकारको सहयोग तथा उद्योग वाणिज्य महासंघको संलग्नतामा क्षेत्रीय पर्यटन तथा व्यापार मेलाको आयोजना गर्ने निर्णयको सुरुवात सुर्खेतबाट भएको र आगामी दिनमा अन्य क्षेत्रमा हुँदै जाने उनले बताए । लगानी हाम्रो लागि आवश्यक भएकाले हामीले नै पहल गर्नुपर्नेमा उनले जोड दिएका थिए । सेमिनारको समापनमा मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख ङइन्द्रप्रसाद उपाध्याय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही लगायले प्रतिबद्धता जनाएका थिए ।
No comments:
Post a Comment